प्रहरीले डाक्टर केसीलाई छुट्टै कोठामा राख्ने

फाइल।


सर्वोच्च अदालतको आदेशमा डाक्टर केसीलाई पक्राउ गरेको प्रहरीले सुविधासहितको हिरासतमा राख्ने जनाएको छ।

सिंहदरबार प्रहरी वृत्तका डिएसपी अपिल बोहोराले केसीलाई अरु बन्दीहरुसंग नभई छुट्टै राख्ने बताए।

‘उहाँलाई हामीले छुट्टै कोठामा राखेका छौँ पलङ ओड्नेको व्यवस्था छ,’ उनले सेतोपाटीसँग भने। सर्वोच्च अदालतको आदेशमा प्रहरीले बेलुका ८ बजे डाक्टर केसीलाई शिक्षण अस्पताल महाराजगञ्जबाट पक्राउ गरेको थियो।

एसपी रामदत्त जोशी नेतृत्वको टोलीले उनलाई अनसनस्थलबाट पक्राउ गरेको थियो। केसीलाई अाज राति सिहदरबार प्रहरी वृतमा राखिने काठमाडाैं प्रहरी प्रमुख एसएसपी रवीन्द्र धानुकले सेतोपाटीलाई बताए।

अदालतको आदेशअनुसार केसीलाई भोलि बिहान ९ बजे सर्वोच्चमा उपस्थित गराइने उनले जानकारी दिए।

केसीले प्रेस विज्ञप्तिमार्फत अदालतबाट भएको फैसलाविरुद्ध आमजनमानसमा भ्रम पर्ने गरी नेपालको न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशहरुका विरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति दिएको भन्दै उनलाई पक्रेर मंगलबार विहान ९ बजे अदालतमा दाखिल गर्न सोमबार सर्वोच्चले प्रहरीलाई आदेश दिएको थियो।

सर्वोच्चको आदेशको केही घन्टाभित्रै प्रहरीले उनलाई पक्रेको हो।

सोमबार दिउँसो ३ बजे देखि केसीले प्रधानन्यायाधीशको वर्खास्तगी माग गर्दै अनसन बसेका थिए।

प्राध्यापक डाक्टर शशी शर्मालाई ४ दिनको लागि भएपनि चिकित्सा शास्त्र अध्ययन संस्थानको डिनमा पुनर्बहाली हुन प्रधानन्यायाधीश सहितको इजलासले फैसल गरेपछी त्यसमा डाक्टर केसीले असन्तुष्टी माजनाएका थिए।

४ वर्ष अघि सरकारले  शर्मालाई  डिन बनाएपछी त्यसविरुद्ध डाक्टर केसीले अनसन बसेका थिए। कि त बरिष्ठताका आधारमा नभए  मापदण्ड बनाएर नियुक्ति  गर्नुपर्ने उनको माग थियो। त्यसपछि सरकारले शर्मालाई हटाएको थियो। सरकारले आफुलाई हटाएपछि शर्मा सर्वोच्च गएका थिए। उनको रिटमा तत्कालिन न्यायाधीश सुशीला कार्कीले अन्तरिम आदेश नहुने निर्णय गरेकी थिइन्।

त्यसको ४ वर्षपछी आइतबार प्रधानन्याधीश पराजुलीको इजलासले शर्मालाई पुनर्वहाली हुन भनेका थिए। उक्त आदेश आएपछी प्रधानन्यायाधीशले माफियाको साथ दिएको भन्दै कडा आलोचना गरेका थिए। सोमबार ३ बजेपछि उनले प्रधानन्यायधीशको वर्खास्तगी माग्दै अनसन बसे।

अनसन बस्नु अघि विज्ञप्ति जारी गरेका थिए। उक्त विज्ञप्ति जारी  गरेको २ घण्टा नबित्दै सर्वोच्चले प्रतिवेदन उठाएर अदालतको अवहेलनामा कारबाहि चलाएको छ।

 

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.