नेपाली कांग्रेसमा शीघ्र महाधिवेशन बोलाउने र नबोलाउने विवाद जारी छ।
प्रतिनिधिसभाको चुनावमा नराम्रो हार व्यहोरेपछि कसरी अघि बढ्ने भन्ने सन्दर्भमा एक थरी नेताहरूले शीघ्र महाधिवेशन बोलाउनु पर्ने कुरा उठाइरहेका छन्। अर्काथरिले भने शीघ्र महाधिवेशनको आवश्यकता नभएको बताइरहेका छन्।
कांग्रेसमा पछिल्लोपटक भइरहेको महाधिवेशन भएको २ वर्ष पूरा भयो।
सभापति बनेका शेरबहादुर देउवाले मनपरी तरिकाले पार्टी चलाइरहेको आरोप लगाउनेले नेतृत्व परिवर्तनको माग उठाएका छन्। उनीहरूले शीघ्र महाधिवेशनका माध्यमबाट नेतृत्व परिवर्तन गर्ने बहस सुरू गरेका छन्। यो समूहमा शेखर कोइराला र यूवा नेताहरू बढी छन्।
प्रदेश र प्रतिनिधि सभा चुनावमा एमाले-माओवादी मिलेकाले हारेको भन्ने अर्काथरि नेता भने महाधिवेशनपहिले महासमिति बैठक लगायतका प्रक्रिया पूरा हुनु पर्ने बताउँदै आएका छन्। यसो भन्नेहरू धेरैजसो देउवा पक्षका नेता हुन्।
कांग्रेस नेता बालकृष्ण खाणले महाधिवेशन भन्नेबित्तिकै हुने कुरा नभएको बताए। यसका लागि पहिले विधानअनुसारका प्रक्रिया पूरा गर्नु पर्ने उनको धारणा छ।
वैधानिक रूपमै महाधिवेशन हुन पनि धेरै समय नभएकाले त्यसअघि गर्नु पर्ने काम सक्नु पर्ने उनको जिकिर छ।
'क्रियाशील सदस्य वितरण गर्नुपर्यो, वडा र गाउँको अधिवेशन र क्षेत्रीय अधिवेशन हुनुपर्यो। बल्ल राष्ट्रिय अधिवेशन हुने हो, भन्नेबित्तिकै त हुन सक्दैन,' खाँणले भने।
पार्टीलाई अझ मजबुद् बनाउनदेखि संरचना बदल्नेसम्मका काम महासमितिले नै गर्न सक्ने भएकाले शीघ्र महाधिवेशनको जरूरी नभएको नेता खाँणले बताए।
'अहिले महासमितिले विधान परिवर्तन गर्छ, अनि कांग्रेस अघि बढ्छ। महासमितिले गर्न नसक्ने भनेको नेतृत्व परिवर्तन हो अरु सबै गर्छ,' उनले भने, 'कांग्रेस नबुझ्नेले शीघ्र महाधिवेशनको कुरा गरिरहेका छन्।'
नेता रमेश लेखकले शीघ्र महाधिवेशन चुनावी हारको दबाई नभएको बताए। लेखकले चुनाव हार्नुको एउटै कारणमा नभएकाले त्यसको सुक्ष्म अध्ययन हुनुपर्ने भएकाले केन्द्रीय समितिमा समीक्षा चलिरहेको बताए।
उनले पनि शीघ्र महाधिवेशन अहिले आवश्यक नभएको जिकिर गरे।
'शीघ्र महाधिवेशन आवश्यक छैन। बरु महाधिवेसन समयमै हुनुपर्छ। त्यसको लागि अझै २ वर्ष बाँकी छ। बरु नेताहरूका बीचमा एउटा उच्चस्तरीय समझदारी बनाएर पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्छ।'
उनका अनुसार पार्टीका विभाग, पदाधिकारी पूर्ण बनाउने, प्रदेश समिति गठन गर्ने र विधान संशोधन गर्ने अहिलेको आवश्यकता हो।
'पार्टीलाई संस्थागत रूपले त्यसरी क्रियाशील बनाउने हो,' उनले भने।
