‘फेरि आउँछु है’ भन्दै पौडेल हिँडे, बाँस्तोला हेरिरहे


आइतबार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चक्र बाँस्तोलालाई भेट्न उनको निवास खुमलटार हाइट पुगे।

बाँस्तोला हेर्दा सामान्य अवस्थामा देखिन्छन्। आँखाको इशाराले बोल्न खोजेजस्तो गर्छन् तर बोली आउँदैन, उनी उठ्न सक्दैनन्।
पौडेलले बोलाए–चक्रजी, म रामचन्द्र पौडेल।

पौडेलले यसो भनिरहँदा उनले मुख चलाए तर बोल्न सकेनन्। कुरा बुझेजस्तो भाव देखाए, आवाज निकाल्न खोजेजस्तो गरिरहे तर सकेनन्।

०६९ साल पुस १४ गते विराटनगरको विराटचोकमा भएको बाँस्तोला बन्धुको भेलामा सहभागी हुने क्रममा मष्तिकघात भएका उनलाई दिल्लीको मेदान्त अस्पताल, बाँसबारीको न्यूरो अस्पतालले पनि पूर्ववत् अवस्थामा ल्याउन सकेन।

कांग्रेस वरिष्ठ नेता पौडेलले फर्कने बेलामा चक्रसँग विदा मागे– चक्रजी, म अहिले गए, फेरि फेरि आउँछु है।

चक्र बाँस्तोलाले हेरिरहे। आँखाले देख्दासम्म पौडेललाई हेरे।

चक्र बिरामी परेपछि पटकपटक भेट्न पुगेका पौडेलले आफू फुर्सदको समयमा भेट्न आउने गरेको सुनाए।

खरो बोल्ने चक्र गुटबन्दी र स्वार्थमा कहिल्यै अल्झेनन्। कांग्रेसको नेतृत्वको सशस्त्र क्रान्तिका बेलामा हतियार संकलनदेखि प्लेन अपहरणसम्म सहभागी एउटा सिंगो इतिहासको सहारा बनेकी छन्, पत्नी कुसु। उनले कांग्रेस वरिष्ठ नेता पौडेललाई स्वास्थ्य अवस्था बारेमा जानकारी गराइन्।

‘हरेक बिहान फिजियोथेरापी गराउनुपर्छ, त्यसबेला खुब आङ तन्काउनुहुन्छ। सधैँ ब्रस गरिदिन्छु, नौ बजे बिहान घरबाहिर लगेर घाममा राख्छु,’ कुसुले भनिन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.