उनी सायद राजनीतिको रेखा बुझ्दैनन् वा राजनीतिलाई अरुले भन्दा धेरै बुझ्छन्।
त्यसैले उनका अभिव्यक्ति अक्सर अरू राजनीतिज्ञका भन्दा अलग हुन्छन्। उनी अर्थात् माओवादी नेता नारायणकाजी श्रेष्ठ।
माओवादी सरकार हुँदा आफ्नै पार्टीका सांसदहरूले तत्कालीन प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गराएको प्रति उनले विरोध गरे। पार्टी बैठकमा मात्र होइन ट्विटरमै लेखे– यो गलत हो, गलत समयमा भएको छ र प्रत्युत्पादक पनि। यो फिर्ता लिनुपर्छ।
अध्यक्ष प्रचण्डले पुत्री रेणु दाहाललाई भतरपुरको मेयरमा विजयी बनाउन माओवादीकै कार्यकर्ताले मतपत्र च्यातेर राजनीतिको बाङ्गो बाटो समात्दा श्रेष्ठ सिधा विरोधमा उत्रिए। ट्विटरमा उनले लेखे – भरतपुरमा मतपत्र च्यातिएको घटना साह्रै दु:खद छ। भत्सर्नायोग्य छ। यथार्थ के हो? यो किन र कोबाट भयो? भिन्न कुरा आइरहेका छन्। यसरी लोकतन्त्र चल्दैन।'
गत शुक्रबार भारतीय विदेश मन्त्री सुष्मा स्वराजलाई भेट्न नेकपा माओवादी अध्यक्ष प्रचण्ड एक्लै सोल्टी होटल पुगे। प्रचण्ड र स्वराज वार्ता हुँदै गर्दा श्रेष्ठले ट्विट गरे - सामान्यतया सुष्मा स्वराजको नेपाल भ्रमणको समय राजनीतिक र कुटनीतिक रूपमा उचित होइन। तर जे भए पनि हामी उनलाई स्वागत गर्छौं र उनको भ्रमण उपलब्धिपूर्ण बनाउन कोशिश गर्छौं। तर मैले भन्नैपर्छ हामीले हाम्रो आत्मसम्मान र राष्ट्रिय स्वार्थ ख्याल राख्नुपर्छ।’
यही प्रसंगमा शनिबार उनले थपे— अधिकांश नेपाली नेताहरू कुटनैतिक आचारसंहिता उल्लङ्घनमा 'प्रतिवद्ध' देखिएका छन्। ध्यान नपुगेर होइन। किन त? हीनग्रन्थी र निहित राजनैतिक स्वार्थ? दु:ख र ग्लानीको अनुभुति हुन्छ, ठूला छिमेकीहरू उपनिवेश बन्दासमेत पुर्खाहरूले स्वतन्त्र बनाइराखेको हाम्रो देशको स्वभिमान आज गिराइदैँछ।
उनले सस्तो लोकप्रियताका लागि मात्र सामजिक सञ्जालमा लेखेका वा सार्वजनिक रूपमा बोलेका हैनन् भन्ने सत्तामा हुँदा उनले गरेका काम र व्यवहारले पुष्टी गरेका छन्।
परराष्ट्र मन्त्री भएका बेला श्रेष्ठले विदेशीहरूसँग नेपाली राजनीतिज्ञको भेटवार्तामा परराष्ट्रका अधिकृतको अनिवार्य सहभागिताको पहल गरे। भारतीय राजदूतावासले विराटनगरमा अनाधिकृत रूपमा कायम राखेको सम्पर्क कार्यलय फिर्ता गर्न पत्राचार गरे।
स्थानीय विकास मन्त्री हुँदा भारतीय राजदूतावासले साना अनुदान कार्यक्रम अन्तर्गत पाँच करोड रुपैयाँसम्म आफैं खर्च गर्न पाउने व्यवस्था खारेज गर्न अर्थ मन्त्रालयलाई पत्राचार गरे।
सर्वपक्षीय राजनीतिक भेलामा यो मुद्दा राखे, सर्वसम्मति जुटाउन प्रयास गरे।
मुलुकको आत्मसम्मान खस्कने गरी राजनीतिक नेता वा सत्तामा बस्नेले व्यवहार गर्नुहुन्न भन्ने अावाज निरन्तर उठाउनेमा नारायणकाजी एक्ला वृहस्पति नै हुन्।
