माओवादीसँग पार्टी एकता सम्भव छैन : बाबुराम भट्टराई


नयाँ शक्ति पार्टीका संयोजक  बाबुराम भट्टराईले नेकपा( माओवादी केन्द्र)सँग पार्टी एकता सम्भव नरहेको बताएका छन्।

आज  चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले पार्टी एकता र कार्यगत एकता सम्भव नरहेको स्पष्ट पारे।

उनले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सबै कुरामा हारिसकेको, थाकिसकेको र पछाडि परिसकेको भन्दै उनले बोलेका कुराको टिप्पणी गर्नु औचित्य नभएको बताए।

पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आजै प्रदेश नम्बर ३ र प्रदेश नम्बर ४ ले आज भरतपुरमा आयोजना गरेको लुम्बिनी बैठकको भाव सम्प्रेषण एवं पार्टी आन्तरिक प्रशिक्षण कार्यक्रममा सरकारले गर्ने कामका आधारमा समर्थन र विरोध गर्ने बताए। उनले भने, ‘देश र जनताको हितमा हुने कामको समर्थन गर्दछौँ, जनता र राष्ट्र विरोधी कामको विरोध गर्छाैं।’

उनले पछिल्लो समयमा सरकारमा जान लालयित हुने धेरैको चाहना रहेको बताउँदै बहुमतको सरकार हुँदाहुँदै तीन चौथाइ बनाउन आवश्यक नरहेको टिप्पणी गरे।

उनले भने, ‘लोकतन्त्रमा सत्तापक्ष र प्रतिपक्ष हुनुपर्दछ। त्यसो भयो भने सत्तामा बस्नेले आफ्नो नीति र कार्यक्रम कार्यान्वयन गर्दछ।’ उनले नेपालको ठूलो श्रमशक्ति विदेशमा पलायन भएको र उनीहरूबाट आएको विप्रेषणले देशको अर्थतन्त्र चलेको बताउँदै भने, ‘नोट चल्ने भोट नचल्ने जुन प्रणाली छ यो परिवर्तन हुनुपर्दछ।’

कार्यक्रममा नयाँ शक्ति पार्टीको हालै सम्पन्न लुम्बिनी बैठकको भाव सम्प्रेषणसम्बन्धी पाँच बुँदे घोषणाको सामूहिक संकल्प वाचन गरिएको थियो। उक्त वाचनमा देशमा समस्या छ, समस्याका कारण छ। समस्याको निवारण छ, पाँच ‘स’को माध्यमबाट समृद्ध नेपाल निर्माण गर्न सकिन्छ भन्ने वाक्यांश सुरू गरी पाँच बुँदे घोषणाको सामूहिक पाठ गरिएको थियो।रासस

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.