ट्विटरमा घातक बहस


मलाई लाग्छ धेरैले यो अनुभूति गर्न थालेका छन् कि सोसल मिडिया मुर्खता पुनर्उत्पादनको माध्यम भइरहेको छ। यहाँ हुने टिप्पणी, प्रतिटिप्पणीले अभिव्यक्ति स्वतन्त्रतालाई बल पुर्‍याउने होइन, बरु अभिव्यक्ति स्वतन्त्रताको मर्मलाई नै प्रदुषित बनाउँदैछन्। यो लेख सोसल मिडियाको सीमितता वा नकारात्मक प्रभावलाई व्याख्या गर्ने प्रयास हो।

अमेरिकी पूर्वराष्ट्रपति बराक ओबामाले सोसल मिडियाबारे बिबिसीको अन्तर्वार्तामा भनेका छन्-इन्टरनेटमा सबै कुराको सामान्यीकरण हुन्छ। तर जब तपाईं मान्छेहरूसँग अामनेसामने भेट्नु हुन्छ उनीहरूलाई जटिल पाउनुहुन्छ।

त्यही अन्तर्वार्तामा उनले भनेका छन्— सोसल मिडियाले मानिसमा भइरहेको गलत धारणालाई थप मजबुत बनाउने खतरा छ। यसले जटिल सामाजिक-राजनीतिक मुद्दाहरूप्रति सतही दृष्टिकोणलाई व्यापक बनाउँछ। त्यसैले सोसल मिडियाको प्रयोगमा चनाखो हुन आवश्यक छ।

हाम्रोमा अहिले सोसल मिडियामा चलिरहेको बलात्कार र रिङ्गरोड विषयको छलफललाई हेरेर ओबामाको धारणा धेरै हदसम्म सही रहेको ठम्याउन सकिन्छ ।

यसका लागि पहिले बलात्कारको विषयमा हिजोआज सोसल मिडियामा भइरहेका बहसलाई हेरौं।

यो हप्ता बलात्कार र स्वीकृतिमा हुने शारीरिक सम्पर्कका विषयमा ट्विटरमा प्रशस्त वादविवाद चल्यो। यस सन्दर्भमा बलात्कार निन्दनीय अपराध हो र सहमतिमा हुने शारीरिक सम्बन्ध महिला अधिकारको विषय हो भन्ने पक्षमा धेरै प्रयोगकर्ताले आफ्नो स्पष्ट मत राखे।

तर केहीले बलात्कारका घटना हुनुमा पीडितको पनि जिम्मेवारी हुन्छ भनेर टिप्पणी गरे। उनीहरूले हाल चर्चामा आइरहेका बलात्कारका घटना केलाउँदै केटाहरूसँग नजिक भएका पीडितहरूले पीडकलाई बलात्कारको आरोप लगाएर ‘कमाउन खोजेको’ भनेर ठोकुवा गरिदिए। यो टिप्पणीमा उनीहरूलाई पछ्याउने अन्य प्रयोगकर्ताले कमेन्ट, लाइक र रिट्विटबाट समर्थन पनि जनाए।

बलात्कारको मुद्दामा पीडितको दोष देख्ने घृणित र आपत्तिजनक विचारका लागि सभ्य समाजमा कुनै स्थान हुन्न। यदि प्रत्यक्ष भेटघाट वा छलफल हुन्थ्यो भने मानिसले खूलेआम यसो भन्ने साहस गर्थेनन्। सोसल मिडियाले एउटा गम्भीर सामाजिक मुद्दाप्रति सामान्य बौद्धिक चेत नभएका केही मानिसलाई आफ्नो घृणित विचार हजारौँ मानिससम्म पुर्‍याउन सजिलो बनाइदिएको छ। किनकी उनीहरूले आफ्नो विचारका लागि जवाफदेही हुनु पर्दैन।

बलात्कारमा पीडितको दोष हुन्छ भन्नेहरू सामान्य मानिसमात्र थिएनन्। तीमध्ये केही पढेलेखेका र सम्मानित पेशामा आवद्ध पनि थिए। ट्विटरमा तिनका हजारौं फ्लोअर थिए।

ट्विटरमा बलात्कारका विषयमा भएको यो बहसले बलात्कारलाई निन्दनीय अपराध भन्ठान्नेहरूको विचारसँगसँगै बलात्कारमा पीडितको पनि दोष हुन्छ भन्ने विचारलाई पनि स्थापित गर्‍यो। एउटा लज्जाजनक र घृणित सोच वैकल्पिक विचारका रूपमा सहजै स्थापित भयो।

