यी हुन् आजका मन्त्रीपरिषदका पहिलो निर्णयहरू (भिडियोसहित)


सरकारले गरिब, सिमान्तकृत तथा लोपोन्मुख समूदायका बालबालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरिदिन आह्वान गरेको छ।

मंगलबार बसेको मन्त्रिपरिषद बैठकले शिक्षाको अवसरबाट बञ्चित गरिव, सिमान्तकृत तथा लोपोन्मुख समूदायका बालबालिकाहरुलाई अभिभावकत्व ग्रहण गर्दै विद्यालय भर्ना गरिदिन सरकारका मन्त्रीहरु, विभिन्न राजनीतिक दलका पदाधिकारीहरु, संघ, प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरु, उद्योगी, व्यापारी, शिक्षाप्रेमी, अभिभावक संघ, राष्ट्रसेवक कर्मचारी, संचारकर्मीलगायतका नागरिक समाजका अगुवाहरुलाई आह्वान गरेको हो।

शिक्षाको अवसरबाट कुनै पनि बालबालिका बञ्चित हुन नपरोस् भनेर सरकारले विद्यालय भर्ना गर्न सबैमा आह्वान गर्नु परेको संचार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए।

त्यसैगरी मन्त्रीपरिषद बैठकले प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव राजीव गौतमलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयको सचिवमा सरुवा गरेको छ। प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालय सचिवमा भने डिल्लीराज घिमिरेलाई बढुवा गरी पदस्थापन गरिएको पनि राज्यमन्त्री बास्कोटाले जानकारी दिए।

बैठकमा यातायात समितिहरु नविकरण नगर्ने प्रस्तावका विषयमा पनि छलफल भएको थियो।

यस्तै आजको बैठकले वित्तीय व्यवस्थापनका लागि विश्व बैंकको १० अर्ब रुपैयाँ स्वीकार गर्ने निर्णय गरेको छ।

यस्तै मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको नयाँ महानिरीक्षक- आइजिपीबारे निर्णय गर्न सकेन।

स्रोतका अनुसार बैठकमा आइजिपीबारे गृहमन्त्रालयले कुनै प्रस्ताव लगेको थिएन।  फेरि अर्काे मन्त्रिपरिषद् बैठक बसे मात्र मंगलबार नै नयाँ आइजिपीबारे निर्णय हुन सक्नेछ। वर्तमान आइजिपी प्रकाश अर्यालले ३० वर्षे सेवा अवधिका कारण बिहीबारदेखि अवकाश पाउने छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.