सर्वोच्च अदालतले डाक्टर गोविन्द केसीलाई पक्राउ गर्न आदेश गरेको छ।
न्यायाधीश डम्बर बहादुर शाहीको इजलासले उनलाई पक्राउ गरेर मंगलबार विहान ९ बजे अदालतमा दाखिल गर्न आदेश जारी गरेको प्रवक्ता नारायण पन्थीले बताए।
डाक्टर केसी प्रधानन्यायाधीशको बर्खास्तगी माग गर्दै आजदेखि अनसन बसेका थिए।
प्रधानन्यायाधीशले माफियाको पक्षमा फैसला गरेको आरोप लगाउँदै अबको आन्दोलन उनै विरुद्ध हुने भनेर केसीले विज्ञप्ति निकालेका थिए।
उक्त विज्ञप्तिले अदालतको अवहेलना गरेको भनेर सर्वोच्च अदालतका शाखा अधिकृत नेत्रबन्धु पौडेलले प्रतिवेदन पेश गरेका थिए। प्रतिवेदन माथि आदेश गर्दै सर्वोच्चले डा. केसीलाई पक्राउ गरी अदालतमा दाखिल गर्न गृहमन्त्रालयलाई भनेको छ।
पौडेलको प्रतिवेदन फौजदारी अभियोगको रुपमा दर्ता गर्न पनि अदालतले आदेश गरेको छ।
'प्रस्तुत प्रतिवेदन फौजदारी दायरीमा दर्ता गर्नू,' शाहीको इजलासले गरेको आदेशमा उल्लेख छ, 'प्रतिवेदन साथ पेश भएको प्रतिवादी गोविन्द केसीको नामबाट प्रकाशित प्रेस विज्ञप्ति र विभिन्न अनलाईन समाचारहरुमा प्रकाशित समाचार सामाग्री हेर्दा संविधान र कानून बमोजिम यस अदालत र मातहतका विभिन्न अदालतबाट भएको फैसला विरुद्ध आमजनमानसमा भ्रम पर्ने गरी नेपालको न्याय व्यवस्था, न्यायपालिका र न्यायाधीशहरुका विरुद्ध अमर्यादित, अशिष्ट र अदालतको अवहेलनाजनक अभिव्यक्ति उल्लेख गरेको देखिँदा निजलाई अदालतको अवहेलनामा किन कारवाही गर्नु नपर्ने हो? निजलाई पक्राउ गरी मिति २०७४/०९/२५ गते विहान ९ बजे यस अदालतमा हाजिर हुन उपस्थित गराउनू भनी नेपाल सरकार गृह मन्त्रालय र प्रहरी प्रधान कार्यलयका नाउँमा लेखी पठाउनू।'