गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा श्रेष्ठ निर्वाचित


गाउँपालिका राष्ट्रिय महासंघ, नेपालको अध्यक्षमा होमनारायण श्रेष्ठ निर्वाचित  भएका छन्।

महासंघको सोमबार काठमाडौंमा सम्पन्न राष्ट्रिय महाधिवेशनले सिन्धुपाल्चोक जुगल गाउँपालिकाका अध्यक्ष श्रेष्ठलाई गाउँपालिका राष्ट्रिय महासंघको अध्यक्षमा चयन गरेको हो।

३७ सदस्यीय केन्द्रीय कार्य समितिको महासचिवमा वंशलाल तामाङ चयन भएका छन्। त्यसैगरी, उपाध्यक्षमा मेनुका काफ्ले, सचिवमा देवी बुर्लाकोटी र कोषाध्यक्षमा दिलमाया बुढामगर निर्वाचित भएका छन्।

नवनिर्वाचित अध्यक्ष श्रेष्ठ एमालेका हुन् भने महासचिव तामाङ नेपाली कांग्रेसका हुन्। महाधिवेशनले २१ बुँदे काठमाडौं घोषणा पत्र जारी गर्दै तत्काल आवश्यक जनशक्ति व्यवस्थापन गर्न संघीय सरकारसँग माग पनि गरेको छ। नभए स्थानीय सरकार आफैँले कर्मचारी व्यवस्थापन गर्ने बाटो खोलिदिन पनि संघीय सरकारसँग माग गरिएको घोषणा पत्र तयारी उपसमितिका संयोजक ईश्वरचन्द्र पोखरेलले जानकारी दिए।

महासंघले जारी गरेको घोषणा पत्रमा गाउँपालिकाका जनप्रतिनिधिहरूको क्षमता विकासका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ। त्यसैगरी, संविधानको भावना विपरीतका संघीय कानूनहरूको संशोधन र खारेज गर्न संयुक्त अभियान सञ्चालन गर्ने, तराई, मधेशका स्थानीय सरकारहरूको प्रभावकारिताका लागि आवश्यक कार्यक्रम तर्जु गर्ने पनि महासंघको घोषणा पत्रमा उल्लेख गरिएको छ।

३ दिनसम्म चलेको महाधिवेशनले देशभरका गाउँपालिकाहरूको समस्याको उठान गर्दै समाधानका उपायहरूको खोजी गरिएको दाबी समेत गरिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.