कृषि क्षेत्रको उत्पादन चार गुणा वृद्धि गर्ने प्रधानमन्त्री ओलीको घोषणा (भिडियोसहित)

फाइल तस्बिर।


प्रधानमन्त्री केपी शर्मा ओलीले कृषि क्षेत्रको उत्पादन चार गुणा वृद्धि गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री ओलीले सहकारीको माध्यमबाट मात्रै नेपालको कृषि उत्पादनलाई वृद्धि गर्न सकिने पनि स्पष्ट पारे।

बुधबार काठमाडौंमा दोस्रो सहकारी सम्मेलनको उद्घाटन गर्दै उनले पछाडि परेको कृषि क्षेत्रलाई अघि बढाउन सहकारी क्षेत्रको महत्त्व र आवश्यकता अपरिहार्य रहेको पनि स्मरण गराए।

प्रधानमन्त्री ओलीले कृषि क्षेत्रलाई आधुनिकीकरण, व्यवसायिकीकरण गर्न पनि सहकारी क्षेत्रको विकल्प नरहेको तर्क गरे। उनले सहकारी क्षेत्रले दिँदै आएको प्रतिफलको चर्चा गर्दै यस क्षेत्रको आवश्यकता नेपालका लागि विशेष रहेको पनि उल्लेख गरे।

प्रधानमन्त्री ओलीले सरकारले टुक्रिएको जमिनलाई एकीकृत गर्दै कृषि उत्पादनमा वृद्धि गर्न चाहेको  बताए। सहकारी आन्दोलनको महत्त्व र आवश्यकता नेपालका लागि विशेष रहेको प्रधानमन्त्री ओलीको भनाई छ।

कार्यक्रममा बोल्दै अर्थमन्त्री  युवराज खतिवडाले मर्यादित रोजगारीको अवसर सृजना गर्न सहकारी क्षेत्रले सशक्त योगदान दिन सक्ने बताए। उनले संविधानले व्यवस्था गरेको समाजवाद उन्मुख अर्थतन्त्र निर्माणका लागि सरकारले सहकारी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने नीति लिएको पनि स्पष्ट पारे।

अर्थमन्त्री खतिवडाले सरकारले आर्थिक लोकतन्त्रको भरपुर उपयोग आम नागरिकले गर्ने अवस्था सृजना गर्न खोजिरहेको बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.