महाधिवेशनसम्म पार्टीमा दुई जनाको संयुक्त नेतृत्व हुन्छ : शंकर पोखरेल


एमाले नेता शंकर पोखरेल  प्रदेश नम्बर पाँचका मुख्यमन्त्रीका दाबेदार हुन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको निकट रहेर काम गर्ने पोखरेलले पछिल्लो समय माओवादीसँगको गठबन्धन निर्माणमा पनि महत्वपूर्ण भूमिका खेलेका छन्।  पोखरेलसँग माओवादी-एमाले एकता र समसामयिक राजनीतिबारे सेतोपाटीका मनोज सत्याल  शोभा शर्माले गरेको कुराकानीको सम्पादित अंश:

एमाले र माओवादीबीचको एकता कहाँ पुग्यो?

पार्टी एकता आरम्भ  भइसकेको छ। चुनावी तालमेल गरेर त्यसलाई एउटै घोषणापत्रमा ढाल्ने काम गर्‍यौँ। र एउटै घोषणापत्रबाट देशैभर एकै भएर चुनावी अभियान गर्‍यौँ। त्यो अभियानले दुई पार्टीलाई नजिक ल्याइसकेको छ। नेतृत्वले गरेको पहललाई कार्यकर्ताले अगाडि बढेर समर्थन गरे। त्योभन्दा पनि अगाडि बढेर जनताले साथ दिए।

तर पार्टी एकता भनेको नीति र कार्यक्रम, विधि र पद्दतिमा तथा नेतृत्व र संगठनमा एक रुपता ल्याउने विषय हो। यसका लागि निश्चित विधि र प्रक्रिया चाहिन्छ। स्वभाविक रूपमा यो विषयमा प्रवेश गर्न पर्याप्त गृहकार्य र समझदारीको आवश्यकता पर्छ।

मतलब अहिलेसम्म पार्टी एकताको गृहकार्य भएको छैन ?

प्रक्रियामा छ। प्रक्रियामा हुने बित्तिकै रिजल्टको अपेक्षा गर्न मिल्छ र? त्यसमा समस्या आयो भन्न मिल्छ र? त्यो प्रक्रियामा छ र सकरात्मक दिशामा अगाडि बढ्दैछ। उपयुक्तको समयमा परिणाम बाहिर आउँछ।

तपाईँले भनेजस्तो नीति, विधि र संगठनमा एकरुपता ल्याउने प्रक्रिया किन अगाडि बढेको छैन?

पहिला देशको राजनीतिको ‘डेडलक’ खोल्नु पर्‍यो नि! परेन?

यतिबेला जनताले चुनेका प्रतिनिधिलाई राज्यले ग्रहण गर्न मानेको छैन। किनकी शेरबहादुर देउवाजीले चुनावी परिणाम स्वीकार गर्ने सामान्य लोकतान्त्रिक मूल्यलाई नै स्वीकार गर्नुभएको छैन। सामान्यत: जनादेश आफ्नो विपक्षमा आएपछि त्यसलाई कबोल गरेर राजीनामा दिनुपर्थ्यो। विजेतालाई फोन गरेर बधाई दिनुपर्थ्यो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोन गरेर बधाई दिने, विभिन्न देशका राजदूत आएर विजेतालाई बधाई दिने, तर नेपालका प्रधानमन्त्रीले  पराजय पनि स्वीकार नगर्ने र विजेतालाई  बधाई पनि नदिने। यो कस्तो संस्कार हो? त्यतिमात्रै होइन, उहाँ संविधानका छिद्रहरुमा टेकेर जनमतको अवज्ञा गर्ने नियोजित षड्यन्त्रमा संलग्न हुनुभएको छ।

संविधानले नै स्पष्ट किटान गरेको विषयलाई डेडलक भन्नु त सामान्य हो नि!