उनले विदेशीसँग नेताहरूले गर्ने व्यवहार मात्र होइन, आन्तरिक राजनीतिक विषयमा पनि धेरै पटक अाममानिसको विवेकले बोल्ने भाषा बोलेका छन्। सार्वजनिक रूपमा आफ्नै पार्टीको लाइनविरुद्ध नारायाणकाजीले जति अरु कुनै पार्टीका नेताले बोलेका छैनन्।
राजनीतिक पार्टी र नेताहरूका आचारण शुद्दीकरणका लागि उनले प्राय: आवाज उठाउने गरेका छन्। राजनीतिलाई सिधा र सरल रेखामा हिँडाउने चाहना राख्छन्, श्रेष्ठ।
राजनीतिलाई पनि व्यापार, जागिर वा खेती बनाउने मान्छे देखेर उनलाई टिठ लागेको छ। राजनीतिमा झण्डै ४४ वर्ष बिताइसकेका श्रेष्ठलाई यतिबेला राजनीतिक जीवनले के भयो भनेर च्वास्स घोच्न थालेको छ।
'बेलाबेला त लौ परिवर्तनका लागि जे जति सकियो गरियो। अब गर्न सकिएन भनेर राजनीति नै छोडौंजस्तो लाग्छ', श्रेष्ठलाई जारी नेपालको राजनीतिले हौसला दिएको छैन।
नेताहरूबीचका कुराकानीमा भ्रष्टाचार अन्त्य, विकास र समृद्धिका कुरा हुने अनि काम नहुने देख्दा उनी समकालीन राजनीतिज्ञबाट समेत निराश छन्। विदेशी मुलुकसँग आत्मसम्मानसाथ नेताहरू प्रस्तुत नहुँदा उनलाई त्यसले सधैं घोच्ने गरेको छ।
उनी सिधा बोल्छन्।
'सत्ता प्राप्तिका लागि जे पनि गर्ने र राजनीतिलाई आफ्नो पेशा वा धन्दा बनाउने यी दुई कुरासँग म सहमत हुन्न। राजनीतिमा घुमाउरो कुरा गर्नुपर्छ। सधैँ सत्य बोलेर कहाँ हुन्छ, सधैँ ठीक बोलेर मात्र के हुन्छ भन्ने कुरासँग म सहमत छैन। म जे लेख्छु सामाजिक सञ्जालमा वा जे विचार व्यक्त गर्छु त्यो सिधासिधा नै छ,' उनले भने।
पार्टीकै नेता र कार्यकर्ताले पनि कतिपय सन्दर्भमा श्रेष्ठले राखेको विचार र समयप्रति असन्तुष्टि जनाउँछन्। पार्टी मान्यताविरुद्ध गएको आरोप लगाउँछन्।
श्रेष्ठसँग त्यसको पनि जवाफ छ।
'पार्टीको आम नीति एउटा तर नेता वा कमिटीले अरू ढंगले निर्णय वा व्यवहार गर्छ भने त्यसको पक्षमा बसिरहनु पर्छ भन्ने छैन,' श्रेष्ठले भने, 'छलफल भएको विषयमा पार्टीको निर्णयविरुद्धमा जान्नँ। तर पार्टीमा विधिसंगत निर्णय नभएको भए पनि पार्टीकै निर्णयको रूपमा केही विषय गइसकेको अवस्थामा गलत निर्णयविरुद्ध म बोल्छु, विचार राख्छु।'
उनको विवेकको आवाज उनकै पार्टीले भने धेरै पटक लत्याएको छ।
श्रेष्ठले नेकपा माओवादी केन्द्रको बैठकमा पहिलो संविधानसभा विघटन गर्न हुदैँन भन्ने विचार राखेका थिए। यो कुरा उनको पार्टीले मानेन।
'मैले बालुवाटारमा त्यतिबेला हाम्रो पार्टी अहिले कांग्रेस र एमाले जोड्दाभन्दा ठूलो छ। हाम्रो एजेन्डासहित संविधान घोषणा हुनेवाला छ। विघटन गम्भीर भूल हुन्छ भनें। अध्यक्ष प्रचण्डले कमरेड प्रकाशको कुरा गम्भीर छ सोचौं है, बाबुरामजी भन्नुभयो। हामी फसेको त होइन नि भन्नुभयो', श्रेष्ठले भने, 'तर प्रधानमन्त्री बाबुराम भट्टराई एक शब्द बोल्नुभएन।
