अस्थायी मुकामबारे मन्त्रीबीच नै विवाद हुँदा मन्त्रिपरिषद् बैठक स्थगित


सात प्रदेशका अस्थायी मुकाम तोक्ने विषयमा विवाद हुँदा मन्त्रिपरिषद् बैठक स्थगित भएको छ।

बैठकमा मन्त्रीहरुले आआफ्नो क्षेत्रमा अस्थायी राजधानी राख्न लबिङ गरेका थिए।

वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माका अनुसार बैठकमा दीपक बोहोराले प्रदेश ५ को अस्थायी मुकाम  बुटवलमा राख्न प्रस्ताव गरेका थिए। उनले कांग्रेस नेता  बालकृष्ण खाँड पनि यो विषयमा सहमत रहेको बताएका थिए।

प्रधानमन्त्री शेरबहादुर देउवा आफैंले भने दाङमा राख्नु उचित हुने बताएका थिए। कांग्रेस नेता खुमबहादुर खड्काले पनि दाङको पक्षमा देउवालाई लबिङ गरेका छन्।

त्यस्तै एमालेका विष्णु पौडेलले बुटवल र कृष्णबहादुर महराले दाङको पक्षमा लबिइङ गरिरहेका छन्।

‘प्रदेश १ को राजधानी मैले धरान राखौं भने नि, विराटनगर मधेशमा पर्छ, धनकुटा पहाडमा पर्छ। धरान पहाडको फेदी हो ठिक हुन्छ, हावा पानी राम्रो छ भनें’, विश्वकर्माले सेतोपाटीसँग भने।

उनले अहिले प्रदेश प्रमुखका लागि अस्थायी कार्यस्थलको रुपमा मुकाम तोकिने बताए।

कानुन मन्त्री यज्ञबहादुर थापाले पनि मन्त्रिपरिषदमा विभिन्न ठाउँको नाममा बहस भएको बताए।

‘यसमा गरौँ उसमा गरौँ भन्ने कुरा चलिरहेको छ’, थापाले भने, ‘तर तोकिसकेपछि एक मत भैहाल्छ।’

दुबै मन्त्रीले आजै प्रदेश प्रमुख र प्रदेशको अस्थायी मुकाम तोकिने बताए। मन्त्रिपरिषद् बैठक दिउँसो ३ बजेका लागि डाकिएको छ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.