प्रधानमन्त्रीको रुपमा देउवाले जग हँसाए : सिंह


नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति शेरबहादुर देउवा इतिहासमै जग हँसाउने प्रधानमन्त्री भएको बताएका छन्।
कांग्रेसको केन्द्रिय समिति बैठकमा चुनावी समिक्षाको प्रतिवेदन पेश गर्दै उनले यस्तो बताएका हुन्।

उनले पेश गरेको ९ पन्ने प्रतिवेदनमा ६४ जनाको मन्त्रीपरिषद् बनाएर देउवाले लोक हँसाएको उल्लेख छ।

‘नेपालको इतिहासमा नै लोक हसाँउने गरी प्रधानमन्त्रीका हैसियतमा हाम्रो सभापतिले ६४ जनाको मन्त्रिमण्डलको कीर्तिमानी कायम गरेर इतिहासमा नाम लेख्नु भएको छ।’  उनले देउवालाई कटाक्ष गर्दै भनेका छन्,’ सभापतिजीले प्रधानमन्त्रीका हैसियतमा यस्तो गौरवशाली कीर्तिमानी त राख्नु भयो तर यस्तो अत्यन्त अलोकप्रिय कदमले पार्टीले कति क्षति व्यहोर्नु पर्‍यो ? यस विषयमा गंभीर भएर कहिल्यै सोच्नु भएको छ ?’

सभापतिमा राजनीतिक सुझबुझ नहुँदा बाम गठबन्धनले निर्वाचन जितेको भन्दै उनले देउवाको आलोचना गरे।

हाम्रो सभापतिजीले राजनीतिक धैर्यता सझबुझ नदेखाएकोले त्यही पृष्ठभूमीमा टेकेर कथित वाम गठबन्धनले निर्वाचनमा सफलता प्राप्त गरिहँदा हामीले दुःखद पराजय भोग्नुपरेको यथार्थलाई भुल्नु हुँदैन सिंहले भने।

प्रजातन्त्र र स्वतन्त्र न्यायविरुद्ध हुने गरी प्रधानन्यायाधीशमाथि महाअभियोग लगाएको  सिंहको प्रतिवेदनमा उल्लेख छ।  पार्टीको आदर्श र सिद्धान्त विपरीत काम गर्दा पार्टीको लोकप्रियतामा धक्का लागेको उनले बताएका छन्।

त्यस्तै  प्रधानमन्त्रीकोरुपमा साझा सवाललाई दिएको अन्तरवार्ता, सप्तरिका बाढीपिडितलाई सम्बोधन गर्दाको त्रुटि र प्रहरी महानिरिक्षक प्रकरण लगायतको स्मरण गर्दै उनले सभापति देउवाको आलोचना गरेका छन्।

‘अत्यन्त फितलो प्रस्तुति आदिले सामाजिक सञ्जालहरूमा व्यापक रूपमा भाइरल भएको र आममिडियामा पारेको नकारात्मक प्रभाव, लगायतका कार्यबाट प्रधानमन्त्रीको मात्र नभएर प्रधानमन्त्रीका रूपमा नेपाली काँग्रेसका नेताको कार्य कौशलता र क्षमतामाथि आम जनतामा प्रश्न उठ्यो,’ उनको प्रतिवेदनमा उल्लेख छ, ‘हाम्रो सभापति र सभापतिले प्रधानमन्त्रीको हैसियतमा गरेका यस्ता अलोकप्रिय कामले पार्टीलाई कति क्षति पुग्न गयो होला हामी सजिलै अनुमान गर्न सक्दछौं।’

त्यस्तै उनले महाधिवेशनपछि दुई महिनाभित्र गठन गरिसक्नुपर्ने उपसभापति, महामन्त्रीलगायत पदाधिकारी दुई वर्षसम्म पनि पूर्णता दिन नसकेको उल्लेख गरेका छन्।

‘पार्टीको विधान अनुसार दुई महिनाभित्र गठन गरिसक्नु पर्ने उपसभापति र महामन्त्रीसहित केन्द्रीय कार्यसमिति गठन र पार्टी विभाग दुई वर्ष वितिसक्दा पनि पुर्णता दिन नसक्नु सभापतिजीको कमजोरी मात्र नभएर स्वेच्छाचारिता र अराजकताको चरम नमुना हो’ सिंहले पेश गरेको प्रतिवेदनमा उल्लेख छ।

संगठन चुस्त बनाउन नसक्दा निर्वाचनमा पराजय भोग्नुपरेको पनि सिंहको आरोप छ। ‘कार्यकर्ता परिचालन भएन। काँग्रेस अत्यन्त कमजोर बन्यो जसले गर्दा निर्वाचनलाई नकारात्मक असर पुर्‍यायो’ प्रतिवेदनमा भनिएको छ।

सभापति देउवाले गुटलाई प्रश्रय दिएको आरोप सिंहको छ।

‘नेपाली काँग्रेस भित्र कायम रहेको कथित ६०।४० को  भागवण्डालाई समाप्त गरेर सबैलाई समेटेर पार्टी एक बनाएर लग्छु भन्दै पार्टी सभापति बनेपनि  महाधिवेशन पछि २ वर्षको अवधिमा गुटलाई नै प्रश्रय दिएको कारण पार्टी इतिहास कै सबै भन्दा कमजोर स्थितिमा आएको मुद्धा समिक्षाको विषय बन्ने कि नबन्ने?’  सिंहको प्रतिवेदनमा उल्लेख छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.