यूवा नेता प्रदिप पौडेल भने नयाँ क्रियाशील सदस्य हुने त्यहीअनुसार तलैदेखि संगठनमा नयाँ रक्तसञ्चार हुने भएकाले शीघ्र महाधिवेशनले कांग्रेस सुधारतर्फ लैजाने दाबी गर्छन्।
'अहिले कांग्रेस सुधारको बहस चलिरहेको छ। चुनावमा भएको हारबाट त हामीले सुधार पनि टालटुले गरेर हुन्न जरैसम्म हुनुपर्छ भन्ने देखियो, उनले भने, 'त्यही सन्दर्भमा शीघ्र महाधिवेसनको आवश्यकता महसुस भएको हो। '
स्थानीय चुनावमै कांग्रेस एमालेभन्दा पछि पर्यो। प्रतिनिधिसभामा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ६३ सिटमात्र जित्यो। चुनाव हारेपछि नेतृत्व परिवर्तन साथै पार्टी सुधार हुनु पर्ने माग यूवा नेताहरुले उठाइरहेका छन्। देउवा पक्षका नेता भने पार्टीलाई चलायमान बनाउन खाली भएका पदहरू पूर्ति गर्ने र नयाँ संरचनामा जान महासमितिमार्फत विधान संशोधन गर्ने पक्षमा छन्। नेतृत्वको कारणले नभई वाम शक्ति मिलेका कारण कांग्रेसले प्रत्यक्षमा हारेको र उनिहरुको जिकिर छ।
केन्द्रीय समिति र महासमितिले गर्ने चुनावी समीक्षा र विधानस संशोधनमात्र भएकाले त्यसले अबको कांग्रेसलाई गति नदिने भएकाले अर्को चुनावमा वामशक्तिसँग लड्ने क्षमता भएको कांग्रेस बनाउन सानातिना परिवर्तनले सम्भव नभएको नेता पौडेलले बताए।
'महासमितिले गर्ने सानातिना विधान परिवर्तन र संशोधन हो। यही नेतृत्वले अर्को चुनावमा वामशक्तिसँग लड्ने हिम्मत गर्न सक्दैन भनेर नेतृत्व परिवर्तनको कुरा उठाइएको हो,' उनले भने, 'पार्टीलाई पुनर्जीवन दिन सांगठनिक परिवर्तन जरूरी छ। पार्टीको सिद्धान्त बदल्न जरूरी छ। प्राथमिकता बदल्न जरूरी छ। नयाँ राजनीतिक परिवर्तनबारे कांग्रेसले विश्लेषण गर्नु आवश्यक छ। यी सबै कुरा महाधिवेशनबाट मात्र सम्भव हुने हो।'
शीघ्र महाधिवेशन चाहिने र नचाहिने दुवै समूहका आफ्नै कारण छन्। ती कारणमध्ये अर्को पेचिलो कारण पनि छ।
सामान्य अवस्थामा प्रत्येक ४ वर्षमा कांग्रेसको महाधिवेशन हुन्छ। चार वर्ष पूरा हुन २ वर्ष बाँकी छ। महाधिवेशनको मिति डेढ वर्षसम्म बढाउन सकिने पार्टी विधानमा उल्लेख छ।
शीघ्र महाधिवेशन चाहनेहरू र नचाहने दुबै समूहको डर र स्वार्थ यही व्यवस्थामा अड्किएको देखिन्छ।
२ वर्षको अवधिमा पनि देउवाले महाधिवेशन गराउँदैनन् भन्ने उनीइतरका नेता कार्यकर्तालाई डर भएको एक नेताले बताए।
'अहिले महासमितिबाट प्रदेश सभा गठन गर्ने र त्यसमा आफ्नै पक्षका मानिस भर्ने उहाँको योजना छ। त्यस्तै अरु पदाधिकारी पनि उहाँले आफ्नै बनाउनुहुन्छ। सबै ठाउँमा आफ्ना मान्छे भरेपछि महाधिवेशन सार्ने उहाँको दाउ छ,' ती नेताले भने।