संयुक्त राज्य अमेरिकाले उत्तर कोरियाले प्रतिबन्धित रसायन प्रयोग गरी शासक किम जोङ उनका सौतेनी दाइको हत्या गरेको बताएको छ।
किमका सौतेनी दाइ किम जोङ नामको हत्यामा भिएक्स नामक रसायनिक प्रयोग गरिएको अमेरिकाको दाबी छ।
'अमेरिका हत्या गर्न रसायनिक हतियार प्रयोग गरिएको विषयको घोर भत्सर्ना गर्छ', विदेश मन्त्रालयका प्रवक्ता हेथर न्युअर्टले विज्ञप्ति जारी गर्दै भनेका छन्।
विज्ञप्तिमा भनिएको छ- रसायनिक हतियार प्रयोगविरुद्धका अन्तर्राष्ट्रिय मान्यताको यो सार्वजनिक उल्लंघनले उत्तर कोरियाको लापरबाहीलाई अझ प्रष्ट पार्छ र उसको कुनै पनि प्रकारको आम विनाशकारी हतियारको कार्यक्रम सहन सकिन्न भन्ने देखाउँछ।
किमका सौतेनी दाइ नामको गत वर्ष फेब्रुअरीमा मलेसियाको क्वाललाम्पुर विमानस्थलमा हत्या भएको थियो।
उत्तर र दक्षिण कोरियाबीच अर्को महिना शिखर वार्ताको तयारी भइरहेका बेला अमेरिकाले यो तथ्य बाहिर ल्याएको हो।