होइनडेडलक सिर्जना गरिएको हो। तपाईंहरूमा आग्रह छ। त्यसको एउटा प्रसंग म तपाईंहरूलाई सम्झाउँछु।

अघिल्लोपटक केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउँदाको हो। त्यो बेला संक्रमणकालमा एउटा सरकार हटाएर अर्को सरकार बनाउने व्यवस्था संविधानमा छैन भन्ने प्रसङ्ग उठ्यो। थिएन पनि।

तर त्यतिबेला लोकतान्त्रिक मूल्य पद्धतिको कुरा गरियो। संविधान भनिएन। तपाईंहरुले नै लेख्नुभयो। सेतोपाटीले नै लेख्यो। संवैधानिक मुल्य र पद्धतिबारे सम्पादकीय लेख्नुभयो। संविधानको कुरा लेख्नु भएन। त्यतिबेला संवैधानिक ‘डेडलक खोल्न केपी ओलीले राजनीतिक छलफल भन्नुभयो।

तर अहिले त शेरबहादुरजी छलफलमा आउनै चाहनुभएको छैन। उहाँले त्यतिबेला लोकतान्त्रिक मूल्य मान्यता र प्रणालीअनुसार अविश्वासको प्रस्ताव राखेपछि राजीनामा गर्नुपर्छ भन्नुभयो। बडो उत्साहका साथ तपाईंहरू सबैले त्यो लेख्नुभयो। महत्व दिनुभयो। र अन्त्यमा केपी ओलीले जनमतलाई कदर गर्दै बाधा अड्काउ फुकाउमार्फत डेडलक खोल्नुभयो।

https://youtu.be/9sTlnG75Sqo

तर, अहिले असाधारण परिस्थिति उत्पन्न भएको छ। जनताले एउटा चुनावी परिणाम दियो। जनमतभन्दा ठूलो लोकतन्त्र केही हुनै सक्दैन। यो बेला  तपाईंहरु लोकतन्त्रको मूल्य पद्धतिको कुरा गर्न संकोच मान्नुहुन्छ। अनि संवैधानिक डेडलक भन्न रुचाउनुहुन्छ। लोकतन्त्रमाथि संकट भन्न रुचाउनु हुन्न।

सेतोपाटी पढ्दैछु। तपाईंहरू लोकतन्त्रमाथि संकट हो, जनादेशमाथि चुनौती हो भन्न रुचाउनुहुन्न।  

यही ‘डेडलक’को समयमा कतै वाम गठबन्धनमा खटपट हुन्छ कि भन्ने तपाईंको चिन्ता हो?

खटपट हुन्छ कि हुन्न भन्ने होइन। तपाईं फेरि त्यही आफ्नो आशंकामा फोकस गर्दै हुनुहुन्छ। म संवैधानिक डेडलकमा फोकस गर्दैछु। तपाईं एमाले र माओवादी एकतामा फोकस गर्दै हुनुहुन्छ। मुलुकको मुद्दा के हो? जनमतलाई उपेक्षा गर्ने र लोकतन्त्रमाथि घात गर्ने विरुद्धको बहस हो।

तपाईंहरु पार्टी एकताभन्दा चुनावी परिणामतिर अल्मलिनु भएजस्तो देखिन्छ। जनताले त एमाले र मओवादीबीच एकता  होस्, स्थायी सरकार बनोस् भनेर मत दिएका हुन् नि? अनि एकताको कुरा गर्दा कसरी ‘फोकस आउट’ हुन्छ?

गलत व्याख्या नगर्नुस्। चुनावको परिणाम, पार्टी एकताको बहसमा आएको परिणाम हो र?

त्यसोभए जनताले वाम गठबन्धनलाई मत दिएका हैनन्?

