एकता संयोजन समितिको बैठक बस्दै


सम्बन्धित कार्यदलले तयार गरेको प्रतिवेदनमाथि छलफल गर्न नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को पार्टी एकता संयोजन समितिको बैठक मंगलबार बस्दै छ।

यही फागुन १० गतेको एकता संयोजन समितिले गठन गरेको अन्तरिम विधान तर्जुमा र वैचारिक विषयसँग सम्बन्धित कार्यदलले आफ्नो तर्फबाट प्रतिवेदन तयार गरेकाले त्यसलाई टुङ्गो लगाउन संयोजन समितिको बैठक बस्न लागेको केन्द्रका नेता जनार्दन शर्माले जानकारी दिए।

एकता संयोजन समितिले निर्णय गरेपछि आगामी वैशाख ९ गतेभित्र एकता घोषणा गर्ने तयारी भएको छ।

पार्टीको नाम नेकपा कम्युनिष्ट पार्टी र निर्देशक सिद्धान्त माक्र्सवाद लेलिनवाद राख्नेलगायत सातबुँदे प्रारम्भिक आधारमा दुई दलले गत फागुन ७ मा सहमति गरेका थिए।

प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणअघि नै गर्ने भनिएको एमाले र माओवादी एकता लम्बिएको छ । राजनीतिक र सांगठनिक तथा विधान कार्यदलले प्रतिवेदन टुंग्याइसके पनि तीन विषयमा तत्काल गाँठो फुक्ने स्थिति नदेखिएपछि एकता घोषणाको तयारी लम्बिएको हो । तीनवटै विषय गम्भीर र आपसमा जेलिएका कारण दुवै दल गृहकार्यविना तत्काल एकता घोषणाको मिति टुंग्याइहाल्ने पक्षमा देखिएका छैनन् ।

एकीकृत पार्टीको केन्द्रीय कमिटीदेखि तल्लो तहसम्म दुवै पार्टीबाट सहभागिताको अनुपात, चुनाव चिह्न र जनयुद्ध शब्द टुंगो लाग्न बाँकी छ । ‘तीनवटै विषय धेरै महत्वपूर्ण छन्, आपसमा जेलिएका पनि छन्, त्यसैले पार्टी एकता संयोजन समितिबाटै टुंगो लगाउने गरी प्रतिवेदन बुझाइने निर्णय भएको छ,’ संगठन तथा विधानसम्बन्धी कार्यदलका सदस्य बेदुराम भुसालले भने । कार्यदलका संयोजक रामबहादुर थापाले कार्यदलबाट सम्भव नहुने भन्दै टुंगिन बाँकी तीनवटै विषय राखेर प्रतिवेदन बुझाउँदा उपयुक्त हुने प्रस्ताव गरेका थिए । थापाको प्रस्तावप्रति एमाले महासचिव ईश्वर पोखरेलले पनि सहमति जनाएका छन् ।

एमाले उपाध्यक्ष वामदेव गौतमले ९ वैशाख ०७५ मा (२२ अप्रिल)मा दुई पार्टीबीच एकता घोषणासभा गर्ने तयारी भइरहेको बताए । ‘सकेसम्म मंगलबार नै टुंग्याउने प्रयास हुन्छ, टुंगिएन भने छलफल हुँदै जान्छ, तर ९ वैशाखमा दुवै पार्टी एक भएको घोषणा हुनेछ,’ गौतमले भने ।

टुंगिन बाँकी तीन विषय

१. एकताको संख्या अनुपात

कार्यदलमा केन्द्रीय कमिटी २ सय ९९ सदस्यीयसहित दशवटै तहका कमिटीहरूको संख्या टुंगिएको छ । तर, दुई पार्टीबाट कति–कति प्रतिशत अनुपातमा सहभागिता रहने भन्ने विषय टुंगिएको छैन । यद्यपि, दुवै पार्टीका नेताहरूले एकतामा नीति, सिद्धान्त र लक्ष्य महत्वपूर्ण रहेकाले कसको कति प्रतिशत सहभागिता ठूलो नहुने बताउँदै आएका छन् । एमाले माओवादीको जनमत र निर्वाचनमा बाँडिएको सिटलाई ध्यान दिँदै अनुपात मिलाउने पक्षमा छ । तर, माओवादी भने त्यसरी जाँदा विलयको अर्थ लाग्ने भन्दै समानतालाई आधार मान्नुपर्ने भन्दै बढीभन्दा बढी हिस्सा लिने रणनीतिमा देखिन्छ ।

२. विधानमा ‘जनयुद्ध’ शब्द  थप्ने कि नथप्ने ?

विधान मस्यौदाको सुरुकै प्रस्तावनामा  ‘जनआन्दोलन र जनक्रान्तिका उपलब्धि’ लेखिए पनि ‘जनयुद्ध’ शब्द राख्ने कि नराख्ने भन्ने विषय अझै टुंगिएको छैन । ‘जनक्रान्ति’ लेखिसकेपछि ‘जनयुद्ध’को भाव समेट्ने एमालेको अडान छ भने माओवादीले ‘जनयुद्ध’ शब्द नै राख्नुपर्ने तर्क गरिरहेको छ ।

३. चुनाव चिह्न : सूर्य कि सूर्यभित्र हँसिया–हथौडा ?

माओवादी नेताहरूले सूर्यभित्र हँसिया–हथौडा राखेर चुनाव चिह्न बनाउनुपर्ने अडान राखेका छन् । तर, एमाले नेताहरूले भने सूर्य चिह्न मात्रै राख्नुपर्ने तर्क गरेका छन् । ०४८ देखि जनस्तरमा परिचित भएकाले सूर्य चिह्न प्रभावकारी हुने एमालेको तर्क छ ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.