पछि प्रचण्ड र भट्टराईकै सहमतिमा संविधानसभा विघटन भयो।
बरू दोश्रो संविधानसभामा पार्टीको आकार खुम्चिएपछि पहिलो संविधानसभा विघटन गल्ती भएको आत्मआलोचना माओवादीले गर्यो। पार्टीको हारपछि मात्र श्रेष्ठले भनेको कुराको जीत भयो।
तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मी नेतृत्वमा सरकार बनाउनु गल्ती हुन्छ बन्ने उनको तर्क पनि सुनिएन। तर माओवादीले पछि गल्ती भएको भन्दै आत्मआलोचना गर्यो।
'तत्काल अल्पमतमा पर्छु कि पर्दिनँ भनेर सत्य र ठीकको पक्षमा उभिने कि नउभिने भन्ने कुरा निर्धारण गर्नुहुन्न। सत्य र ठीकको विषयमा आफू उभिनुपर्छ। कहिले अप्ठेरो पनि बेहोर्नुपर्छ,’ श्रेष्ठले भने।
उनले उदाहरण दिए- बुद्ध धेरै षड्यन्त्रबाट घेरिए। संघमा भएका भाइभतिजाले हत्याको षड्यन्त्र गरे। सँगै हिँडेका साथीले ढोंगी भनेर सत्तो सराप गरे। तर समाज भने सत्यको वरिपरि बुद्धको वरिपरि आकर्षित भैराखेकै छ।
आफूले उठाएका कुरा सधैं सही नै हुन्छन् भन्नेमा पनि श्रेष्ठ सचेत छन्।
एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला माओवादी केन्द्रले अविश्वासको प्रस्ताव ल्याउँदा श्रेष्ठ विपक्षमा थिए। त्यो ‘कोर्स'मा नजान उनले पार्टीलाई सुझाइरहे। प्रचण्डले उनले भनेको मानेनन्। प्रचण्डले जोखिम मोलेको श्रेष्ठको भनाइ थियो।
'तर जुन जोखिम मैले भनेको थिएँ त्यसबाट प्रचण्डले आफू, पार्टी, आन्दोलन र देशलाई पनि बचाउनुभयो, मधेसलाई पनि चुनावमा लगेर सन्तुलनको परराष्ट्र नीति लागु गर्नुभयो', श्रेष्ठ भन्छन्, 'सधैँ मेरो विश्लेषण सही हुन्नन्।’
त्यस्तो बेलामा आफूले आत्मआलोचना गर्ने गरेको उनी बताउँछन्।
पार्टी अध्यक्षसहित नेता र कार्यकर्ता एकातिर हुँदा पनि माओवादी केन्द्रमा एक्लै विचार राख्ने चेत र आँट उनलाई कसरी आउँछ?
'मेरो चेत आलोचनात्मक हो,’ उनी भन्छन्, ‘पार्टीका लागि अन्धभक्ति गलत हो। म त्यही मान्यतामा चल्छु।’
नारायणकाजीको राजनीतिक जीवन र तुलनात्मक रूपमा शुद्द राजनीतिक आचरणमा उनको एक्लो जीवनले पनि सघाएको मान्ने धेरै छन्।
'मार्क्सले सामाजिक जीवनमा सम्पूर्ण रूपमा लाग्नु पर्ने मान्छेले विवाह र बच्चा जन्माउने काम किन गरेँ, यस्तो कसैले नगरोस् भन्नुभएको छ ', श्रेष्ठले भने, 'विवाह नगर्नाले पनि सायद अलिक सहज भएको होला।’
उनलाई मार्क्सको भनाइ र भोगाइले आफ्नो 'सवकन्सस माइन्ड’मा बसेर काम गर्यो कि जस्तो लाग्छ।
परिस्थिति पनि त्यस्तै बन्यो। १६ वर्षमै जेल परेका उनको चढ्दो जवानीमा युवतीसँग संगत भएन। ‘विवाह गर्ने बेलामा 'अत’ अर्थात् 'अराजक तत्व’ भैयो, केटीहरू ‘अत’ सँग संगतमा आएनन्,’ श्रेष्ठले भने।
के एक्लो जीवनले राजनीतिक जीवनमा कुनै निर्णय लिन सहजता दिन्छ?
