अवहेलना मुद्दामा भएको सुनुवाइमा डाक्टर गोविन्द केसीले आफू रैती नभएर सार्वभौम नागरिक भएको बताएका छन्।
सर्वोच्च अदालतका न्यायाधीशद्वय पुरुषोत्तम भण्डारी र बमकुमार श्रेष्ठको इजलासमा केसीको मुद्दाको सुुनुवाइ भइरहेको छ।
निवेदकका तर्फबाट वकिलहरुले बहस गरिसकेपछि केसी पक्षको पालो आएको थियो।
सुरुमा केसी आफैंले बहसमा भाग लिएका थिए।
‘गोपाल पराजुलीले हाम्रा साथीहरुलाई फोन गरेर धम्की दिएका छन्,’ केसीले भने, ‘ म अनसन बसेको केहीबेरमै प्रहरी पुगे। आदेश बिनै मलाई पक्राउ गरियो। म रैती होइन सार्वभौम नागरिक हुँ।’
उनले आफूले न्यायाधीशको सम्मान गर्ने तर न्याय बेच्ने जोसुकैका विरुद्ध लड्ने बताए।
‘यसवापत् जे कारबाही हुन्छ, भोग्न तयार छु’ केसीले भने।
उनले संविधानमै नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा पाउनु पर्ने उल्लेख भएको भए पनि न्यायाधीश हुँदा गोपाल पराजुलीले गरेका निर्णयले स्वास्थ्य शिक्षाको गुणस्तरमा ह्रास आएको तर्क गरे।
उनले प्रधानन्यायाधीश पराजुलीको योग्यतामाथि पनि प्रश्न गर्दै उनले राजीनामा दिनुपर्ने पनि बहसमा बताए।
डाक्टर केसीले बोलिसकेपछि उनको पक्षमा बरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले बहस गरेका थिए।