सन् २०१८ मा भारतीय प्रधानमन्त्री र चिनीयाँ राष्ट्रपति दुवै नेपाल आउनुहुन्छः परराष्ट्रमन्त्री ज्ञवाली


नवनियुक्त परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले सन् २०१८ मा नेपालमा उच्चस्तरीय अन्र्तराष्ट्रिय भ्रमण हुने बताएका छन्। उनले सन् २०१८ मा भारतीय प्रधानमन्त्री र चिनीयाँ राष्ट्रपति दुवै नेपाल आउने बताए। ‘२०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आउनुहुन्छ, र चिनीयाँ राष्ट्रपति सि जिनपिङ पनि आउनुहुन्छ, त्यसैगरि नेपालबाट पनि उच्चस्तरीय भ्रमण हुन्छन्,’ शनिबार रिपोर्टर्स क्लबमा आयोजित साझात्कार कार्यक्रममा बोल्दै मन्त्री ज्ञवालीले भने।

सन् २०१८ मा द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरू हुने भएकाले यो वर्ष नेपालको लागि महत्वपूर्ण हुने उनले बताए।

साक्षात्कारमा बोल्दै उनले सन् २०१८ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सि जिनपिङ नेपाल आउने विश्वास दिलाए । उनले भने,‘हामी अहिले द्धिपक्षीय उच्चस्तरीय भ्रमणको तयारीमा जुटेका छौं, गृहकार्यहरु भैरहेका छन्, दुवै मित्रराष्ट्रबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन्छ।’

हालै नेपाल भ्रमणमा आएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजमार्फत भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तो दिईएको र चिनियाँ राष्ट्रपति जिनपिङ सन् २०१६ मै नेपाल आउने तयारी गरेकोले २०१८ मा दुवै जना नेपाल आउने उनको भनाई थियो।

त्यसैगरि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि विदेश भ्रमण चाँडै गर्ने सुनाए। उनले भने,‘प्रधानमन्त्री ओलीको विदेश भ्रमणको गृह कार्यमा हामी जुटिसकेका छौं।’

प्रधानमन्त्री ओलीको पहिलो विदेश भ्रमण भारतबाटै सुरु हुन लागेको हो भनेर पत्रकारले सोधेको प्रश्नमा उनले भने,‘पहिला कुन देश जाने भन्नेबारे अहिले यकिन भैसकेको छैन, भारतबाट पनि हुनसक्छ, यसबारेमा हामीले छलफल सुरु गरेका छौं, चीनबाट पनि हुनसक्छ, जहाँबाट पनि हुनसक्छ।

उनले भारत र चीन लगायत अमेरिका, बेलायत र जापानबाट पनि नेपालमा उच्चस्तरीय भ्रमण हुने विश्वास दिलाए।

भारतले नेपालसँग नयाँ ढंगले सम्बन्ध विकास गर्न खोजेको सन्देश दिईसकेकोले आफूहरु त्यसप्रति पूर्ण सकारात्मक रहेको ज्ञवालीको भनाई थियो। उनले भने,‘त्यही कुरामा टेकेर हामी पनि सम्बन्ध नयाँ उचाईमा पुर्याउँछौं, यो बीचमा द्धिपक्षीय उच्चस्तरीय भ्रमणहरु हुन्छन्, हामी गृहकार्यमा जुटिसकेका छौं।’

त्यस्तै उनले चीनबाट पनि उच्चस्तरीय भ्रमण हुनेमा आफू पूर्ण आशावादी रहेको र सोही अनुसार अब गृहकार्य अघि बढाउने स्पष्ट पारे । उनले भने,‘चीनको राष्ट्रपतिसँग मैले भेटेर यसअघि पनि कुरा गरेको छु, उहाँ नेपाल आउन सकारात्मक हुनुहुन्छ, चीन सकारात्मक छ।’

मन्त्री ज्ञवालीले नेपाल अहिले महत्वपूर्ण मोडमा उभिएको उल्लेख गर्दै आगामी दिनमा मुलुकको राष्ट्रिय नीतिलाई बल पुग्नेगरी विदेश नीति अघि बढ्ने बताए। उनले भने,‘राष्ट्रियताको रक्षा एवम् प्रर्वद्धन, राष्ट्रिय एकता, सार्वभौमकिता, अखण्डतालाई एकताबद्ध गर्ने हाम्रो मुल नीति हो, यो सँगै मुलुकलाई आर्थिक समृद्धिको यात्रामा अघि बढाउने हो, हामी सोही अनुसार काम गर्छौं, मुलुकमा समृद्धि हाँसिल गर्ने उद्देश्य अनुकुल नै अन्र्तराष्ट्रिय वातावरण निर्माणमा परराष्ट्र नीतिको सार हुनेछ।’

त्यस्तै उनले नयाँ सरकारले छिमेकीहरुसँग असल सम्बन्ध कायम गर्दै आर्थिक कुटनीतिलाई बढावा दिने विश्वास दिलाए। राजदूतहरुसँगको भेटलाई व्यवस्थित् गर्ने र परराष्ट्रमन्त्रालयलाई जीवन्त संस्थाको रुपमा स्थापित् गर्न आफूले सशक्त भूमिका खेल्ने उनको भनाई थियो ।

उनले दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई अझ सुदृढ बनाउँदै लगिने र नेपालको भूमि कसैको विरुद्ध प्रयोग हुन नदिइने स्पष्ट पारे । ज्ञवालीले भने, ‘नेपाल छिमेकीको कुभलो चिताउँदैन, छिमेकीसित अझ सुदृढ सम्बन्ध राख्छ ।’

भारत र चीन दुवै मित्रराष्ट्रले तिव्र आर्थिक विकास हाँसिल गरेकोले उनीहरुसँग नेपाल जोडिनु खुशीको कुरा भएको टिप्पणी गरे । उनले भने,‘त्यसबाट अलग रहन सकिँदैन्, चीन विश्वको दोस्रो ठूलो अर्थतन्त्र हो, भारत उदयीमान अर्थतन्त्र हो, दुवै देशसँग हामी सुमधुर र सन्तुलित सम्बन्ध राख्छौं।’ नेपालको विदेश नीति अब आर्थिक कुटनीति र सम्बन्धका आधारमा अघि बढ्ने मन्त्री ज्ञवालीको भनाई थियो ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.