फोरम बैठक सकियो, मन्त्रीको नाम टुंगिएन

तस्बिर: महेश चौरसियाको फेसबुकबाट


संघीय समाजवादी फोरम नेपालको पदाधिकारी बैठक सकिएको छ।

आइतबार पार्टी कार्यालय सुविधानगरमा बसेको बैठकमा सरकारमा सहभागिताका विषयमा वार्ता जारी रहेकाले पहिला राजनीतिक सहमति हुनु पर्ने विषयमा छलफल भएको सहअध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए।

‘सरकारमा जाने कुरा छ तर सबै विषयमा सहमति भइसकेको छैन, सरकारमा मन्त्री पठाउनुअघि संविधान संशोधन लगायत राजनीतिक विषयमा सहमति हुनुपर्ने छलफल भयो,’ श्रेष्ठले भने, ‘मन्त्री को हुने भन्ने विषयमा आजको बैठकमा छलफल नै भएन।’

फोरमले यसअघि नै सरकारमा सहभागी हुने निर्णय गरिसकेको छ।

एमाले र माओवादी फोरमलाई दुई मन्त्री र एक राज्यमन्त्री दिन सहमत भएका छन्। फोरम अध्यक्ष उपेन्द्र यादव मन्त्री बन्ने निश्चित छ। अर्को एक जना मन्त्री छान्ने विषयमा फोरममा किचलो छ।

स्रोतका अनुसार १ मन्त्रीका लागि ६ जना आकांक्षी भएपछि अध्यक्ष यादवलाई मन्त्री छान्न सकस भएको हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.