मन्त्रालयले स्वेच्छिक अवकासको सूचना लुकाएको कर्मचारीको आरोप


संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्वेच्छिक अवकास चाहेनेको सूची लुकाएको आरोप कर्मचारीले लगाएका छन्।

कर्मचारी समायोजन ऐन अनुसार पाँच जना सचिवसहित ९ हजार ६ सय ५६ कर्मचारीले स्वेच्छिक अवकास रोजेर निवेदन दिएपनि उनीहरुको सूची मन्त्रालयले सार्वजानिक गरेको छैन।

स्वेच्छिक अवकास प्रकृयामा जाने कर्मचारीको सूची चैत १३ गते मन्त्रालयको वेभसाइटमा सार्वजानिक गर्ने सूचना राजपत्रमै निकालिएको थियो।

केन्द्र, प्रदेश र स्थानीय तहमा खटिएर काम गर्न नचाहेका २० वर्ष सेवा पूरा गरी ५० वर्ष उमेर नाघेका कर्मचारीले स्वेच्छिक अवकास योजनामा निवेदन दिन पाउने ऐनले व्यवस्था गरेको छ।

त्यहि ऐन अनुसार स्वेच्छिक अवकास चाहने कर्मचारीको नाम सार्वजनिक नगरी सूचना लुकाएको आरोप कर्मचारीले लगाएका हुन्।

‘ऐनमा भएकै व्यवस्थाअनुसार हामीले स्वेच्छिक अवकास रोजेका हौं तर मन्त्रालयले किन यो प्रक्रिया अघि बढाएन ? म्यादभित्र अद्यावधिक गरिएका कर्मचारीको विवरण पाऊँ भनेर निवेदन दिए पनि मन्त्रालयले सूचना दिन आलटाल गरेको छ’ सूचना माग्दै निवेदन दिएका मध्ये एक कर्मचारी मित्रप्रसाद खतिवडाले सेतोपाटीसंग भने, ‘तल्कालै दिनुपर्ने सूचना एक साता हुँदा पनि दिइएको छैन।’

सो सूचनाको बोदार्थ राष्ट्रिय सूचना आयोगमा समेत पठाइएको खतिवडाले जानकारी दिए। ‘स्वेच्छिक अवकास योजना कि कानून सम्मतरुपमा फिर्ता गर्नुपर्छ होइन भने ऐनअनुसार कर्मचारीलाई स्वेच्छिक अवकास दिनुपर्छ’ उनले भने, ‘स्वेच्छिक अवकास योजना स्थगित भएको हल्ला गरेर हुँदैन, मन्त्रालयले प्रक्रियागतरुपमा कानूनी प्रक्रिया पूरा गरेर के भएको हो सार्वजानिक गर्नुपर्छ।’

कर्मचारीको निवेदन रुजु गरी कम्प्युटरमा इन्ट्रिसमेत भइसकेपनि मन्त्री पण्डितले सात वर्षको पेन्सन एकमुष्ट दिन नसक्ने अडान राखेपछि स्वेच्छिक अवकास प्रक्रिया रोकिएको थियो।

चैत १३ गतेसम्म अद्यावधिक गरिएका कर्मचारीको विवरण माग गर्दै स्वेच्छिक अवकास चाहेका पाँच जना कर्मचारीले लिखित सूचना माग गरेका हुन्।

सूचनाको हक सम्वन्धी ऐन २०६४ को दफा ३ बमोजिम सूचना पाऊँ भन्दै चैत १५ गते निवेदन दिए पनि मन्त्रालयले अहिलेसम्म सूचना नदिएको कर्मचारीको गुनासो छ।

कर्मचारीले मन्त्रालयमा बुझाएको निवेदन १५४३६ नम्बरमा दर्ता छ। सो निवेदनमा भनिएको छ, ‘स्वेच्छिक अवकासका लागि निवेदन दिएका कर्मचारीहरुको सूची निवेदन दिने अवधी समाप्त भएको ३० दिनभित्र मन्त्रालयको वेभसाइटमा राखिने भन्ने उल्लेख भएको तर सो ३० दिन अवधिको मिति चैत १३ गते समाप्त भएकोमा हालसम्म पनि सो विवरण त्यहाँ मन्त्रालयको वेभसाइटमा नराखिएको हुँदा उक्त मितिमा अद्यावधिक भएको विवरण सूचनाको हक सम्बन्धी ऐन २०६४ को दफा ३ बमोजिम उपलब्ध गराइदिन अनुरोध गर्दछौं।’

स्वेच्छिक अवकास रोक्ने कि अघि बढाउने भन्नेमा थप निर्णय नभएको मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले बताए। उनका अनुसार, अहिले पनि कर्मचारीको निवेदन अद्यावधिक गर्ने काम भइरहेको छ। मन्त्रालयले पाँच जना कर्मचारी खटाएर स्वेच्छिक अवकास एकाइ नै सञ्चालन गरेको थियो।

कर्मचारीले सूचना मागेकोले लिखित रुपमै सूचना दिने तयारी मन्त्रालयको रहेको उनले बताए। ‘स्वेच्छिक अवकास चाहेका कर्मचारीको सूची पनि हामीले अन्तिम रुप दिइसकेका छैनौं, अद्यावधिक भइरहेको छ। छिट्टै सूचना दिन्छौं,’ उनले भने।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.