महिलालाई प्रधानमन्त्रीको सुझाव-आरक्षणभन्दा पुरुष सरह अवसर, अधिकार र सम्मानको खोजी गर्नुहोस्


प्रधानमन्त्री केपी शर्मा ओलीले महिलाहरूलाई पुरुषसरह अधिकारको व्यवस्था गर्ने घोषणा गरेका छन्।

प्रधानमन्त्री ओलीले ४१ प्रतिशत महिलाहरू निर्वाचनमा निर्वाचित भएको स्मरण गराउँदै अब कानूनी रूपमा पुरुष सरहनै महिला निर्वाचित हुने व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे।

उनले महिला कार्यक्रमका लागि सरकारले बजेटको अभाव हुन नदिने प्रतिबद्धता पनि व्यक्त गरे। प्रधानमन्त्री ओलीले मुलुक निर्माणका लागि महिलाहरूले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा पनि जोड दिए।

ललितपुरको सानेपामा बिहिबारबाट सुरू भएको अन्तर्राष्ट्रिय महिला उद्यमीहरूको प्रर्दशनीलाई उद्घाटन गर्दै उनले महिलाहरूलाई प्रतिस्पर्धी  क्षमता विकासतर्फ अग्रसर हुन पनि आह्वान गरे।

महिलाहरूले आरक्षणभन्दा पनि पुरुष सरह अवसर, अधिकार र सम्मानको खोजी गर्नुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ।

प्रधानमन्त्री ओलीले महिलाहरूलाई सबल बनाएर मात्रै मुलुकलाई अघि बढाउन सक्ने पनि स्मरण गराए। कार्यक्रममा बोल्दै महिला, बालबालिका तथा समाज कल्याणमन्त्री थममाया थापाले महिलाहरूलाई आर्थिक रूपमा सबल बनाएर समाजिक अन्धविकासलाई हटाउन लागिपर्ने बताइन्।

उनले महिलाहरू आर्थिक रूपमा सबल नभएकै कारण समाजमा महिला हिंसा बढेको पनि स्मरण गराइन्। मन्त्री थापाले राजनीतिक अस्थिरताका कारणमा विगतमा महिला सशक्तिकरणको अभियान सफल हुन नसकेको पनि उल्लेख गरिन्।

कार्यक्रममा सफल महिला उद्यमीहरूलाई पनि प्रधानमन्त्री ओलीले सम्मान गरे।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.