पाँच नम्बर प्रदेशको नीति तथा कार्यक्रम पास


पाँचनम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षको बाँकि तीन महिनाको लागि प्रदेशसभामा पेश गरेको नीति कार्यक्रम पास भएको छ।

सोमबार बसेको संसद बैठकले प्रदेश प्रमुख उमाकान्त झाले आईतबार संसदमा पेश गरेको नीति कार्यक्रम पास गरेको हो।

सरकारले कृषि, पर्यटन र उद्योगलाई प्रदेशको सम्वृद्धिको मुख्य आधार मानेर ७५ बुँदामा तयार गरेको नीति कार्यक्रम आईतबार प्रदेशसभामा पेश गरेको थियो।

संसदमा सोमबार भएको छलफलमा सहभागी अधिकांश सांसदहरुले सरकारको नीति कार्यक्रम अपुरो भएको बताएका छन्। संसदमा बोल्दै प्रतिपक्ष दलका सांसद बैजनाथ जयसवाल, अर्जुनकुमार श्रेष्ठले प्रतिपक्षलाई वायस गरेर नीति कार्यक्रम ल्याईएको बताए।

प्रदेश सरकार सेरिमोनीयल जस्तो भएर कार्यान्वयनको बिषयमा प्रष्ट नभई हचुवाको भरमा मात्र नीति कार्यक्रम प्रस्तुत गरेको प्रतिपक्ष दलका सांसदहरुको भनाई छ।

सत्तापक्षका सांसदहरुले नीति कार्यक्रम राम्रो भए पनि केही समावेश गर्नुपर्ने महत्वपूर्ण क्षेत्रलाई सम्बोधन नगरिएको भन्दै सुधार गर्न सुझाव दिएका छन्।

प्रदेशको गौरवका आयोजना कुन कुन हुन् भन्ने नखुलेको भन्दै सांसद बिष्णु पन्थीले लुम्बिनीलाई केन्द्रमा राखेर मायादेवी पथ, प्रदेशको ध्वजावाहक वायुसेवा सञ्चालन पर्यटन बोर्ड गठन गर्ने बिषय नीति कार्यक्रममा समेट्न सुझाव दिए।

सरकारको नीति कार्यक्रम माथि भएको छलफलमा ३२ जना सांसदले भनाई राखेका थिए। सांसद कृष्णध्वज खड्का, अर्जुनकुमार श्रेष्ठ, अमर बहादुर डाँगीले प्रदेशको राजधानीको बिषयमा जिज्ञासा राख्दै सो बारे नीति कार्यक्रममा समावेश नभएको बताए ।

सांसद तारा जीसीले ऐतिहासिक तथ्यलाई दिग्भ्रमित पार्नेगरि नीति तथा कार्यक्रममा उल्लेख गरिएकाले त्यसलाई सच्चाउन माग गरिन्। सांसदहरुले उठाएका प्रश्न र सुझावबारे प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले जवाफ दिएका थिए।

महिला सांसद विमला पन्थी, रमा अर्यालले नीति कार्यक्रम माथि बोल्दै महिलाहरुको लागि अत्याधुनिक प्रसुति गृह र सेभ होमको व्यवस्था गर्न निति कार्यक्रममा समावेस गर्न माग गरेका थिए।

मुख्यमन्त्री शंकर पोखरेलले नीति कार्यक्रमलाई सप्तरंगी बनाउने कोसिश गरिएको बताए। उनले प्रदेशको राजधानीको विषयमा सांसदहरुले राखेको चासोमा आफ्नो ध्यानाकर्षण भएको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.