४७ सय सामाजिक परिचालक पुनर्बहाली माग्दै आन्दोलनमा


सामाजिक परिचालकले पुनर्बहालीको माग गर्दै आन्दोलनमा उत्रिएका छन्।

आफूहरू विधि र प्रकृयाअनुसार नै नियुक्ति भए पनि हटाइएको भन्दै पुनर्बहालीको माग गर्न आन्दोलित भएको सामाजिक परिचालक हकहित संरक्षण केन्द्र नेपाल ट्रेड यूनियनका महासचिव देवीराम कुसारीले बताए।

‘हामी विधि र प्रकृया अनुसार नै नियुक्ति भएका थियौं। देशभर जनप्रतिनिधि नहुँदा १२ हजार जीवन गुजारा भत्तामा  काम गर्यौं,’ महासचिव कसारीले सेतोपाटीसँग भने, ‘हामीले आफ्नो उर्जाशील समय देशको लागि खर्च गर्यौं। त्यसैले हामीलाई पुनर्बहाली गर्नुपर्छ।’

स्थानीय स्वायत्त शासन ऐन २०५५ को दफा २३६ को उपदफा २ ले दिएको अधिकार प्रयोग गरी सरकारले समाजिक परिचालन कार्यविधि २०७१ जारी गरी स्थानीय सेवा प्रदायक संस्थाको छनोट गरेको थियो।

८ वर्षदेखि कार्यरत उनीहरूले आफूहरूलाई पुनर्बहाली गरी स्थानीय तहको कर्मचारीमा समायोजन गर्नुपर्ने, समायोजन गर्दा उमेरको हद नलाग्ने गरी गर्नुपर्ने र योग्यताका आधारमा समायोजन गर्नुपर्ने माग राखेका छन्। देशभर ४ हजार ७ सय सामाजिक परिचालक रहेका छन्।

 संघले आइतबार खुलामञ्चबाट विरोध र्‍याली निकालेको थियो। कुसारीले पुनर्बहाली नभएसम्म आन्दोलन जारी रहने  बताए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.