बिहीबार प्रदेश प्रमुख नियुक्त भएपछि मुख्यमन्त्री चयन प्रक्रिया सुरु हुने

विभिन्न प्रदेशमा मुख्यमन्त्रीका दाबेदारहरू।


सरकारले बिहीबार प्रदेश प्रमुखहरुको नियुक्ति र प्रदेशको अस्थायी मुकाम तोक्ने तयारी गरेको छ। बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले प्रदेश प्रमुखको नियुक्ति  गरेर अस्थायी मुकाम तोकेसँगै प्रदेश सरकार गठनको प्रक्रिया सुरु हुनेछ।

प्रदेश प्रमुख र अस्थायी मुकाम तोकेपछि प्रदेश सचिवालयको गठन हुनेछ।

त्यसपछि निर्वाचन आयोगले प्रदेश प्रमुखलाई प्रदेश सभा निर्वाचनको अन्तिम परिणाम बुझाउने संवैधानिक प्रावधान छ। आयोगले प्रदेश सभातर्फ प्रत्यक्ष र समानुपातिक दुबैको परिणाम तयार पारिसकेको छ।

संविधानमा प्रदेश प्रमुखले निर्वाचनको अन्तिम परिणाम घोषणा भएको २० दिनभित्र प्रदेश सभाको बैठक बोलाउने व्यवस्था छ।

पहिलो बैठकमा भाग लिनुभन्दा पहिला सांसदहरूले प्रदेश प्रमुखबाट सपथ लिनेछन्।

संविधानको धारा १६८ अनुसार प्रदेश प्रमुखले प्रदेशसभामा बहुमत प्राप्त दलको संसदीय दलको नेतालाई मुख्य मन्त्री नियुक्त गर्न सक्ने छन्।

प्रदेश सभामा कुनै पनि पार्टीको बहुमत नरहेमा दुई वा दुईभन्दा बढी दलहरुको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्छन्। अन्तिम परिणाम सार्वजनिक भएको ३५  दिनभित्र मुख्यमन्त्री नियुक्त गरिसक्नु पर्ने संवैधानिक व्यवस्था छ।

मुख्यमन्त्री नियुक्त भएपछि उनको सिफारिशमा समावेशी सिद्दान्तका अाधारमा प्रदेश प्रमुखले मन्त्रीहरू नियुक्त गर्ने छन्।

संसद सचिवालयका प्रवक्ता भरत गाैतम  प्रदेश  सभा सञ्चालनको माेटामाेटी रूपमा आफूहरूले तयारी गरेको बताए।
‘प्रदेश सचिवालयका लागि पनि तयारी गर्नुपर्छ। भाैतिक पुर्वाधार छैन।कहाँ काम गर्ने भवनकाे टुंगो छैन।प्रदेश सभा सञ्चालनका लागि प्राविधिक काम धेरै छन्।प्रारम्भिक रूपमा पनि धेरै मिलाउन पर्छ।यसकाे सबै व्यवस्थापन सरकारकाे हाे ।कहाँ जाने कस्तो सचिवालयलाई कसरी अभिमुखिकरण तालिम दिने केही टुंगो छैन’, गौतमले भने, ‘माेटामाेटी रूपमा हामीले तयारी गरेका छाैं।’
यसरी हेर्दा नयाँ जनमतअनुसार केन्द्रीय सरकारभन्दा पहिला प्रदेश सरकार बन्ने सम्भावना छ। किनकी संसदको माथिल्लो सदन राष्ट्रिय सभाको चुनाव माघ २४ गतेलाई तोकिएको छ। प्रतिनिधि सभाको समानुपातिक परिणाम अाउन कम्तिमा पनि फागुन पहिलो हप्ता लाग्नेछ।

मंसिर १० र २१ गते भएको चुनावको नतिजाअनुसार प्रदेश नम्बर १ र ३ मा एमाले एक्लैको बहुमत छ भने प्रदेश नम्बर ६ मा एमालेबिना सरकार बन्न सक्दैन। प्रदेश नम्बर २ बाहेकका प्रदेशमा एमाले–माओवादी गठबन्धनको बहुमत रहेको छ।

राजनीतिक दलहरूले भने मुख्यमन्त्रीको टुंगो अझै लगाइसकेका छैनन्। तर प्रदेश प्रमुखको नियुक्तिसँगै मुख्यमन्त्रीको प्रक्रियाले गति लिने उनीहरूको आशा छ।

`हामी त सडकमा छौं। पहिला त सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्नुपर्छ,´ एमाले नेता तथा प्रदेश १ का मुख्यमन्त्री दाबेदार शेरधन राईले भने,`प्रदेश सांसदको सपथ नलिइकन सरकार गठनको प्रक्रिया सुरु हुँदैन। प्रदेश प्रमुख नियुक्त भएर सपथ भएसँगै मुख्यमन्त्रीको बन्ने प्रक्रिया अघि बढ्छ।´

संघीय समाजवादी फोरमका उपाध्यक्ष तथा प्रदेश २ का मुख्यमन्त्री दाबेदार लालबाबु राउतले पनि मुख्यमन्त्री बनाउन प्रदेश सभाको बैठक आवश्यक भएकाले छिटोभन्दा छिटो प्रदेश प्रमुखको नियुक्ति र प्रदेश राजधानी घोषणा गर्नुपर्ने बताए। ‘त्यसपछि प्रदेश प्रमुखमार्फत् प्रक्रिया अघि बढ्छ, दलहरूलाई पनि छलफल गर्न सजिलो हुन्छ,’ राउतले भने।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.