ओली-दाहालबीच झन्डै २ घन्टा भेट : आज पार्टीमा छलफल, भ‍‍‍ोलि संयोजन समितिको बैठक

फाइल तस्बिर।


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच आइतबार साँझ भेट वार्ता भएको छ।

चितवनबाट आइतबार काठमाडौं आइपुगेका दाहाल ओलीलाई भेट्न सवा ६ बजे ओली निवास बालकोट पुगेको थिए।

दुई नेताबीच ८ बजेसम्म छलफल भएको थियो।

भेटमा राष्ट्रिय सभाको निर्वाचन, प्रदेश प्रमुखको नियुक्ति र पार्टी एकताका विषयमा छलफल भएको थियो।

‘मुख्यतः पार्टी एकताबारे छलफल भयो,’ भेटपछि पत्रकारहरुसँग कुरा गर्दै माओवादी अध्यक्ष दाहालले भने, ‘अहिलेसम्म ठिक बाटोमा छौं, थप विषयमा निर्णय गर्न भोलि (सोमबार) दुबै पार्टीमा छलफल गर्ने र मंगलबार पार्टी एकता संयोजन समितिको बैठक बस्ने निष्कर्षमा पुगेका छौं।’

दाहालले संयोजन समितिको बैठकले अर्को कमिटी बनाएर पार्टी एकताका थप कुरा टुंग्याउने र केही दिन भित्रै यो प्रक्रियालाई निष्कर्षमा पुर्याउने समझदारी भएको पनि जानकारी दिए।

गत मंगलबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीसँग ठोस छलफल गर्ने बताएका थिए। उनले सरकार गठन र पार्टी एकता सँगै लैजानु पर्ने पक्षमा आफू रहेको पनि जानकारी दिएका थिए।

तर दुई नेताहरुबीच त्यसपछि भेट हुन सकेको थिएन। ओलीको स्वास्थ्यमा समस्या आएपछि दुई नेताबीचको भेट केही दिन स्थगित भएको थियो।

माओवादी अध्यक्ष दाहाल बिहीबार चितवन गएका थिए। उनी शनिबार बिहान काठमाडौं फर्कने कार्यक्रम भए पनि मौसममा समस्या भएर जहाज नउडेपछि आइतबार सडकमार्गबाट काठमाडौं आएका हुन्।

काठमाडौं आएलगत्तै उनी ओलीलाई भेट्न गएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.