होइन होइन। तपाईंहरुको ध्यान नै जनताले म्याण्डेट केका पक्षमा दिए भन्ने डायलुट गर्नेमा छ।

अहिले हामी त्यही जनताको चासो रहेको पार्टी एकताको बारेमै सोध्दै छौं।

अहिले पार्टी एकताभन्दा मुख्य अर्को मुद्दा आएपछि त्यसमा बहस गर्न जरुरी छ। तपाईं के चाहनुहुन्छ भन्ने आधारमा मुलुकको राजनीति हिँड्दैन। तपाईं मुलुकको राजनीति विषयका आधारमा हिँड्नुपर्‍यो नि।

गएको स्थानीय चुनावमा एमाले र माओवादीको बीचमा तालमेल थिएन। भोटमा पनि पहिलो र सिटमा पनि पहिलो भएको हो। वामपन्थी एकताका नाममा मात्र भोट दिएका हुन् त्यतिबेला? त्यतिबेला एकताको प्रक्रिया नै थिएन। अहिले दुई मिल्नुको अर्थ भनेको मुलुकको स्थायीत्वको अपेक्षाका साथ जनताले भोट दिए।

एउटै चुनावी घोषणापत्रमा चुनाव लडेकाले त्यसैमा भोट दिए। एउटै घोषणापत्रको अर्थ दिगो सरकारको कुरा हो। यो मत दिगो सरकारका लागि हो।

तर देउवा सरकार किन विदा हुन मानिरहेको छैन? त्यो बहस टुङ्गिनेबित्तिकै राष्ट्रिय राजनीतिका सबै बहस टुङ्गिन्छन्। एउटा चिजले बाटोमा व्यवधान खडा गर्‍यो। त्यो विषयमा छलफल केन्द्रीत नगर्ने अनि  प्रक्रियामा रहेको पार्टी एकताको रिजल्ट खोज्ने?

दुई पार्टीको एकताबारे कार्यकर्तामा संशय देखिन्छ नि?  एमाले कार्यकर्तामा त्यो संशय बढी छ। माओवादीले धोका दिन्छ कि भन्ने लाग्या हो? 

त्यो केही पनि छैन। डेडलक खडा गरेर माओवादी र एमालेबीचमा संशय पैदा गर्ने मिसनको प्रश्न हो यो, तपाईंमार्फत्। यो  फाटो ल्याउने  नियोजित रूपमा गरिएको प्रश्न हो। यस्तो संशय आउँदै आउँदैन। हामी दुबै पार्टी एकताका लागि प्रतिवद्ध छौँ। कुनै संशयले काम नै गर्दैन।

उपयुक्त समयमा हामी एकता गर्छौं। एकताप्रति यति धेरै चिन्ता गर्नु पर्ने जरुरी नै छैन। हामी सफल हुन्छौँ।

तपाईं एकताको प्रश्नबाट भाग्न खोजेको जस्तो देखिन्छ।

के गर्‍यौँ भन्ने मलाई जानकारी छ। हामी त्योप्रति प्रतिवद्ध छौं। हामी निश्चित समयमा त्यो गर्छौं। एकता प्रक्रियाका विधि र प्रक्रिया हुन्छन्। त्यो बुझेरै हामीले जनतालाई भनेका छौं। नबुझेका प्रश्न जनतलाई स्पष्ट पार्ने हो।

एकता प्रक्रिया भनेको मकै र भटमास खाएजस्तो होइन। विधि र पक्रिया हुन्छन्। हामी त्यसमा प्रवेश गरेका छौं। दुई पार्टीका बीच कुनै समस्या नै छैन।

तपाईंले भनेको मान्ने हो भने, एकतामा एमाले त प्रतिवद्ध छ तर माओवादी अध्यक्ष प्रचण्ड कति प्रतिवद्ध हुनुहुन्छ?

दुबै पक्ष प्रतिवद्ध नभए एकता प्रक्रिया अगाडि बढ्छ?

बीचमा त कुराहरू फरक-फरक आए नि?

त्यो तपाईंहरुले पत्रपत्रिकामा लेखेका आधारमा कुराकानी गर्नुभयो। प्रचण्डले भनेको त सुनेको छैन।

प्रचण्डले प्रधानमन्त्री एउटालाई अध्यक्ष एउटालाई गर्ने सहमति भएको खुलासा गर्नुभएको थियो, तपाईंले सुन्नुभएन?

