रानीपोखरी जिर्णोद्वारबारे विज्ञ समूहले बुझायो प्रतिवेदन

रानीपोखरी जिर्णोद्वार विज्ञ समूहका संयोजक विष्णुराज कार्की। तस्बिर: सेतोपाटी


रानीपोखरी जिर्णोद्वारबारे अध्ययन गर्न बनेको विज्ञ समूहले पोखरी र बीचको बालगोपालेश्वर मन्दिरसमेत मल्लकालीन स्वरुप, शैली र निर्माण सामग्री नै प्रयोग गरेर बनाउने सुझावसहितको प्रतिवेदन आइतबार काठमाडौं महानगरपालिकालाई बुझाएको छ।

विज्ञ समूहका संयोजक तथा पुरातत्व विभागका पूर्वमहानिर्देशक विष्णुराज कार्कीले काठमाडौं मेयर विद्यासुन्दर शाक्यलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन्। समूहको सुझावअनुरुप रानीपोखरीलाई मल्लकालीन शैलीमै निर्माण गर्ने जिम्मा अब महानगरपालिकाको हो।

संयोजक कार्कीले यसअघि पुनर्निर्माण क्रममा प्रयोग गरिएको कङ्क्रिट नष्ट गरी पुरानै शैलीमा निर्माण गर्नुपर्ने बताए। ‘रानीपोखरी, वरपर रहेका पर्खाल र बालगोपालेश्वर मन्दिर पनि पुरानै शैलीमा निर्माण गर्न सकिन्छ,’ उनले भने।

काठमाडौं मेयर शाक्यले राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग र कामपा प्रतिनिधि बसेर प्रतिवेदनको अध्ययनपछि कसरी र कहिलेदेखि निर्माणको काम हुन्छ थाहा हुने बताए।

रानीपोखरी प्रवेशमा लिने भनिएको प्रवेश शुल्कबारे विवाद भएको थियो। विज्ञ समूहको प्रारम्भिक प्रतिवेदनमा प्रवेश शुल्क लिने भनिए पनि अन्तिम प्रतिवेदनमा यो प्रावधान हटाइएको छ।

मेयर शाक्यले भने पाटन दरबारक्षेत्र, हनुमानढोका लगायत केही ऐतिहासिक स्थानमा प्रवेश शुल्कमार्फत केही रकम लिने गरिएको बताए। ‘रानीपोखरी प्रवेशमा केही रकम लिनु कुनै नौलो विषय होइन, यसलाई नै व्यावसायिक भन्नु गलत हो,’ उनले भने।

सहभागीले पटक-पटक निर्माणको काम थाल्ने र भत्काउने गर्दा जनताकै पैसा सकिएकाले गलत निर्णय गर्नेप्रति कारबाहीको माग गरे।

रानीपोखरी निर्माण क्रममा विवाद उत्पन्न भएपछि समाधान गर्न यही पुस १३ गते कार्कीको संयोजकत्वमा ११ सदस्यीय विज्ञ समूह गठन गरिएको थियो। पहिलेको निर्णयअनुसार पुस २७ गते नै प्रतिवेदन बुझाउनुपर्ने भए पनि १० दिन थप समय माग गरी समूहले आइतबार प्रतिवेदन बुझाएको हो।

प्रतिवेदन अध्ययनपछि पोखरीको उत्खनन पनि गरिने बताइएको छ।

विसं २०७२ को भूकम्पले विसं १७२७ मा बनेको न्हु पुखु भनिएको रानीपोखरी र बालगोपालेश्वर मन्दिर क्षतिग्रस्त भएको थियो। देशविदेशका धेरै पवित्र नदीका जल प्रयोग गरिएको ‘विष्णुतीर्थ’ को नामले परिचित उक्त पोखरीको मन्दिर पुनर्निर्माण क्रममा कङ्क्रिट प्रयोग भएपछि विवाद उत्पन्न भएको थियो।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.