कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीले कानुन बनाए आफूहरुले पनि सम्पत्ति विवरण सार्वजनिक गर्ने बताएका छन्।
सर्वोच्च अदालतमा भएको पत्रकार भेटघाट कार्यक्रममा उनले कानुन भए सम्पत्ति सार्वजनिक गर्न आफूहरुलाई केहि गाह्रो नभएको बताएका हुन्।
केहि दिन अघि कानुन मन्त्री शेरबहादुर तामाङले न्यायाधीशको सम्पत्ति सार्वजनिक गर्ने कानुन बनाउने भनेका थिए। कानुनमन्त्री न्यायाधीशहरुको आचण, भ्रष्टाचार लगायतका विषय छानविन गर्ने न्यायपरिषदको सदस्य हुन्। उनले न्यायालयको भ्रष्टाचार मुलुकको वार्षिक बजेट भन्दा पनि बढी भएको बताएका थिए। अन्तरिम आदेशबाटै धेरै रकम छुटाउने गरिएको समेत उल्लेख गरेका थिए।
कामु प्रधानन्यायाधीशले भने कानुन मन्त्रीको उक्त भनाइमा कुनै टिप्पणी नभएको बताए।
'सम्पत्ति विवरण सार्वजनिक गर्ने कानुन भए हामी गर्छौँ। तर अरु कुरामा मेरो टिप्पणी छैन,' उनले भने।
संविधानको व्यवस्थामा दृष्टी नपुगेर मन्त्रिपरिषदले न्यायाधीशको भ्रमण रोकेको बताए।
'न्यायालयको खर्ज सरकारले दिने नभई राज्यको कुनै छुट्टै कोषबाट हुने भन्ने व्यवस्था छ नि त्यसमा उहाँहरुको दृष्टीकोण नपुगेर हो,' उनले भने।