डडेल्धुराको भागेश्वरी गाउँपालिकाकी अध्यक्ष हुन्, कौशिलाकुमारी भट्ट। २८ वर्ष लागेकी भट्टले गाउँपालिका हाँकेको १ वर्ष हुन लाग्यो। एक वर्षमा उनले थाहा पाएको कुरा हो-गाउँपालिका चलाउन जताततै समस्यैसमस्या छन्। र यो नै उनको परीक्षा पनि हो।
वर्ष दिन हुन लाग्यो गाउँपालिका कार्यालय टहरामा बसेको। टहराको कार्यालयमा न कर्मचारी छन् नत साधन स्रोत नै। गर्नुपर्ने काम भने धेरै छन्।
‘छाउपडी प्रथा हटाउनदेखि स्वाथ्य चौकीमै सुत्केरी गराउनुपर्छ भनेर चेतना फैलाउनु छ,’ गाउँपालिका संघको महाधिवेशनका लागि शनिबार काठमाडौं आइपुगेकी भट्टले सेतोपाटीसँग भनिन्, ‘मन्दिर नजिकैको बाटो हिँड्नुपर्छ भनेर महिलाहरू अझै पनि स्वास्थ्य चौकीमा सुत्केरी गराउदैनन्। पहिलो काम नै यहाँका जनताको सोच बदल्नु बनेको छ।’
जनताको सोच बदल्न गाउँपालिकाले प्रोत्साहन र भत्ताको व्यवस्थासमेत गरेको छ।
‘घरमै सुत्केरी गराउने परम्परा हटाउन स्वास्थ्य जाँच गराउन आउने महिलालाई कोलगेट दिने, सुत्केरीलाई दिनको दुई सयको दरले भक्ता दिने लगायत विकास निर्माणका काम पनि उतिकै रुपमा अगाडि बढाएका छौं,’ उनले भनिन्, ' गुणस्तरीय शिक्षाका लागि आगामी शैक्षिक सत्रदेखि लागु हुने गरी सबै विद्यालयमा अंग्रेजी माध्यम लागु गर्दछौं।'
हुप्सेकोट गाउँपालिका नवलपरासीकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेको गाउँपालिकामा पनि भट्टका जस्तै समस्या छन्।
गाउँपालिका भवनदेखि कानून निर्माणसम्म समस्या रहेको भएको पाण्डेले बताइन्।
‘समस्याका चाङ छन्। तैपनि अवसर ठानेर काम गरिरहेका छौं,’ उनले भनिन्, ‘जुन गतिमा काम हुनुपर्ने हो, त्यति हुन सकेको छैन।’
उनले गाउँपालिकाभित्रका महिलाको स्वास्थ्यमा सकारात्मक परिवर्तन ल्याउने खालका कामलाई प्राथमिकतामा राखेकी छन्।
‘निर्वाचित भएको सातौं दिनमा समयमै स्वास्थ्य चौकी पुर्याउन नसक्दा आमा र बच्चाको ज्यान गएको देखें। स्वास्थ्य सेवाको चेतना नभएर त्यो दुर्घटना भएको हो। त्यसैले महिला स्वास्थ्यमै सुधार ल्याउनपर्छ भनेर काम पनि सुरु गरें,’ पाण्डेले भनिन्।
उनको गाउँपालिकाका कुनै वडाबाट स्वास्थ्यचौकीसम्म पुग्न दिनभरि हिँड्नुपर्छ।
भत्ताको व्यवस्था गरेपछि अहिले महिलाहरू सुत्केरी हुन स्वास्थ्य चौकी आउने क्रम बढेको छ।
स्वास्थ्य चौकीमै आएर सुत्केरी हुने, बच्चाको जन्मदर्ता, बर्थिङ सर्टिफिकेट, बुवाआमाको नागरिकतासहित २ बच्चा जम्मँदासम्म ६ महिना भित्र ५ हजारको व्यवस्था गरिएको छ।
साउनदेखि हुप्सेकाटका ६ सय महिलाले यो सेवा लिइसकेका छन्।
निशुल्क शिक्षा, दुर्गम क्षेत्रमा सडक विस्तार, सञ्चार सुविधा नभएको ठाउँमा सञ्चार सुविधा पुर्याउनु, ल्यान्डलाइन विस्तार, टेलिफोन टावर राख्ने, बिजुलीबत्ती सबै वडामा पुर्याउन उनी तल्लीन भएर लागेकी छन्।
भट्ट र पाण्डेजस्तै समस्यासँग जुझिरहेकी छन् लमजुङको दुधपोखरी गाउँपालिमा। प्रमुख छुपीमाया गुरुङ। निर्वाचित भएको केही दिनसम्म त अलमलमै परिन्। तर अहिले गाउँपालिकालाई आवश्यक कार्यविधि बनाएरै काम गरिरहेकी छ्न्।
स्थानीय सरकारका विभिन्न अफ्ठ्यारा त छदै छन् तर गाउँको जनता र विकाससँग भिजेकाले काम गर्न अहिले सजिलै भएको उनी बताउँछिन्।
‘स्थानीय तहलाई दिनुपर्ने जुन अधिकार हो। त्यो खुम्चिएको छ। त्यसमाथि हाम्रो गाउँपालिका अलि दुर्गममा पर्छ। विकासका काम धेरै गर्नुपर्ने छ,’ उनले भनिन्, ‘समस्याका बाबजुद पनि काम भने गरिरहेका छौं।’
म्याग्दे गाउँपालिका तनहुँकी मायादेवी राना अलि बठ्याईका साथ काम गरिरहेकी छिन्। आफ्नो गाउँपालिकामा आउन सक्ने समस्यालाई समाधान गर्न उनी सचेत देखिन्छिन्। त्यसैले उनी जहाँ, जसले विरोध गर्ने गर्छन्, उनलाई नै नेत्वृत दिन्छिन्। अनि तैं चुप मै चुप काम भएर काम गरिहरका छन्।
‘हाम्रोमा दुई जना अर्को पार्टीका साथीहरु हुनुहुन्छ। सुरुमा काम गर्न दिएनन् भन्ने गुनासो आए। काम त जसरी नि गर्न पर्यो भनेर मैले उनीहरुलाई नै जिम्मा दिएँ। उनीहरुले पनि जिम्मेवारी पाएपछि दंग भएर काम गरे। त्यसैले आन्तरिक समस्या छैन,’ रानाले भनिन्, ‘अहिले आन्तरिक समस्या छैनन्। हाम्रोमा महिला, दलितबीचको विभेद पनि उति छैन। दलितसँगै बसेर खाइदिने चलन छ। त्यसैले अहिलेको प्रमुख काम भनेको विकास निर्माणकै भइरहेका छन्।’
उनी सबै वडामा ८ मिटरको बाटो बनाइरहेकी छिन्।
‘८ मिटरको बाटो बनाउन असम्भव छ भनेर धेरैले कुरा काटे। अर्काको जग्गा आउँदा खनखन भने आफ्नोमा लठ्टी लिएर बसे। तैपनि मैले गरेरै छाडें। अब एउटा वडामा मात्र बाटो पुग्न बाँकी छ,’ उनले भनिन्।
४६० गाउँपालिकामध्ये १० वटामा महिला अध्यक्ष छन्। पुरुष अध्यक्ष भएको भए राम्रो काम हुने र महिलाले गर्ने काम नराम्रो भन्ने उनीहरुले सुन्नु परेका छैन। कतिपय असजिला समस्या पुरुष वडा अध्यक्ष छोडेर महिला जनप्रतिनिधि भएकोमा आइपुग्ने प्रमुख भट्ट बताउँछिन्।