एमाले-माओवादी एकतामा सुरुदेखि एउटा प्रमुख चुनौती थियो— एकीकृत पार्टीमा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालको नेतृत्व व्यवस्थापन कसरी गर्ने?
दुवै जनाको राष्ट्रिय-अन्तर्राष्ट्रिय व्यक्तित्व मात्र थिएन, उनीहरुमा नेतृत्वको स्वाभाविक आकांक्षा र क्षमता पनि थियो।
ती आकांक्षा व्यवस्थापन नगरी पार्टी एकता सम्भव थिएन। पार्टी एकतामा सैद्धान्तिक तथा सांगठनिक प्रश्नहरु पनि थिए। सबैभन्दा पेचिलो प्रश्न भने दुई नेताको व्यवस्थापनै थियो।
ओली र दाहालले नेतृत्वको विषयमा दुवै नेतालाई 'विन-विन' हुने गरी हल खोजेका छन्, जसले पार्टी एकता सम्भव बनाएको छ।
यो एकता सूत्रअनुसार एमाले अध्यक्ष अोलीले अब आउने पाँच वर्ष एकीकृत कम्युनिस्ट पार्टीको सरकार नेतृत्व गर्नेछन्। माओवादी अध्यक्ष दाहालले मंगलवार चितवन पुगेर आगामी पाँच वर्ष ओली नै प्रधानमन्त्री रहने सार्वजनिक अभिव्यक्ति दिएको यही सूत्रमा टेकेर हो।
एकीकृत पार्टीको एकता महाधिवेशन अझै कम्तिमा डेढ वर्ष हुने छैन। यो डेढ वर्ष दुवै जना पार्टी अध्यक्ष रहने छन्। त्यो बेलासम्म पार्टी अध्यक्षका रुपमा ओलीको पाँचवर्षे कार्यकाल पूरा हुनेछ।
ओलीको कार्यकाल पूरा भएपछि पार्टीको एकता महाधिवेशन सम्पन्न हुनेछ। उक्त महाधिवेशनमा चुनाव हुने छैन। यसबारे दुवै शीर्षनेताबीच सहमति भैसकेको छ। दुवै पार्टीका मुख्य नेतालाई यसको जानकारी छ। एकता महाधिवेशन चुनाव नगरी सहमतिमा हुने कुरा सोमबार दुई पार्टीबीच सम्पन्न सातबुँदे सम्झौताले प्रस्टसँग संकेत गरेको छ।
सहमतिको सात नम्बर बुँदामा भनिएको छ, ‘आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा समझदारीका साथ भव्य रुपमा सम्पन्न गरिनेछ।’
विनाचुनाव समझदारीमा गरिने महाधिवेशनमा पार्टी अध्यक्ष बनाउने बचन ओलीले दाहाललाई दिएका छन्। एकीकृत पार्टीमा ओली र दाहालको संयुक्त रुपमा ठूलो बहुमत रहनेछ। कसैले चाहेर पनि दाहाललाई पार्टी अध्यक्ष बन्न रोक्न सक्ने छैन।
अध्यक्ष बनेपछि दाहालले ओलीको पाँचवर्षे कार्यकाल पूरा नहुन्जेल प्रधानमन्त्रीमा दाबी गर्ने छैनन्।
दाहाल पार्टी अध्यक्ष भएको लगभग तीन वर्षपछि प्रधानमन्त्रीका रुपमा अोलीको पाँचवर्षे कार्यकाल पूरा हुनेछ। त्यसपछि हुने आमनिर्वाचनपछि सम्भवत: ओलीले फेरि प्रधानमन्त्री दाबी गर्ने छैनन्।
त्यो आमनिर्वाचन पार्टीले जित्यो भने दाहालका लागि फेरि प्रधानमन्त्री बन्ने बाटो खुल्नेछ। पचास प्रतिशत लोकप्रिय मत प्राप्त दुई पार्टी मिलेर बनेको भीमकाय वाम पार्टीलाई एक कार्यकालपछि नै हराउन प्रतिपक्षलाई सजिलो हुने छैन। यसले फेरि प्रधानमन्त्री बन्ने दाहालको सम्भावना कायमै छ। उनले पार्टीमा आफ्ना उत्तराधिकारीसँग आफू प्रधानमन्त्री बन्ने र दुई वर्षपछि पार्टी अध्यक्ष पद छाड्ने ‘नेगोसिएसन’ गर्न सक्नेछन्।
यसरी ओली र दाहालले आ-आफ्ना लागि पाँच-पाँच वर्ष पार्टी अध्यक्ष र प्रधानमन्त्री पद लगभग सुरक्षित गरेका छन्। दुवै नेताका लागि आफ्नो राजनीतिक जीवनको उत्कर्षमा यो सानो उपलब्धि र सन्तोषको विषय हैन।
पाँच वर्ष एमाले र एकीकृत कम्युनिस्ट पार्टी हाँकेको, पाँच वर्ष बलियो बहुमत सरकार नेतृत्व गरेको, दुइटा कम्युनिस्ट पार्टीलाई एक बनाएर मुलुकमा बलियो वाम पार्टी स्थापना गरेको, नाकाबन्दी बेला भारतसँग नझुकी दुवै छिमेकीसँग सम्मानजनक सम्बन्ध बनाएकोजस्ता जस लिएर ओलीले आफ्नो राजनीतिक जीवनको बिट मार्दा उनी नेपालका उम्दा राजनीतिज्ञमध्ये स्थापित हुनेछन्। उनले एउटा लोभलाग्दो राजनीतिक लिगेसी छाडेर जानेछन्।
अर्कातिर दाहालको उपलब्धि पनि सानो हुने छैन। सानो समूहबाट वाम राजनीति सुरु गरेका उनले सशस्त्र र शान्तिपूर्ण दुवै राजनीतिमा आफ्नो सफलता स्थापित गर्नेछन्।
केही महिनाअघि स्थानीय निकायको निर्वाचन सुरु हुन्जेल कसले ठानेको थियो— उनी केही वर्षपछि इतिहासकै सबभन्दा ठूलो वाम पार्टीका अध्यक्ष बन्नेछन्। स्वयं एमालेको त्यो बेलाको नारा थियो, ‘स्थानीय चुनावमा कांग्रेस हाफ, माओवादी पत्तासाफ।’
माओवादी मात्र हैन, अब एमाले पनि ‘पत्तासाफ’ हुने भयो, र त्यसको ठाउँमा अाउने शक्तिशाली एकीकृत वाम पार्टीका अध्यक्ष दाहाल हुने भए।
सानो कौशल, सानो क्षमता र सानो सपनाले दाहाललाई एक सफल राजनीतिज्ञका रुपमा स्थापित गर्न लागेको हैन। उनको राजनीतिक लिगेसीबारे मत बाझ्लान्, तर दुई पार्टी एकता र त्यो एकीकृत पार्टी अध्यक्ष चयनसँगै उनको राजनीतिक क्षमता र सफलताले धेरैलाई लोभ्याउने छ।
आफ्नो राजनीतिक जीवनको उत्कर्षमा जसरी ओली र दाहालले आ-आफ्नो नेतृत्व र भूमिका स्थापित गर्ने सूत्र फेला पारे, त्यसैले एमाले र माओवादी एकता सहज र सम्भव तुल्यायो।