प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौंस्थित विदेशी नियोगका कुटनीतिज्ञसँग मंगलबार छलफल गरेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा बोल्दै प्रधानमन्त्री ओलीले नेपाली नागरिक विदेशीका गोप्य एजेन्डाबाट शोषित हुन नहुने बताए।
‘हाम्रो समाजमा हिंसाको लागि कुनै स्थान छैन। हाम्रो सामाजिक एकता र सद्भाव बिगार्ने कुत्सित मनसायले विभिन्न पक्षबाट यस्ता प्रयास हुनसक्छन्,’ प्रधानमन्त्री ओलीले भने, ‘हाम्रा नागरिक गोप्य एजेन्डाबाट शोषित नहुन् भन्ने चाहन्छौं। हामीलाई विभाजित पार्न खोज्ने र अस्थीरता निम्त्याउने तत्वलाई हराउन हामी एक भएर लाग्नेछौं।’
प्रधानमन्त्री ओलीले पछिल्लो एक दशकमा नेपाली समाज तीव्र रुपान्तरण भइरहेको र त्यो राजनीतिमा मात्र नभएर समाजका अन्य क्षेत्रमा पनि महशुस भएकोे बताए।
‘हरेक निर्वाचित निकायमा ४१ प्रतिशत महिला छन् भन्ने कुरा सुनाउन पाउँदा मलाई गर्व महशुस हुन्छ,’ प्रधानमन्त्री ओलीले भने, ‘यो सानो उपलब्धी होइन, बाँकी रहेको ९ प्रतिशत पूरा गर्न पनि हामी प्रयास गर्नेछौं।’
उनले ठूलो मूल्य चुकाएर नेपाल राजनीतिक स्थीरताको नयाँ चरणमा हामी पुगेका उल्लेख गर्दै नेपालको यो महत्वपूर्ण उपलब्धीमा हाम्रा छिमेकी र शुभचिन्तकले पनि खुसी हुनुपर्ने बताए।
प्रधानमन्त्रीले स्वतन्त्रता र सार्वभौमिकताबारे कुनै सम्झौता हुन नसक्ने बताए।
हामी नेपाली हाम्रो लामो तथा गौरवपूर्ण स्वतन्त्र र सार्र्वभौम इतिहासप्रति गर्व गर्छौं। हाम्रा लागि राष्ट्रियता भनेको सार्वभौमिकता, भौगोलिक एकता, स्वतन्त्रता र हाम्रा राष्ट्रिय हितको रक्षा गर्नु हो,’ प्रधानमन्त्रीले भने, ‘ कहिल्यै कुनै बाह्य शक्तिले नियन्त्रण नगरेको देशका नागरिक हुनुका नाताले स्वतन्त्रता, सार्वभौमिकता र अहस्तक्षेप सधैँ हाम्रो मनमा रहेको हुन्छ।
उनले विविधतामा एकता नेपाली समाजको विशेषता र यही नै हाम्रो शक्ति भएको उल्लेख गर्दै नयाँ संविधानको मूल मर्म नै समावेशिता भएको बताए।
‘समानतामा आधारित सामाजिक न्यायबीना दीगो शान्ति र विकास हुन्छ भन्ने कुरामा हामी कल्पना पनि गर्दैनौं,’ प्रधानमन्त्रीले भने।
प्रधानमन्त्री ओलीले छिमेकीका जायज चासोलाई सरकारले सम्मान गर्ने र नेपाली भूमि उनीहरुविरुद्ध प्रयोग हुन नदिने प्रतिवद्धता व्यक्त गरे।
छलफलको सुरुमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले विदेशी कुटनीतिज्ञलाई स्वागत गरेका थिए।
मन्त्री ज्ञवालीले नजिकका छिमेकी र विश्वका सबै देशसँग नेपालको सौहार्दपूर्ण सम्बन्ध रहेको र नयाँ राष्ट्रिय प्राथमिकता र अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुसार नेपालले परराष्ट्र नीति अपनाउने बताए।
तस्बिरहरूः निशा भण्डारी