अनसन जारी राखेका केसी सर्वोच्च परिसरभित्र एम्बुलेन्समा


सोमबारदेखि अनसन बसेका डाक्टर गोविन्द केसीलाई थकान महशुस भएपछि प्रहरीले एम्बुलेन्समा आराम गर्ने व्यवस्था मिलाएको छ।

सोमबार दिउँसो ४ बजेदेखि अनसन बसेका डाक्टर केसीलाई प्रहरीले राति ८ बजे पक्राउ गरेको थियो।

मंगलबार बिहान पौने ९ बजे प्रहरीले उनलाई सर्वोच्च परिसर पुर्‍याएको थियो।

सवा ११ बजेसम्म पनि उनको इजलास सुरु नभएपछि केसीले अप्ठेरो भएको बताएका थिए।

केसीलाई अप्ठेरो भएपछि प्रहरीले आफ्नै एम्बुलेन्समा उनलाई आराम गर्न दिएको हो।

उनको मुद्दाको इजलास अहिलेसम्म तोकिएको छैन। ‘अब केहीबेरमा इजलास तोकिन्छ, अनि इजलासमै उहाँका बयान हुन्छ,’ अधिवक्ता सुरेन्द्र भण्डारीले भने।

केसीको पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले बहस गर्ने उनले जानकारी दिए। २०२८ सालमा ग्राजुयट पढेकामध्येबाट राष्ट्रिय पञ्चायतमा सांसद बनेका थिए। त्यतिबेला बिए पढेकामध्येबाट पनि केही सांसद चुन्ने चलन थियो।

त्यसबाहेक उनी कुनै लाभको पदमा बसेका छैनन्। भण्डारीले लामो समयदेखि अदालतमा हुने भ्रष्टाचार र अदालतको शुद्धीकरणबारे निरन्तर आवाज उठाउँदै अाएका छन्।

शम्भुप्रसाद ज्ञवाली  अध्यक्ष भएको बेला नेपाल बार एसोसियसनको अदालतमा भएको भ्रष्टाचार र शुद्धीकरणबारे अध्ययन प्रतिवेदन तयार पारेको थियो। त्यसपछि भण्डारीले भन्ने गरेका थिए- बल्ल यो मुद्दा बारले उठायो मैले काँध बिसाउने ठाउँ पाएँ।

भण्डारीसँगै केसीका पक्षमा ओमप्रकाश अर्याल, बाबुराम गिरी, दिनेश त्रिपाठी,  सुरेन्द्र भण्डारीलगायत वकिलले बहस गर्नेछन्।

केसीको विपक्षमा रमण श्रेष्ठ,  उपेन्द्रकेशरी न्यौपाने, श्याम खरेल, लक्ष्मण थपलिया र दीपक बिष्टले बहस गर्ने भएका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.