सिंहदरबार बाहिरका सरकार (सम्पादकीय नोट : नेपालको इतिहासमा पहिलो पटक राजधानी बाहिर पनि अधिकार सम्पन्न सरकारहरू गठन भएका छन्। नेपाली नागरिकले चुनेका सरकारले सिंहदरबारमा जस्तै प्रदेश र स्थानीय तहमा पनि काम सुरू गरेका छन्। यी सरकारले सुरू गरेका काम, उनीहरूका चुनौतीलगायत पाटाहरू समेटेर सेतोपाटीले नयाँ श्रृंखला सुरू गरेको छ।) नेपालगन्जकी उपमेयर उमा थापा मगरले भनेकी थिइन्, ‘तपाईंहरू शाहिदाजीलाई भेट्नुस् है। उहाँ आफ्ना तमाम कठिनाइका बाबजुद राम्रो काम गर्दै हुनुहुन्छ। उहाँलाई हेरेर त हामीमा पनि जाँगर पलाउँछ।’
हामीले शाहिदाको नम्बर लियौं। फोन गर्यौं।
अवधि मिसिएको भाषामा उताबाट आवाज आयो।
‘म शाहिदा बानो।’
हामीले आफ्नो परिचय दियौं।
‘तपाईंको त यहाँ सबैले उदाहरण दिँदा रहेछन् नि!’
उनी हाँसिन्।
‘मलाई त केही आउँथेन। उपाध्यक्ष भएपछि के गर्नुपर्छ भन्ने पनि थाहा थिएन,’ भनिन्, ‘सबै उहाँहरूबाटै सिक्दैछु।’
‘राजनीतिमा लागेपछि प्रयास गर्न सिकेँ, प्रयास थालेपछि अब प्रगति पनि गर्न सक्छु जस्तो लाग्छ,’ उनले थपिन्।
नेपालगन्जबाट लगभग पौने घन्टा दुरीको डुडुवा गाउँपालिका उपाध्यक्ष हुन्, शाहिदा।
मध्यसहरबाट धुलाम्मे हुलाकी राजमार्ग नाघ्दै दक्षिणपूर्व लागेपछि पातलो गाउँको बीचमा उनको गाउँपालिका छ। दुईतले गाउँपालिका भवनको माथिल्लो तलामा पहिले प्रहरी बस्थे। स्थानीय जनप्रतिनिधि आएपछि प्रहरीले घर खाली गर्यो। अब तल्लो तलामा डुडुवा सरकारको प्रशासनिक काम हुन्छ। माथिल्लो तलाका तीन कोठामा अध्यक्ष, उपाध्यक्ष र प्रशासकीय अधिकृतको कार्यालय छ।
‘कोठै छैन हेर्नुस् हामीकहाँ, दिदी (उमा) ले इजलास बनाउनुस् भन्नुभएको छ, त्यो पनि गर्न सकेको छैन,’ उनले समस्याबाटै कुरा सुरु गरिन्।
इजलास भन्नाले मुद्दामामिलामा पक्ष–विपक्षका कुरा सुन्ने कोठा हो। संविधानले स्थानीय तहलाई अधिकारसम्पन्न बनाउँदै सामान्य झैझगडा र विवाद सल्टाउने अधिकार उपमेयर/उपाध्यक्षलाई दिएको छ।
‘यहाँ ठाउँ अपुग भएकाले वडा नम्बर २ मा बन्दै गरेको नयाँ भवनमा इजलास बनाउने तयारी गर्दैछु,’ उनले भनिन्।
इजलास कोठा सँगसँगै शाहिदाले उपाध्यक्ष हैसियतमा धेरै थोकको चाँजो मिलाउँदै छिन्।
उनले आफ्नो पदीय जिम्मेवारी सिक्नुछ। कानुनका धारा बुझ्नुछ। कानुनले दिएका अधिकार थाहा पाउनुछ। त्योभन्दा पहिला, जुन पृष्ठभूमिबाट उक्लिएर यहाँसम्म आइपुगेकी छन्, त्यसले ल्याएका अप्ठ्यारा चिर्दै अघि बढ्नुछ।
