नेकपा एमाले र माओवादी केन्द्र मिलेर अब एउटै कम्युनिस्ट पार्टी बनाउने भएका छन्। एकीकृत पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखिने छ।
प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार राति ११ बजेसम्म चलेको एकता संयोजन समिति बैठकले यस्तो निर्णय गरेको हो। दुवै दलका अध्यक्षसहित आठ जनाले पार्टी एकता गर्ने सातबुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका छन्।
सहमतिअनुसार एकीकृत पार्टीको निर्देशक सिद्धान्त 'मार्क्सवाद र लेनिनवाद' रहनेछ।
'एमालेले अपनाउँदै आएको जनताको बहुदलीय जनवादअन्तर्गत अवलम्बन गरेको शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायत मान्यता र शान्ति सम्झौता र त्यसपछिका लोकतान्त्रिक अभ्यासद्वारा नेकपा माओवादी केन्द्रको पनि उक्त शान्तिपूर्ण बहुदलीय प्रतिस्पर्धामार्फत् आफ्नो श्रेष्ठता स्थापित गर्ने लगायत मान्यतामा समान धारणा रहेको कुरा स्पष्ट भएको छ,' सहमतिपत्रमा उल्लेख छ।
एमालेले अवलम्बन गर्दै आएको जनताको बहदुलीय जनवाद र माओवादी केन्द्रले अवलम्बन गरिआएको माओवाद तथा एक्काइसौं शताब्दीमा जनवादसम्बन्धी विषयमा छलफल गरी आवश्यक परिमार्जन र विकास गर्न सकिने सहमतिपत्रमा छ।
यही आधारमा अन्तरिम राजनीतिक प्रतिवेदन एवं अन्तरिम विधान तयार पारी सोहीअनुसार एकीकृत पार्टी सञ्चालन गरिने भनिएको छ।
'प्राप्त उपलब्धिको रक्षा र विकास गर्दै राष्ट्रियता, लोकतन्त्र र सामाजिक न्याय सुदृढ गर्दै सामाजिक, आर्थिक रुपान्तरणमार्फत् समाजवादका आधार निर्माण गरिनेछ,' सहमतिपत्रमा भनिएको छ, 'आगामी पार्टी महाधिवेशनलाई एकता महाधिवेशनका रूपमा समझदारीका साथ भव्य रूपमा सम्पन्न गरिनेछ।'
[caption id="attachment_134417" align="alignnone" width="1200"]
पार्टी एकता बैठकमा भएको सहमतिबारे जानकारी दिँदै माओवादी नेता नारायणकाजी श्रेष्ठ। तस्बिर: नारायण महर्जन/सेतोपाटी[/caption]
एकता संयोजन समिति बैठकले जारी गरेको सातबुँदे सहमतिपत्रमा पार्टी नेतृत्व, सरकारमा सहभागिता, राष्ट्रपति, सभामुख लगायत पद बाँडफाँटका विषय उल्लेख छैन। महाधिवेशनको मिति पनि तोकिएको छैन।
महाधिवेशन नभएसम्म संगठन र नेतृत्वका विषयमा पनि सहमतिपत्र मौन छ।
एमाले महासचिव ईश्वर पोखरेलले बैठकमा भएको सहमति लिखित रुपमा दिएकाले यसबाहेक थप कुरा नभएको बताएका छन्।
सहमतिपत्रमा एमाले तर्फबाट केपी ओली, झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम, ईश्वर पोखरेलले हस्तक्षार गरेका छन् भने माओवादी तर्फबाट पुष्पकमल दाहाल, नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा छन्।
शनिबार र आइतबार एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहालबीच भएका छलफलले एकताका मुद्दामा सहमति जुटाएको थियो। दुई पार्टीका नेता सम्मिलित एकता संयोजन समिति बैठकले अध्यक्षहरूबीच भएको सहमतिलाई अन्तिम रूप दिएको हो।
https://youtu.be/NqqX04EY5mk
फागुन २ गते एकता सहमतिपत्रमा हस्ताक्षर गर्ने भनिए पनि अन्तिम समयमा आएर अड्किएको थियो। एकीकृत पार्टीको वैचारिक लाइन जनताको बहुदलीय जनवाद हुनुपर्ने एमाले नेताहरूले अडान राखेपछि एकता प्रक्रिया केही दिन लम्बिएको थियो।
एकता सहमतिपत्रमा जनताको बहुदलीय जनवाद र माओवाद दुवैलाई छलफल गर्दै महाधिवेशनमा लगेर टुंग्याइने उल्लेख छ।
गत असोज १७ गते दुवै पार्टीले चुनावी तालमेलको घोषणा गरेका थिए। एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष दाहालबीच लगातार सात दिन कुराकानी भएपछि दुई नेताबीच प्रतिनिधि र प्रदेश सभामा चुनावी तालमेल गर्ने र चुनावपछि पार्टी एकता गर्ने सहमति दसैंअघि नै जुटेको थियो। मिलेर चुनाव लडेका दुवै पार्टीले प्रतिनिधि र राष्ट्रिय सभामा बहुमत ल्याएका छन्। माओवादी समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री भएका छन्।
सातमध्ये ६ प्रदेशमा पनि वाम गठबन्धनको बहुमत आएको छ। दुई दलले ६ प्रदेशका मुख्यमन्त्री र सभामुख/उपसभामुख पनि भागबन्डा गरेका छन्।
यस्तो छ सातबुँदे सहमति:यो पनि हेर्नुहोस्- एकता सहमतिपछि दाहालले भने- आगामी बैठकदेखि नै आलोपालो अध्यक्ष