सर्वोच्च अदालतले पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीका उमेरसम्बन्धी अभिलेखहरू सम्बन्धित निकायबाट मगाएको छ।
अधिवक्ता हेममणि सुवेदीले दायर गरेको रिटमा पहिलो सुनुवाइ गर्दै आइतबार सर्वोच्चले उनको नियुक्ति र उमेरसम्बन्धी अभिलेख मगाएको हो।
न्यायाधीश केदारप्रसाद चालिसेको एकल इजलासले परिषदले प्रधान्यायाधीशको रूपमा पराजुलीलाई गरेको सिफारिसको निर्णय र उमेरसम्बन्धी निर्णय, संवैधानिक परिषदले उनलाई प्रधानन्यायाधीशमा गरेको निर्णय र राष्ट्रपतिसमक्ष उनले दिएको राजीनामासम्बन्धी कागजातहरू मगाएको हो।
पराजुलीको एसएलसीको सर्टिफिकेट परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त भएपछि उनी कानूनअनुसार साउनमै अवकास पाइसक्नुपर्ने देखिएको भन्दै न्यायपरिषदका सचिव नृपध्वज निरौलाले उनलाई अवकासको पत्र पठाएका थिए। त्यसको बोधार्थ उनले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सर्वोच्च अदालत र सैवैधानिक परिषदमा पठाएका थिए।
फागुन ३० उक्त बोधार्थ पठाए पनि राष्ट्रपति विद्यादेवि भण्डारीले पराजुलीबाटै पद तथा गोपनीयताको शपथ लिएकी थिइन्। त्यसको भोलिपल्ट पराजुलीले राजीनामा दिएका थिए।
पराजुलीले राष्ट्रपतिलाई खुवाएको सपथ बदर गर्न र फेरि सपथ लिन आदेशको माग गर्दै अधिवक्ता सुवेदीले सर्वोच्चमा रिट दायर गरेका थिए।
उनी प्रधानन्यायाधीश हुनुअघि देखि नै उमेर विवादमा तानिदै आएका थिए। पहिलो नागरिकता र नागरिकताको प्रतिलिपिमा उनको फरक उमेर देखिएको थियो। त्यस्तै न्यायपरिषदको अभिलेख मा अर्कै उमेर थियो। एसएलसीको प्रमाणपत्र हेर्दा अहिलेसम्म परिषद् नागरिकता र शैक्षिक प्रमाणपत्रमा देखिएको भन्दा फरक जन्ममिति देखिएपछी परिषद्का सचिवले सबैभन्दा पहिले अवकास हुनु पर्ने जन्ममिति नै कायम गरेर अवकाशको पत्र थमाएका थिए।