राष्ट्रिय सभाका अध्यक्षले पाएनन् भाडामा घर


राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना निर्वाचित भएको एक महिना पुग्न लागेको छ। तर उनले अहिलेसम्म डेरा पाउन सकेका छैनन्।

हाल तिमिल्सिना पुल्चोकको मन्त्री क्वाटरमा बसिरहेका छन्। शहरी विकास मन्त्रालयले अध्यक्ष तिमिल्सिनाका लागि घर भाडामा दिन सूचना निकालेको थियो।

एक साताको समय दिएर गरिएको सूचनामा कसैले पनि अध्यक्षका लागि घर भाडामा दिने इच्छा नदेखाएका हुन्। मन्त्रालयले डेरा खोज्नकै लागि पुन: सूचना निकालेको छ।

राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिनाले भाडामा घर नभेटिएपछि आफ्नो सचिवालयलाई उपयुक्त घर खोजेरै भए पनि भाडामा लिने प्रक्रिया अगाडि बढाउन निर्देशन दिएको स्रोतले बतायो।

सभामुख कृष्णबहादुर महरा हाल बालुवाटारस्थित सरकारी निवासमा बस्दै आएका छन्। सरकारी निवासको बिजुली, पानी लगायतको बिल सरकारले तिर्ने गरेको छ। राष्ट्रिय सभाका अध्यक्षका लागि पनि भाडा, बिजुली र पानीको बिल सरकारले तिर्नेछ। अध्यक्षले यस्तो घरको मर्मतसम्भारका लागि आवश्यक खर्च समेत पाउँछन्।

सुरक्षाकर्मी अट्ने तथा भेटघाट समेत गर्न मिल्ने निवास अध्यक्षका लागि खोजी भैरहेको संसद सचिवालयले जनाएको छ। तिमिल्सिनाले सरकारका मन्त्रीहरूलाई निर्देशन दिनुपर्ने भूमिका भएकाले मन्त्री क्वाटर आफ्ना लागि सहज नभएको बताए।

‘मन्त्रिहरूका लागि क्वाटर पुगेको छैन’, उनले भने, ‘म पनि त्यहि थपिएको छु। घर भाडामा खोज्दा भेटिएको छैन।’

विज्ञापनमा कम्तीमा १० मोटरसाइकल र पाँच गाडी अट्ने पार्किङ भएको घर आवश्यक भएको र चक्रपथ भित्र खोजिएको स्पष्ट गरिएको छ। त्यस्तै विज्ञापनमा घर लाजिम्माट, ज्ञानेश्वर वा सानेपा क्षेत्रमा भए प्राथमिकता पाउने उल्लेख छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.