ओली–दाहालबीच भेट

फाइल तस्बिर।


नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच अहिले छलफल जारी छ।

चितवनबाट आजै काठमाडौं आइपुगेका दाहाल ओलीलाई भेट्न सवा ६ बजे ओली निवास बालकोट पुगेको ओलीका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिए।

गत मंगलबार बसेको माओवादी केन्द्रको केन्द्रीय कार्यालयको विस्तारित बैठक अध्यक्ष पुष्पकमल दाहालले एमाले अध्यक्ष ओलीसँग ठोस छलफल गर्ने बताएका थिए। उनले सरकार गठन र पार्टी एकता सँगै लैजानु पर्ने पक्षमा आफू रहेको पनि जानकारी दिएका थिए।

तर दुई नेताहरुबीच त्यसपछि भेट हुन सकेको थिएन। ओलीको स्वास्थ्यमा समस्या आएपछि दुई नेताबीचको भेट केही दिन स्थगित भएको थियो।

माओवादी अध्यक्ष दाहाल बिहीबार चितवन गएका थिए। उनी शनिबार बिहान काठमाडौं फर्कने कार्यक्रम भए पनि मौसममा समस्या भएर जहाज नउडेपछि आइतबार सडकमार्गबाट काठमाडौं आएका हुन्।

काठमाडौं आएलगत्तै उनी ओलीलाई भेट्न गएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.