शाहिदा ३७ वर्ष भइन्। जिन्दगीका २२ वर्ष कसैकी बुहारी, कसैकी पत्नी र कसैकी आमा भएर गुजारिन्। २६ जनाको सगोल परिवार देखरेखमै उनका दिन बिते। घरभित्र शिरमा घुँघट हटेन। बाहिर निस्कँदा कालो बुर्का छुटेन।
‘अहिले त हेर्नुस्, घुँघट पनि हट्यो, बुर्का पनि छुट्यो,’ उनले आत्मविश्वासका साथ भनिन्।
शाहिदा आफ्नो इच्छाभन्दा ससुराको जोडबलले राजनीतिमा आएकी हुन्। उनका ससुरा नेपाली कांग्रेसका स्थानीय नेता हुन्। तीन पुस्तादेखि राजनीतिमा छन्। पहिले गाविस उपाध्यक्ष भए। यसपटक स्थानीय चुनावमा शाहिदालाई होइन, उनका श्रीमानलाई उठाउने सोचेका थिए। अध्यक्ष वा उपाध्यक्षमा महिला उम्मेदवार चाहिने भयो। उनले छोराको ठाउँमा चुह्लोचौकामै सीमित बुहारीलाई राजनीतिको मैदानमा ओराले।
पहिलोचोटि राजनीतिको कुरा उठ्दा शाहिदा अक्मकिएकी थिइन्।
‘म त बाहिर मान्छेसँग बोल्न पनि सक्दिनँ, कसरी चुनाव लडूँ,’ शाहिदाले ससुरासँग भनेको सम्झिइन्, ‘तपाईंहरू जो जय नेपाल, जय नेपाल भन्नुहुन्छ, त्यो पनि के हो मलाई थाहा छैन।’
‘हामी ‘असल्लाम वालेकुम’, ‘वालेकुम सलाम’ भन्छौं नि, जयनेपाल भनेको त्यस्तै हो,’ उनले बुझाए।
ससुराले हौसला बढाए। घरका सबैले साथ दिए।
शाहिदा राजनीतिमा छिरिन्।
छरछिमेकमा कुरा काट्नेहरू टन्नै निस्के। उनका ससुरा ‘हज’ गर्न गएकाले गाउँमा ‘हाजी’ भनेर चिनिन्छन्। धेरैले धारे हात लाउँदै भने, ‘यी हाजीले के गर्न लागे, कहीँ नपाएर बुहारीलाई चुनाव उठाउँछ कसैले!’
जसले जे भने पनि स्थानीय राजनीतिमा उनको प्रभाव बलियो थियो।
शाहिदाले चुनाव जितिन्।
‘हारेको भए कति धेरै खरिखोटी सुन्नुपर्थ्यो होला, अहिले सबैको बोली बन्द भएको छ,’ उनले भनिन्, ‘बरु शाहिदाले मुस्लिम महिलाको इज्जत राखिन् भनेर माया गर्छन्।’
चुनाव त जितिन्, जितसँगै आएको जिम्मेवारीको चुनौती त्यसपछि सुरु भयो।
पहिलो चुनौती बन्यो, उनको शिक्षा।
शाहिदा स्कुल गएकी छैनन्। माइती छँदा घरमै सामान्य पढाइ भयो, उर्दूमा। बिहेपछि त्यही पनि छुट्यो।
उनलाई नेपाली बुझ्न र बोल्न सकस हुन्छ। लेख्न जान्दिनन्। अक्षर चिन्छिन्, सर्सती पढ्न सक्दिनन्।
उपाध्यक्ष भएपछि स्थानीयका गुनासा र मागका खात लाग्न थाले। नपढेकोमा थकथकी भयो। हिनताबोध भने गरिनन्। बरु कमजोरी जितेर अघि बढ्ने निधो गरिन्। गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीले साथ दिए। हौस्याए।
शाहिदा अचेल फेरि पढ्न थालेकी छन्। हरेक दिन बिहान ८ देखि साढे ९ बजेसम्म ट्यूसन पढ्छिन्। स्थानीय शिक्षिका कमला बोहरा घरै आएर नेपाली पढाउँछिन्।
‘गाउँमै काम गर्न त अवधि र उर्दूले चल्छ,’ उनले भनिन्, ‘बाहिरतिर जानुपर्दा अरू बोलेको राम्ररी बुझिन्न, आफू पनि फर्रर बोल्न सक्दिनँ। कसैले केही लेखेर ल्याए पढ्न लगाउनुपर्छ।’