पूर्ण त गलत कुरा हो। प्रचण्डका बारेमा जे समाचार सम्प्रषित गरिदैँछ त्यो पनि प्रायोजित छ। जे खेती गरिदैँछ त्यो एकता प्रक्रिया भाँड्नका लागि गरिएको खेती हो। प्रचण्ड स्वंयले त्यस प्रकारका भ्रममा नपर्न सार्वजनिक रूपमा बोल्नुभएको छ।

दुई पार्टीको एकता भयो भने संगठन कस्तो बन्छ? नेतृत्व कसले गर्छ?

अण्डर प्रोसेसमा भएको चिज मैले अहिले कसरी बताउन मिल्छ?

तपाईंले देख्नु भएको विकल्प के छ?

हामी लोकतान्त्रिक वामपन्थीका रूपमा सबल र सुदृढ पार्टी निर्माणका सन्दर्भमा प्रतिवद्ध छौँ। सत्ता राजनीतिका तर्फबाट वामपन्थी मिल्नु भनेको अधिनायकवाद आउनु हो भनेर हल्ला मच्चाइयो। सुत्रीकरण यसरी हुन्छ। अब कुनै पनि पार्टी मिल्नु भनेको अधिनायकतावाद आउँछ भन्ने सत्ता राजनीतिको सुत्र छ। त्यो सुत्र गलत हो भन्ने गरी हाम्रा मान्यता स्थापित गर्छौं। नेपालको राजनीतिक यथार्थ के हो भने कांग्रेस भनिने लोकतन्त्रवादी हो। हामी गरिने लोकतन्त्रवादी हो। भन्नेहरु आचरणमा केही गर्दैनन्। हामी व्यवहारमा स्थापित गर्दै आएका छौं। स्थापित गरेर देखाउँछौँ।

तर प्रश्न पार्टीको मात्र होइन, नेताको पनि  हो।  केपी शर्मा ओली प्रधानमन्त्री भए प्रचण्डलाई अध्यक्ष दिनुहुन्छ? एमालेले छाड्छ?

तपाईंको प्रश्नमै त्रुटी छ। पार्टी एकता अलग विषय हो। सरकार गठन अलग विषय हो।

माओवादी केन्द्रले त सरकार गठन र पार्टी एकता एकसाथ बढाउने भनेर निर्णय नै गरेको छ। कसरी अलग विषय हुन्छ?

पहिला बुझ्नुपर्‍यो नि। पार्टी के हो, सरकार के हो? पार्टीको प्रश्न र सरकारको प्रश्न एकैठाउँ मिसिदैँन।

गठबन्धन गरेर चुनावमा गएको एमाले-माओवादीको विषयमाचाहिँ यो मिसिएको देखिन्छ?

मिसिदैँन। नमिसिने कुरालाई जबरजस्ती मिसाइदिएपछि मिसिन्छ। यो प्रक्रियाबाट हुने कुरा हो। पार्टी एकता भनेको स्वतन्त्र विषय हो। अब हामीले चुनाव जितेकाले पार्टी एकता हुन थालेको होइन नि त।

हामी प्रतिपक्षमा भए पनि पार्टी एकता हुन्थ्यो होला। जितेको हुनाले मात्र एकता गर्न खोजेको होइन होला नि।

पार्टी एकताको प्रक्रिया हुन्छ र त्यो स्वतन्त्र प्रक्रिया हो।

अहिले हामी गठबन्धनमा छौं। पार्टी एकता नटुङ्गिदै सरकारमा जानुपर्‍यो भने गठबन्धनका तर्फबाट सरकार बनाउँछौँ। पार्टी एकता प्रक्रिया पूरा भयो भने पार्टीका तर्फबाट सरकार बनाउँछौँ।

त्यसअर्थमा पार्टी एकता र सरकार एकठाउँमा जोडिने कुरा होइन। पार्टी एकता गर्दा प्रधानमन्त्री को हुन्छ भन्ने विषय गठबन्धनको विषय हो। गठबन्धनका नेताहरु बसेर प्रधानमन्त्री कसलाई बनाउने भन्ने तय हुन्छ।

पार्टी एकता कसरी गर्ने भन्ने विषयमा एकताको आफ्नो मोडल तयार हुन्छ र नेतृत्व स्थापित हुन्छ।

सरकारमा सहभागीता र पार्टी एकतामा कसरी कुरा मिलाउनुहुन्छ त?

