माघ २४ गते राष्ट्रिय सभा चुनाव गर्ने सरकारको निर्णय

फाइल तस्बिर।


सरकारले राष्ट्रिय सभाको चुनाव माघ २४ गते गर्ने निर्णय गरेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन आयोगको सिफारिश अनुसार माघ २४ गते राष्ट्रिय सभाको चुनाव गर्ने निर्णय गरेको वाणिज्य मन्त्री मीनबहादुर विश्वकर्माले सेतोपाटीलाई जानकारी दिए।

अघिल्लो शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय सभा गठनसम्बन्धी अध्यादेश जारी गरेकी थिइन्।

निर्वाचन आयोगले माघ २५ गतेसम्म चुनाव गर्न उपयुक्त हुने सुझाव सरकारलाई दिएको थियो। आयोगले मिति तोक्नुभन्दा पहिला प्रदेश प्रमुख नियुक्त गर्न पनि सरकारलाई आग्रह गरेको थियो।

स्रोतका अनुसार दलहरूबीच सहमति हुन नसकेपछि प्रदेश प्रमुखको नियुक्ति गर्न भने अझै केही दिन लाग्ने छ।

बिहीबारको सर्वदलीय बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिका अाधारमा प्रदेश प्रमुख नियुक्त गर्न प्रस्ताव गरेका थिए।  एमालेले प्रदेश प्रमुख नियुक्त गर्ने अधिकार संविधानले सरकारलाई दिएको भन्दै सहमतिमा चासो देखाएको थिएन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.