सुरुमा उनलाई लेखपढ गर्न सरम लागेको थियो। अध्यक्षले कर गरे। हार्न सकिनन्।
‘आफ्नै नाम लेख्न मुश्किल थियो। यतिका जिम्मेवार थपिएपछि उहाँले ट्युसन पढ्न सुझाउनुभयो,’ उनले भनिन्, ‘लाग्ने खर्च पालिकाले नै बेहोरिदिन्छ भन्नुभयो।’
शाहिदाले खर्चको कुरा मानिनन्। पढ्न भने थालिन्।
‘कम्तिमा अबको एक वर्षमा लेखपढ गर्न जाने बाँकी तीन वर्ष राम्ररी काम गर्न सक्छु,’ उनले भनिन्।
उनलाई उपाध्यक्षको जिम्मेवारी बुझ्न र निर्वाह गर्न पनि कठिन भइरहेको छ।
त्यसै पनि स्थानीय तह संरचना पहिलेजस्तो छैन। पहिले उपमेयर वा उपाध्यक्षको पदीय जिम्मेवारी थिएन। अहिले संविधानले नै किटान गरेको छ। राजस्व परिचालन, न्याय–निसाफ र विकास योजना अनुगमन जिम्मा उनीहरूमाथि छ।
‘कानुन नयाँ, हामी पनि नयाँ। सुरुमा त के गर्ने, कसो गर्नेमै अलमल्ल परियो,’ उनले भनिन्, ‘जनताले हामीबाट धेरै आश गरेका छन्, हामीलाई भने आफ्नै काम थाहा छैन।’
त्यही भएर लेखपढ गर्न थालेको उनको भनाइ छ। परिणाम पनि देखिन थालेको छ। उनको काम प्रभावकारी हुँदै गएको अन्य पालिकाका समकक्षीले अनुभव गरेका छन्।
बाँकेमा आठ स्थानीय तह छन्। आठै तहका उपमेयर/उपाध्यक्षहरूले आपसी सहकार्य निम्ति ‘न्याय समिति संघ’ भन्ने अनौपचारिक समूह बनाएका छन्, जसलाई यहाँ ‘उपमेयर क्लब’ भनेर चिनिन्छ।
प्रत्येक महिना आलोपालो बस्ने समूह बैठकमा स्थानीय तहका ‘सेकेन्ड–म्यान’ हरू नजानेका विषयमा सरसल्लाह गर्छन्। जानेका ज्ञान बाँड्छन्। एकअर्काको सिकाइबाट अघि बढ्न खोज्छन्। अहिलेसम्म तीनवटा बैठक बसिसकेको छ। पछिल्लो बैठक आयोजना डुडुवा गाउँपालिका तर्फबाट शाहिदाले नै गरेकी थिइन्।
‘शाहिदाजीको प्रयास देखेर छक्क पर्छु,’ नेपालगन्जकी उपमेयर उमा भन्छिन्, ‘यो उमेरमा पनि जिम्मेवारीले थिचेपछि पढ्ने समय छुट्टयाउनुभएको छ।’
शाहिदा भने अध्यक्ष चौधरीलाई जस दिन्छिन्।
[caption id="attachment_143628" align="alignnone" width="3103"]
डुडुवा गाउँपालिका अध्यक्ष नरेन्द्र चौधरीसँग उपाध्यक्ष शाहिदा। तस्बिर: चेतना गुरागाईं/सेतोपाटी[/caption]
‘उहाँ मलाई गाउँपालिकाका सबै गतिविधिमा सरिक गराउनुहुन्छ,’ उनले भनिन्, ‘म बस्नै नपर्ने बैठकमा पनि सँगसँगै राखेर कसरी बोल्ने, कसरी काम गर्ने सिकाउनुहुन्छ।’
शाहिदासँग भेटेपछि हामीले चौधरीसँग लगभग एक घन्टा कुराकानी गरेका थियौं। त्यो बेला पनि शाहिदालाई सँगै राखेका थिए। कोठामा दुवैको कुर्सी सँगसँगै थियो।
