लामो समयको अनिश्चयलाई तोड्दै बुधबार सरकारले सातवटा प्रदेशका प्रमुख र प्रदेशका अस्थायी मुकाम तोकेको छ।
बुधबार अपरान्ह प्रधानमन्त्रीको सरकारी निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकमा सामेल कानूनमन्त्री यज्ञबहादुर थापाका अनुसार प्रदेश नम्बर १ को केन्द्र विराटनगर, २ को जनकपुर, ३ को हेटौंडा, ४ को पोखरा, ५ को रूपन्देही, ६ को सुर्खेत र ७ को धनगढी तोकिएको छ। प्रदेश प्रमुखहरू पनि तोकिएको जानकारी मन्त्री थापाले दिए।
सकभर पाँचै राजनीतिक दलको सहमतिमा प्रदेश प्रमुख तोेक्ने तयारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रयासमा एमाले र माओवादीले सहमति नदिएपछि मधेस केन्द्रीत संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय जनता पार्टी नेपालसँग सहमति गरेर सरकारले प्रदेश प्रमुखको नियुक्ति गरेका हुन्।
प्रदेश प्रमुखहरू
- प्रदेश १ - डा. गोविन्द सुब्बा-विराटनगर
- प्रदेश २ - रत्नेश्वरलाल कायस्थ- जनकपुर
- प्रदेश ३ - अनुराधा कोइराला- हेटौंडा
- प्रदेश ४ - बाबुराम कुँवर-पोखरा
- प्रदेश ५ - उमाकान्त झा-रूपन्देही
- प्रदेश ६ - दुर्गाप्रसाद खनाल-सुर्खेत
- प्रदेश ७ - मोहनराज मल्ल-धनगढी
यी मध्ये सुब्बा त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन पेशामा क्रियाशिल छन् भने कोइराला माइती नेपालकी अध्यक्ष हुन्।
कांग्रेसको कोटामा परेका यी दुई बाहेक कुँबर पूर्वमहान्यायधीवक्ता हुन् भने खनाल र मल्ल राजनीतिक पृष्ठभूमिबाट आएका हुन्। कायस्थ फोरम र झा राजपाकोे सिफारिसमा परेका हुन्।
संविधानको धारा १६३ बमोजिम सरकारको प्रतिनिधिका रुपमा प्रदेश प्रमुख नियुक्तिको सिफारिस मन्त्रिपरिषदले गरेपछि उनीहरुलाई राष्ट्रपतिले नियुक्त गरी पद तथा गोपनियताको सपथ दिलाउनुपर्छ।
त्यसैगरी सरकारले संविधानको धारा २८८ को उपधारा २ बमोजिम प्रदेशसभाले प्रदेशको राजधानी नतोकेसम्म उपधारा ३ बमोजिम प्रदेशको कार्यसञ्चालनका लागि अस्थायी स्थान तोक्ने तयारी भइरहेकोे छ।
बुधबार बिहान बसेको बैठकमा सरकारकै मन्त्रीहरुबीच विवाद भएपछि अपरान्ह ३ बजेका लागि मन्त्रिपरिषदको बैठक सरेको थियो।
https://www.youtube.com/watch?v=2IlBDqISjLQ&feature=youtu.be