सरकार दुवै पक्षको सहभागितामा बन्छ। अनि पार्टी एकता पनि दुवै पक्षको समायोजनमा हुन्छ।

प्रचण्डजीले सार्वजनिक रूपमै प्रधानमन्त्री र अध्यक्ष बाँड्ने सहमति भएको थियो भन्ननुभएको छ नि?

गलत कुरा हो। हामी त्यो तहसम्म पुगेकै छैनौँ। नपुगेको विषयमा उहाँले कुनै ठाउँमा भनेको भन्ने प्रमाण छ?

मधेश झरेका बेला बोल्नु भएको छ।

पूर्णत गलत कुरा हो। म दावाका साथ भन्छु, प्रचण्डजीले बोल्नुभयो भन्ने गलत प्रश्न हो। प्रचण्डजीले बोल्नु भएको होइन प्रचण्डजीसँग जोडिएका पार्टीका कार्यकर्ताले बोलेको त मैले सुनेको छु। विभिन्न नेताहरुले बोल्नु भएको सुनेको छु। प्रचण्डले बोल्नु भएको छैन।

तपाईंहरूबीच भएको समझदारी के हो त?

त्यो प्रक्रियामा हामी प्रवेश गरेकै छैनौँ।

गठबन्धनले जित्यो भने एकजना प्रधानमन्त्री र अर्को पार्टी अध्यक्ष हुने सहमति भएको थिएन?

पार्टीहरुको बीचमा एकतापछि के गर्ने भन्ने विषय प्रवेश गरेकै छैन। बरु पार्टी एकता नहुँदा गठबन्धनमा आलोपालो गर्न सकिन्छ भनेर छलफल भएको हो। अझ आलोपालो भनेको दुई पार्टी भिन्न रहेको अवस्थाको परिकल्पना हो नि। पार्टी एक भएपछि आलोपालो हुदैँन। कार्यविभाजनको कुरा हुन्छ। पालोको कुरा हुदैँन।

गठबन्धन बनाउँदा आलोपालोको सहमति के थियो? पहिला केपी ओली प्रधानमन्त्री हुने दुई बर्षमा प्रचण्ड हुने भन्ने हो?

आवश्यकता पर्दा आलोपालो गर्न सकिन्छ भन्ने थियो। को प्रधानमन्त्री भन्ने सन्दर्भमा प्रचण्डले जनताको मनोविज्ञान बुझेर अबको प्रधानमन्त्री केपी ओली भनेर घोषणा गर्नुभएको छ। त्यो घोषणा कुनै छलफलको विषय होइन। त्यो उहाँको सार्वजनिक प्रस्तावको विषय हो। यद्यपी हामी अझै त्यो निष्कर्षमा पुग्न बाँकी छ।

जनताले चुनेका सांसदले सपथ गर्न पाएका छैनन्। अब प्रधानमन्त्री को भन्ने बहस अहिले के गर्नु?

ओलीलाई प्रचण्डले प्रधानमन्त्री मानिसकेपछि  प्रचण्डलाई अध्यक्ष बनाउन एमाले राजी हुन्छ?

अमूर्त प्रश्न नगर्नुस्।

हामी विषयमा छलफल गर्दैछौं। सामान्यतया के हुन्छ भने एकता प्रक्रियामा निश्चित अवधिसम्म ‘ज्वाइन्ट लिडरसिप’ हुन्छ। दुवै पक्ष मिसिन्छन् तर पनि भिन्नभिन्न देखिन्छन्। एक ठाउँमा भेला त हुन्छन् तर रंगहरू भिन्नभिन्न हुन्छ। त्यो भनेको संक्रमणकाल हो। महाधिवेशन नभएसम्म। त्यो अवधिसम्मका लागि दुवै पार्टीका नेताहरूको समझदारीमा मात्र चल्छ। त्यहाँ सामान्य प्रक्रियाको जस्तो अल्पमत बहुमत हुन्न।

त्यो भनेको दुबै जना सह-अध्यक्ष बन्ने हो?