शाहिदा आफ्ना कतिपय काम चौधरीकै सल्लाहमा गर्छिन्। उनले बकपत्र तयार पार्न र फिरादपत्र लेख्न मद्दत गरे। कस्ता मुद्दामा मिलापत्र गराउने र कस्ता मुद्दा प्रहरी वा अदालत पठाउने भनेर सिकाए।
‘उपमेयर क्लब’ बैठक बस्न थालेपछि शाहिदालाई जिम्मेवारीको थप भेउ भइरहेको छ। काम गर्ने तरिका बुझ्दै गएकी छन्। उनीकहाँ छ सम्बन्ध बिच्छेद र चारवटा जग्गासम्बन्धी मुद्दा विचाराधीन छन्।
‘यो मेरो जिन्दगीकै ठूलो फड्को हो,’ उनले भनिन्, ‘कहाँ म २६ जनाको घरव्यवहार सम्हालेर बसेकी थिएँ, एकैचोटि हजारौं हजारको जिम्मेवारी बोक्ने पदमा पुगेकी छु।’
डुडुवा गाउँपालिकामा १० हजार घरधुरी छन्। जनसंख्या ४० हजार छ।
‘चुनौतीसँग डराएर होइन, लडेर काम गर्छु। चुनाव बेला जनतासँग जे बाचा गरेका थियौं, त्यसलाई पूरा गर्न लागिरहेका छौं,’ शाहिदाले भनिन्, ‘जिम्मेवारी आएपछि खुबी आफैं आउँदो रहेछ।’
यसमा ससुराको पनि मद्दत छ। सुरुका दिनमा नियमित गाउँपालिका आउने गरेको शाहिदाले बताइन्। हामीले भेट्दा पनि शाहिदा ससुरासँगै आएकी थिइन्। हामीसँग कुरा गरिरहँदा ससुरा कोठाबाहिरै थिए। केही बेरमा फर्के।
हामीले शाहिदालाई सोध्यौं, ‘तपाईंलाई ससुराले चुनाव लडाउनुभयो, उहाँले नै जिताउनुभयो। अब उपाध्यक्षको काममा कत्तिको चासो दिनुहुन्छ?’
‘पहिले खुब मद्दत गर्नुभयो। अचेल यसो गर, उसो गर भन्नुहुन्न,’ उनले भनिन्।
‘कुनै दिन तपाईंलाई पदीय सीमाभन्दा बाहिर गएर काम गर्न उहाँबाट दबाब आयो भने?’
हाम्रो यो प्रश्नमा उनको जवाफ थियो, ‘त्यस्तो हुँदैन। उहाँ (ससुरा) मलाई मद्दत गर्नुहुन्छ, मेरो खुट्टाको जञ्जीर बन्नुहुन्न।’
‘उहाँजस्तो सक्रिय राजनीतिक व्यक्तिका अनेक स्वार्थ हुन सक्छन् नि!’
‘म उहाँको सल्लाह सुन्छु। गर्नै नमिल्ने काम छ भने कुनै हालतमा गर्दिनँ,’ उनले विश्वास दिलाइन्।
उनका श्रीमान् भने राजनीतिबाट टाढै छन्। पहिले ठेक्कापट्टा गर्थे। अचेल खेतीपातीमा लागेका छन्। पहिले उनको नाउँसँग शाहिदाको परिचय जोडिएको थियो। अहिले ‘शाहिदाका श्रीमान्’ भनेर चिनिन्छन्।
स्थानीय तहको अधिकारसम्पन्न ‘सेकेन्ड–म्यान’ का रूपमा संविधानले जस्तो व्यक्ति परिकल्पना गरेको छ, त्यसमा शाहिदा खरो उत्रन सक्छिन् कि सक्दिनन्, भोलिका दिनमा देखिनेछ। आजलाई नेपालगन्जकी उपमेयरले भनेझैं उनी तमाम कठिनाइका बाबजुद राम्रो काम गर्ने कोशिस गर्दै छिन्।
‘म हाम्रो गाउँकै पहिलो मुस्लिम महिला हुँ, जो घरबाट निस्केर राजनीतिमा लागेकी छु,’ शाहिदाले भनिन्, ‘जतिसुकै कमजोर भए पनि यसपालि राम्रो काम गरेँ भने अर्कोचोटि जनताले फेरि जिताउने छन्।’
यी पनि पढ्नुहोस्ः