सम्पदा पुनर्निर्माणलाई तीव्रता दिन मन्त्री अधिकारीको निर्देशन


संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले सम्पदा पुनर्निर्माणलाई तीव्रता दिन निर्देशन दिएका छन्।

बिहिबार राजधानीमा आयोजित एक कार्यक्रममा मन्त्री अधिकारीले रानीपोखरी, धरहरालगायत सम्पदा पुनर्निर्माणमा देखिएको अन्योलतालाई अन्त्य गर्दै पुनर्निर्माण तीव्र पार्न सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।

‘रानीपोखरी, धरहरा काठमाडौंको मात्र सम्पत्ति होइन, राष्ट्रकै हो। यसमा जोडिएका संवेदनालाई बेवास्ता गर्न हुँदै हुँदैन,’ मन्त्री अधिकारीले भने, ‘सम्पदा पुनर्निर्माणमा प्रधानमन्त्रीको समेत गम्भीर चासो रहेको छ। त्यसैले तीन सिफ्टमै काम गरेर भए पनि मौलिकतामा कुनै पनि सम्झौता नगरी काम गर्नुपर्यो।’

उनले रानीपोखरी परम्परागत निर्माण सामग्रीद्वारा नै मौलिकता नबिग्रने गरी पुनर्निर्माण गर्न र रानीपोखरीमा सौन्दर्यकरण गर्न काठमाडौं महानगर र पुरातत्त्व विभागलाई समन्वय गरेर अगाडि बढ्न आग्रह गरेका छन्।

२०७२ वैशाख १२ को भूइँचालोका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरूपमा क्षतिग्रस्त भएको थियो भने मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगेको थियो।

०७२ माघ २ मै राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरीबाट पुनर्निर्माण अभियान सुरू गरे पनि पुनर्निर्माण अघि बढ्न सकेको छैन। यसैगरी, काष्ठमण्डप पुनर्निर्माण आगामी जेठ १५ गतेबाट सुरू हुने भएको छ।

भूइँचालोकै कारण पूर्ण क्षति भएको काष्ठमण्डप पुनर्निर्माण पनि विवादकाबीच अगाडि बढ्न सकेको छैन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.