के ढाँचा बनाउने भन्ने कुरा छलफलको विषय हो। निश्चित अवधिसम्म संयुक्त नेतृत्व हुन्छ।

प्रचण्डले सह-अध्यक्ष स्वीकार गर्नुहोला त?

यो प्रक्रियामा भएको विषयमा किन चिन्ता गर्नुहुन्छ? चिन्ता गर्नै पर्दैन।

उहाँका कुरा सुन्दा संयुक्त नेतृत्व स्वीकार्ने अवस्था देखिदैँन नि?

तपाइले प्रचण्डसँग कुरा गर्नु भएको छ र?

माओवादीका नेताहरूले भनिराखेका छन् त?

यो फेरि अमूर्त कुरा भयो।
दुबै जनाको नेतृत्व  हुन्छ, यो सैद्धान्तिक कुरा भयो। दुबै जनाको नेतृत्वमाउहाँले विमति राख्ने कुरा हुन्छ र? पार्टी एक भैसकेको हुदैँन। आग्रह पूर्वाग्रह हुन्छ। दुव प्रतिको संवेदनशीलतालाई ख्याल गर्नुपर्ने हुन्छ। समझदारीको अर्थमा पार्टी सञ्चालन हुन्छ। त्यो समझदारी भनेको ‘ज्वाइन्ट लिडरसिप’ हो। दुईका बीचमा कुरा मिल्यो भने काम गर्ने भन्ने हो। त्यतिञ्जेलसम्म केपी ओली र प्रचण्डको संयुक्त नेतृत्वमा पार्टी अगाडि बढ्छ। के भन्ने विषय छलफल गर्न बाँकी छ। पार्टी नेतृत्व भने संयुक्त रहन्छ।

एकताको प्रक्रियामा रहँदा पार्टीको नेतृत्व र सरकारको नेतृत्व एउटै पार्टीबाट हुन्छ?

त्यो त पार्टी बन्यो भने त्यसले फैसला गर्छ। पार्टी बन्नै बाँकी छ।

एमालेले प्रधानमन्त्री र अध्यक्ष आफैसँग राख्न चाहेको हो?

त्यतिबेला एमाले हुदैँन। माओवादी पनि बाँकी रहँदैँन। त्यसपछि किन माओवादीबाट हुन्छ कि एमालेबाट हुन्छ भनेर सोध्नुहुन्छ। एकता भनेको दुबैको इतिहास विसर्जन हो। नयाँ शक्ति सिर्जना हुन्छ। अनि कुन पार्टीबाट हुन्छ भन्ने प्रश्नै हुदैँन। एउटै पार्टीको अध्यक्ष हुन्छ, प्रधानमन्त्री हुन्छ। एउटै पार्टीको राष्ट्रपति हुन्छ।

यो निकै आदर्शवादी सुनियो। व्यवहारमा कार्यान्वयन हुन्छ त?

हैन, यो नै सत्य हो। किनकी पार्टी एकता भएपछि दुई पार्टीका दुई व्यक्ति हुदैँनन्। अनि अलग अलग रहने कुरा नै हुन्न नि।

 एक हुँदा सैद्धान्तिक रूपमा माओवाद एमालेले मान्ने हो कि जनताको बहुदलीय जनवाद माओवादीले मान्ने हो?

