सरकार सञ्चालनका लागि २३९ कर्मचारी आउन बाँकी

प्रदेश नं. ६ को राजधानी सुर्खेतमा रहेको मुख्यमन्त्रीको कार्यालय। तस्बिरः सेतोपाटी


 

प्रदेश नं. ६ को सरकार सञ्चालनका लागि दरबन्दी स्वीकृत भएका २८७ कर्मचारीमध्ये अस्थायी राजधानी सुर्खेतमा ३५ जना कर्मचारी मात्र हाजिर भएका छन्।

मुख्य मन्त्रीको कार्यालयका अधिकृत हेम रानाका अनुसार सोमबारसम्म ३५ जना कर्मचारी हाजिर भएका छन्। यस्तै मंगलबारसम्म १३ जना कर्मचारी वीरेन्द्रनगर आइपुगेको जानकारी पाएको उनले बताए।

प्रदेश नं. ६ को प्रदेशसभाको दोस्रो बैठक सम्पन्न हुनुका साथै सभामुखको समेत चयन भइसकेको छ। सरकार गठनको औपचारिक शुरुवात भैसकेको अवस्थामा पनि दबरबन्दी अनुसारका अझ २३९ कर्मचारी अस्थायी राजधानी सुर्खेतमा आइपुगेका छैनन्। कर्मचारी आउने क्रम भने जारी रहेको अधिकृत रानाले बताए ।

प्रदेशमा रहने सात मन्त्रालयमध्ये मुख्य मन्त्रीको कार्यालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, सामाजिक विकास मन्त्रालय, उद्योग पर्यटन/वन तथा वातावरण मन्त्रालय, भूमी व्यवस्था/कृषि तथा सहकारी मन्त्रालयका अधिकांश कर्मचारी आइपुगेका छैनन्।

आन्तरिक मामिला तथा कानून मन्त्रालय र भौतिक पूर्वाधार तथा विकास मन्त्रालयका भने सबै कर्मचारी आइपुगेको मूख्य मन्त्रीको कार्यालयमा काजमा रहेका अधिकृत केशव उपाध्यायले बताए।

मुख्य मन्त्रीको कार्यालयमा केन्द्रबाट तोकिएका सबै कर्मचारी नआएकाले सुर्खेतमा रहेका साविकका क्षेत्रीय कार्यालयबाट कर्मचारी मगाएर काम भैरहेको अधिकृत उपाध्यायले बताए।

प्रदेश नं. ६ मा मुख्य मन्त्रीको कार्यालयबाहेक अन्य कार्यालय स्थापना नभएकाले कर्मचारीको अभाव भने महसुस नभएको मूख्य मन्त्रीको कार्यालयका सचिव यज्ञराज बोहराले बताए।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.