उत्तर कोरियाली शासक किम जोङ उन सोमबारदेखि अन्तर्राष्ट्रिय सञ्चारमाध्यममा चर्चामा छन्।
यसपालि उनी आणविक कार्यक्रम वा दक्षिण कोरियासँगको सम्बन्धका कारण समाचार बनेका होइनन्। धेरै सञ्चारमाध्यमले उनी रेल चढेर चीनको राजधानी बेइजिङ आइपुगेको उल्लेख गरेका छन्।
अमेरिकी सञ्चारमाध्यम ब्लुमबर्गले किम सोमबार विशेष रेल चढेर बेइजिङ आइपुगेको बताएको छ। नाम नबताउने तीन जना अधिकारीले यो भ्रमणको पुष्टि गरेको ब्लुमबर्गले उल्लेख गरेको छ।
जापानको क्योदो समाचार संस्थाले उत्तरपूर्वी सहर दानदोङ हुँदै विशेष रेल चीन आएको भिडियो फुटेज देखाउँदै त्यसमा किम हुन सक्ने बताएको छ।
साउथ चाइना मर्निङ पोष्टले उच्चस्तरीय भ्रमणका लागि बेइजिङसँगै चीन र उत्तर कोरियाली सीमामा ठूलो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको बताएको छ। सो समाचार पत्रले पनि भ्रमण किमकै हो भन्ने पुष्टि गरेको छैन।
‘यो तहको सुरक्षा व्यवस्था हेर्दा कोही महत्वपूर्ण मानिस नै आएका छन् भन्ने देखिन्छ,’ पोष्टले लेखेको छ।
अमेरिका र दक्षिण कोरियाले भ्रमणका बारेमा मिडियामा समाचार आए पनि आफूले पुष्टि गर्न नसकेको बताएका छन्।
दक्षिण कोरियाले यो अवस्थालाई नजिकबाट नियालिरहेको उल्लेख गरेको छ।
यसअघि सन् २०११ मा किमका बुवा किम जोङ इल पनि रेल चढेर बेइजिङ आएका थिए। इल उत्तर कोरिया फर्किएपछि मात्र दुबै देशले भ्रमणबारे सार्वजनिक गरेका थिए।
यदि उन चीन भ्रमणमा आएका हुन् भने सन् २०११ मा उत्तर कोरियाली शासक बनेपछि यो उनको पहिलो विदेश भ्रमण हो।
गत महिना अमेरिकी राष्ट्रपति डोनाल्ड जे ट्रम्पले वार्ता गर्ने किमको प्रस्तावमा सहमति दिएका थिए।
किमले प्योङयाङ पुगेको दक्षिण कोरियाली प्रतिनिधि मण्डलसँग कुरा गर्दै ट्रम्पसँग वार्ता गर्ने इच्छा व्यक्त गरेका थिए।
किम र ट्रम्पबीच छिटै वार्ता हुने बताइएको छ।