मलाई लाग्दैन यो बहसपछि बलात्कारमा पीडितको दोष हुन्छ भन्ठान्नेहरूले आफ्नो विचार परिवर्तन गरेका छन्। बरु उनीहरूको यो दृष्टिकोण झनै धेरै मानिससम्म पुग्यो र अरूले यही दृष्टिकोण बनाएको हुनसक्छ। ट्विटरको वादविवादबाट बलात्कार ‘पीडित उत्ताउलो भएर हुने सामान्य घटना’का रूपमा बुझ्नेहरूले थप समर्थक पाए र उनीहरूको वैचारिक सञ्जालको जन्म भयो।

बलात्कार निन्दनीय अपराध हो र यसमा पीडितलाई जिम्मेवार बनाउनु हुन्न भन्ने कुरा स्थापित सत्य हो। यसमा बहस, छलफल आवश्यक छैन। तर, सोसल मिडियामा यसमा वादविवाद भयो। बलात्कार अपराध हो भन्ठान्नेहरूले आफ्नो विचारको प्रतिरक्षा गर्नुपर्‍यो।

दोस्रो विषय, चिनियाँ सरकारको सहयोगमा बनिरहेको चक्रपथ सडक निर्माणको बहसलाई हेरौं।

शहर सिमेन्ट र अलकत्राले बन्ने भौतिक संरचनामात्र होइन। शहरका पूर्वाधारमा त्यहाँ बस्ने मानिसका ऐतिहासिकता र पहिचान  गाँसिएका हुन्छन्। त्यसैले शहर र यसमा बन्ने पूर्वाधारका विषयमा शहरवासीको स्वभाविक चासो हुन्छ, र हुनुपर्छ। शहरवासीको आवश्यकता र अपेक्षासँग गाँसिन नसक्ने भौतिक संरचनाको कुनै अर्थ रहन्न।

त्यसैले शहरका पूर्वाधारमा शहरवासीको अपेक्षा पनि समेटिनुपर्छ। शहरको पूर्वाधार कस्तो बनाउने भन्ने कुरा प्राविधिक इन्जिनियर र ठेक्का लगाउने हाकिमसाहेबहरूले बन्द कोठामा बसेर गर्ने निर्णय होइन। संसारका सबै सभ्य र विकसित मुलुकमा शहरी पूर्वाधार र त्यसमा हुने लगानी र निर्माण गर्ने प्रक्रिया आदि व्यापक छलफल र परामर्शको विषय बन्ने गर्छन्।

तर, यो चलन नेपालमा छैन। चक्रपथ बन्न सुरु गर्दा यसको डिजाइनका विषयमा छलफल र परामर्श हुन पाएन। इन्जिनियर र हाकिमसाहेबहरूले डिजाइन लुकाए। शहरवासीले आफ्नो ठाउँमा कस्तो संरचना बन्न गइरहेको छ थाहै पाएनन्।

केही हप्तादेखि नयाँ बनिरहेको चक्रपथ र शहरवासीका अपेक्षा र आवश्यकताका विषयमा मिडियामा जानकारीमूलक लेखहरू आइरहेका छन्। ती लेखहरूले अहिले बनिरहेको चक्रपथ र तिनको उपयोग गर्ने मानिसका आवश्यकता र अपेक्षाबीचको दुरी देख्न र बुझ्न सघाएका छन्। यो विषयमा गहिरो जानकारी राख्ने विज्ञ र सर्वसाधारणले अहिले बनिसकेको सडकको रूपरेखा हेरेर गलत काम भएको र त्यसलाई सुधार्नु पर्ने विचार राखिरहेका छन्। सुधारका उपाय बताइरहेका छन्।

तर, सोसल मिडियामा भइरहेको बहस भने कत्ति पनि उपयोगी छैन। एकैछिन यसको चर्चा गरौं।

मिडियामा चक्रपथको बाटोका विषयमा बहस भइरहँदा ट्विटरमा खाता हुने कसैलाई झट्ट लाग्यो-सडकको डिजाइन इन्जिनियरले बनाउने कुरा हो। यो सामान्य मानिसको सरोकारको विषय होइन। चक्रपथको डिजाइनका बारेमा टिकाटिप्पणी गर्नेहरूले बेकारमा किचकिच गरिरहेका छन्। तिनीहरू विकासविरोधी हुन्।

उसले आफ्ना हजारौं फलोअरलाई लक्ष्य गरेर ट्विट फ्याँक्यो –’नबनाउँदा पनि किचकिच बनाउँदा पनि किचकिच!’