'मेरो परिवार छैन भनेको श्रीमती र श्रीमतीबाट जन्मेको मात्र त हुन्नन नि। मेरा दाइभाइ छन्। भतिजाभतिजी छन्, उनीहरूका पनि चाहना छन्', श्रेष्ठ भन्छन्, 'मैले मन्त्री भएका बेला उनीहरूलाई मन्त्रालय आए 'खुट्टा भाँच्ने' चेतावनी दिएँ। मेरो भतिजो गएर कुनै मन्त्रलायको विभाग वा कोठा चहार्दा कर्हमचारीहरूले प्रभावित भएर निर्णय गर्न सक्छन्, त्यसैले परिवारलाई अलग राख्नुपर्छ।'
नेपालमा सम्बन्धहरूबाट राजनीति र कर्मचारीतन्त्र प्रभावित हुने गरेको उनको अनुभव छ।
'मेरो भतिजो गएर कुनै मन्त्रलायको विभाग वा कोठा चहार्दा कर्हमचारीहरूले प्रभावित भएर निर्णय गर्न सक्छन्, त्यसैले परिवारलाई अलग राख्नुपर्छ,' उनी भन्छन्।
नेपाली राजनीति भने श्रेष्ठको विचारभन्दा भिन्न रेखामा चल्छ।
गिरिजाप्रसाद कोइरालाले छोरी सुजाताका लागि सरकारमा 'स्पेस' बनाइदिए। उपप्रधानमन्त्रीदेखि परराष्ट्र मन्त्रालयसम्मको जिम्मेवारी दिए। माओवादी केन्द्रकै अध्यक्ष प्रचण्डले चुनावी तालेमल गरेर भए पनि छोरी रेणु दाहाललाई चितवनको भरतपुरको मेयर बनाए।
नारायणकाजीले माओवादी पार्टी सरकारमा रहँदा आचारसंहिता बनाएर ‘परिवारवाद’ नियन्त्रण गर्न खोजे। तर सकेनन्।
'छोरा वा भाइभतिजालाई स्वकीय सचिव बनारउने, घरमा उनीहरूले 'डिल' गर्ने र विभागमा भनसुन गर्ने काम भैराखेको छ', श्रेष्ठले भने, 'सरकार सञ्चालन समन्वयको जिम्मा पाउँदा आचारसंहिता बनाएँ। स्वकीय सचिव भाइभतिजा राख्न हुदैँन भनेर निर्णय गराएँ।'
तर श्रेष्ठको कुरा पार्टी अध्यक्ष प्रचण्डलेनै लत्याइदिए। प्रचण्डले छोरा प्रकाश दाहाललाई स्वकीय सचिव राखे।
माओवादी पार्टीमा देखिएको विचलनबारे उनी खुलेरै बोल्छन्।
'माओवादीमा वैचारिक स्खलन छ, भ्रष्टीकरण बढेको छ, जनतासँगको सम्बन्धलाई 'इन्ट्याक्ट' राख्न सकेको छैन, क्रान्तिकारी चरित्रमा स्खलन आएको छ, पद पैसाको पछाडि दौडिने र खुट्टा तान्ने प्रवृत्ति बढेर गएको छ', श्रेष्ठले भने।
सत्ताको वरिपरि घुम्ने वर्गसँग सहकार्य बढेको र जनतासँग साथ छुट्दै गएकोले माओवादी पार्टी पुर्नगठन गर्नुपर्ने अावाज उनले पार्टीभित्र उठाउँदै आएका थिए।
अहिले माओवादी एमालेसँग एकता उन्मुख छ। यो एकता लागि बल गर्ने नेतामध्येमा पर्छन्, नारायणकाजी।
अरु पार्टीमा जस्तै एमालेमा पनि शुद्दीकरण र सुधारको ठूलो आवश्यकता छ।
पार्टी एकतापछि उनको आलोचनात्मक चेत कति तिखारिन्छ वा भुत्ते हुन्छ? उनको आवाज सुनिन्छ वा पहिले जस्तै धेरै लत्याइन्छ? एकीकृत कम्युनिष्ट पार्टीको शुद्दीकरणमा नारायणकाजीको आलोचनात्मक चेत कति प्रभावकारी र उपयोगी हुन्छ? त्यो भने हेर्न बाँकी नै छ।