इयूको निर्वाचनसम्बन्धी प्रतिवेदनमा कांग्रेसको आपत्ति, भन्यो-आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर रहेर काम नगर (भिडियोसहित)

फाइल तस्बिर।


प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले युरोपियन युनियनको निर्वाचनसम्बन्धी प्रतिवेदनप्रति आपत्ति जनाएको छ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले युरोपियन युनियनको निर्वाचनसम्बन्धी प्रतिवेदन आपत्तिजनक रहेको स्पष्ट पारेका छन्। उनले पार्टी केन्द्रीय कार्य समितिको सोमबारको बैठकपछि संचारकर्मीमाझ निर्वाचनको पर्यवेक्षण गर्ने जिम्मेवारी पाएको युरोपियन युनियनले आफ्नो अधिकार क्षेत्रभन्दा बाहिर रहेर नेपालको संविधानमाथि नकारात्मक टिप्पणी गरेकोमा पार्टीको गम्भीर असहमति रहेको स्पष्ट पारे।

कांग्रेसले युरोपियन युनियनलाई आफ्नो मर्यादाभित्रै रहेर गतिविधि सञ्चालन गर्न पनि सचेत गराएको छ। सोमबारको बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरूले पनि युरोपियन युनियनको निर्वाचनसम्बन्धी प्रतिवेदन आपत्तिजनक रहेको धारणा राखेका थिए। कांग्रेसले यस सम्बन्धमा पार्टी केन्द्रीय कार्य समितिको बैठक सम्पन्न भएलगत्तै पत्रकार सम्मेलन गरेर औपचारिक धारणा सार्वजनिक गर्ने तयारी गरेको छ।

युरोपियन युनियनको निर्वाचनसम्बन्धी प्रतिवेदनमा नेपालको संविधानकै अवमूल्यन गर्न खोजिएको कांग्रेसको आरोप छ। प्रवक्ता विश्वप्रकाश शर्माले नेपालको संविधान सिंगै युरोपको संविधानभन्दा पनि उत्कृष्ट रहेको दाबी समेत गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.