कुनै मानिसलाई झट्ट उठेको रिस वा उसको बिल्कुलै सतही बुझाइ एउटा धारका रूपमा सोसल मिडियामा स्थापित भयो। यो विषयमा धेरैबेर सोच्न नपाएका मानिसहरूले भने होलान् – हो त नि! यो बेकारको किचकिच हो। सोसल मिडियाको खतरनाक पक्ष यही हो। यसले हरेक मानिसलाई सबै विषयमा अभिमत राख्न उत्प्रेरणा दिन्छ। र, सरासर गलत कुरालाई ‘एउटा फरक विचार’ का रूपमा स्थापित गरिदिन्छ।

विषयवस्तुलाई व्यापक ढङ्गले बुझ्ने सामर्थ्य, समय र स्रोत नहुनेहरूले गन्नेमान्नेहरूबाट आएका विचारमा शंका गर्दैनन्। बरु, यसका आधारमा आफ्नो मत बनाउँछन्। आफूले गनेमानेको मानिस सबै कुरामा पोख्त हुँदैन, उसका सबै धारणा सही नहुन सक्छन् भनेर सोच्ने प्रवृत्ति कम हुन्छ। सोसल मिडिया लोकप्रिय हुने र यसको प्रयोग व्यापक हुने पनि यस्तै बुझाइबाट हो।

माथिको सन्दर्भ काल्पनिक उदाहरणमात्र होइन। ट्विटरको प्रयोग गरेर केही मानिस ‘चक्रपथ गाडी गुड्ने ठाउँ हो, यसलाई पैदलयात्री वा वातावरण अनुकुल बनाउन आवश्यक छैन’ भन्ने धारणा स्थापित गर्नतिर लागेका छन्। उनीहरूको विचारमा यसको डिजाइनमा छलफल गर्नु र सुधारको प्रयास गर्नु १०० वर्षअघिको अवस्थामा फर्कन खोज्नु हो। गाडीमा होइन, घोडा वा बग्गीमा चढेर हिँड्छु भनेर किचकिच गर्नु हो!

कुनै मानिसको पूर्वाग्रह र सतहीपन सोसल मिडियामा फरक विचारको रूपमा स्थापित हुँदा बहसलाई फाइदा हुदैन। यो सन्दर्भमा पनि चक्रपथलाई सुरक्षित, वातावरणीय दृष्टिले प्रभावकारी, सुन्दर र सर्वसाधारणका लागि उपयोगी बनाउन चाहनेहरूका लागि संघर्ष झन् जटिल भएको छ–जसरी बलात्कारलाई निन्दनीय अपराध ठान्नेहरूले आफ्नो विचारको प्रतिरोध गर्नु परिरहेको छ।

यी दुई उदाहरणले देखाउँछन्–गम्भीर र जटिल मुद्दाहरूलाई सोसल मिडियामा बहसको विषय बनाउँदा यसबाट चेतना बढ्दैन, भ्रणको विस्तार हुन्छ। भ्रम मजबुत हुन्छ।

जटिल मुद्दाहरूमा धारणा बनाउनका लागि प्रत्यक्ष भेटेर गरिने छलफल नै प्रभावकारी हुन्छन् । प्रत्यक्षरूपमा कुरा गर्दा मानिसलाई आफ्नो क्षमता र सीमितताको बारेमा ज्ञान हुन्छ। जिम्मेवारीको बोध हुन्छ। पूर्वाग्रह कम हुन्छ। छलफलले गहनता र गहिराइ पाउँछ।

प्रत्यक्ष भेटेर गरिने छलफल र अन्तक्रियालाई सोसल मिडियाले विस्थापित गरिरहेको छ। सोसल मिडियाका प्रयोगकर्ताले पनि आफ्नो प्रयोग र यसलाई दिने समयका बारेमा पुनर्विचार गर्नुपर्ने आवश्यकता छ।

मैले ट्विटरमा ताला लगाउनु र सोसल मिडिया प्रयोगलाई न्यून राख्नुका कारण पनि यही हो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.