भारतको तीन दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली आइतबार साँझ स्वदेश फर्केका छन्।
स्वेदश फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रधानमन्त्री ओलीले आफू नेपाली जनताको अभिमत र भावनाको प्रतिनिधित्व गर्दै गएको र त्यसलाई भारतले स्वागत गरेको बताए।
प्रधानमन्त्रीले पत्रकारका प्रश्नको जवाफ दिनुअघि भ्रमण टोलीमा रहेका परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्रीको वक्तव्य पढेर सुनाएका थिए।
लिखित वक्तव्यमा नेपाल र भारतबीचका पुराना सम्झौतासहित रेलमार्ग, जलमार्ग लगायत नयाँ विषयमा भएका सहमतिबारे उल्लेख गरिएको छ।
प्रधानमन्त्री ओलीले भम्रणका क्रममा भएका भेटमा आफूहरूले कुनै कुरा उठाउनका लागि नउठाएको बरू समाधान चाहन्छौं भनेर गम्भीरतापूर्वक राखेको बताए।
'भ्रमणमा उठायौं भन्नका लागि होइन साँच्चै नै समस्याको समाधान चाहेर कुरा राखेका छौं,' प्रधानमन्त्री ओलीले भने, 'कतिपय कुरा संयुक्त वक्तव्यमा आएका छन्। धेरै सकारात्मक कुरा भएका छन्। जुन कुरा लिखितमा आउन बाँकी छन् त्यसलाई उछाल्ने होइन समाधान गर्न तिर हामी लागेका छौँ। अबको बाटो गम्भीर वार्ता हो।'
२२ वर्षअघि हस्ताक्षर भएको पञ्चेश्वर परियोजनाको डिपिआर टुंग्याउने र नेपालले भारतीय आकाशबाट थप हवाई रूट माग्ने विषयमा भएको छलफलबारे प्रधानमन्त्रीले स्पष्ट जवाफ दिएनन्।
उनको लिखित वक्तव्यमा भने पञ्चेश्वरको डिपिआर छिट्टै टुंग्याउने र नेपालमा सिमराबाहेक भारतीय आकाशबाट हवाई रुट दिने विषयमा छलफल भएको उल्लेख छ।
द्वीपक्षीय भेटमा नेपाल र भारतबीच विभिन्न ठाउँमा देखिएका सीमा विवाद, डुबान समस्याका बारेमा पनि छलफल भएको प्रधानमन्त्रीले बताए।
प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा शनिबार १२ बुँदे संयुक्त वक्तव्य जारी भएको थियो। त्यसमा नेपालका नदी हुँदै समुद्रसम्म वाटरवेज चलाउने विषयलाई नेपाल भारतको यातायात तथा पारवहन सन्धिमा समावेश गर्ने, रक्सौल-काठमाडौं रेलमार्गको एक वर्षभित्र सम्भाव्यता अध्ययन गर्ने र नेपालको कृषिलाई व्यवसायिकरण गर्न भारतीय प्रविधिको हस्तान्तरण गर्ने विषयमा भएका सहमति उल्लेख गरिएको छ।
२ वर्षअघि भारतीय नाकाबन्दीबाट बिग्रिएको नेपाल-भारत सम्बन्ध अहिले सौहार्दपूर्ण रहेको पनि प्रधानमन्त्रीले बताए।
'हाम्रो सम्बन्धबारे तस्बिर आफैं बोल्छ,' प्रधानमन्त्री ओलीले भने, 'नेपाल-भारत सम्बन्ध सौहार्दपूर्ण छ र कसैले बिगार्न नचाहेमा बिग्रदैन।'
फागुन ३ गते दोस्रो पटक प्रधानमन्त्री नियुक्त भएका ओली आफ्नो पहिलो विदेश भ्रमणका लागि शुक्रबार नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै नयाँदिल्ली गएका थिए।
सबै तस्बिरहरूः नारायण महर्जनhttps://www.youtube.com/watch?v=yMcnp6BfukY











[caption id="attachment_148330" align="alignnone" width="1340"]

तीन दिने भारत भ्रमणबाट आइतबार साँझ स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री केपी शर्मा ओली। तस्बिरः नारायण महर्जन[/caption]