मलाई त अनौठो लाग्छ,  माओवाद ल्याएर यहाँ किन मिसाउने? माओवादीहरू स्वयं २१ औं शताब्दीको जनवाद अभ्यास गर्दै हुनुहुन्छ। नाम माओवादी छ। तर आत्मसात् गरेको सिद्धान्त २१ औं शताब्दीको जनवाद र बहुदलीय जनवादको बीचमा कुनै भिन्नता छैन।

दुवै चिजहरुले लोकतान्त्रिक मुल्य पद्दति आत्मसात् गर्छन्। दुबैले शान्तिपूर्ण बाटोबाट समाजवादको कुरा गर्छन्। नेपालको कम्युनिष्ट आन्दोलनलाई लोकतान्त्रिकरणबाट अगाडि बढाउने कुरा गर्छन्।

त्यो विचारको संस्थापक नेपालमा मदन भण्डारी हुन्। मैले प्रचण्डकै कतिपय मन्तव्य सुनेको छु, मदन भण्डारीका अधुरा काम पूरा गर्ने जिम्मेवारी हाम्रो काँधमा आएको छ भन्नुभएको छ। त्यसो भनेपछि त समस्या केही छैन। त्यसैले कुन अँगाल्छ भनेर बहस गराउनुर्ने आवश्यकता नै छैन।

मतलब माओवाद काम छैन?

काम छैन कसले भनेको छ? मेरो भनाइ २१ औं  शताब्दीको जनवाद र जबज दुवै सिद्धान्तहरु अन्तरविरोधी छैनन् भन्ने हो।

अब यो सिद्धान्तको नेतृत्व कसले गर्छ? एमाले पक्षले गर्छकी माओवादी पक्षले ?

सिद्धान्तको नेतृत्व पार्टीले गर्छ। एकीकृत पार्टीले गर्छ। व्यवहारमा लागू गर्ने काम पार्टीले गर्ला।

यत्रो दु:ख गरेर बनाएको पार्टी सकिने भो भन्ने डर देखिन्छ नि नेता/कार्यकर्तमा ?

होइन होइन। उनीहरुले पार्टी एकता सफलतापूर्वक सम्पन्न गर्नुपर्‍यो भनेका छन्। त्यो चिजलाई हामी सफल पार्छौं। फेरि एकता भनेको प्रचण्डले चित्त नबुझाउँदा हुने कुरा होइन। केपी शर्मा ओलीले चित्त नबुझाउँदा पनि हुने कुरा होइन। एमाले र माओवादीले चित्त नबुझी एकता त हुन्न। दुवैथरीलाई चित्त बुझ्दा न एकता हुन्छ! चित्त बुझ्ने कुरा परस्परको अडानमा सम्भव हुन्न। एकता हरेकले अडान छाडेर सही बाटो समाउने प्रयास हो।

अझ त्यो बाटो हिजोको भारी बोकेर हुने कुरा होइन। वर्तमानमा टेक्ने र भविष्यका बारेमा सोच्ने हो। इतिहासको भारीले ठस ठस कन्दै हिँड्न थाल्यो भने एकता सम्भव हुदैँन।

माओवादीले जनयुद्धको भारी बोक्नु भएन?

एमालेले झापा आन्दोलनको भारी बोक्नु हुदैँन नि। एमालेल पनि यो बीचको अवधिमा निर्माण गरेको सबै चिजको भारी बोक्नु हुदैँन। तपाईं एमाले र माओवादीको बीचमा द्वन्द्व पैदा होस् भनेर प्रश्न गर्न खोज्नु हुदैँछ।

एउटा प्रश्नले पार्टीबीचमै द्वन्द्व पैदा भएर एकता भाँडिन्छ त?

लोकतन्त्रमा के हुन्छ भने समाजका हरेक सदस्य सकरात्मक दिशामा जाने कुरामा प्रेरित गर्ने पात्र बन्नुपर्छ। पार्टी र मिडिया सबै। हामीकहाँ सन्देहको खेती गर्ने अविश्वासको खेती गर्ने काम भयो। राष्ट्र कमजोर हुनुका कारण पनि बलियो राष्ट्रिय शक्ति नभएर हो। एमाले र माओवादी बलियो राष्ट्रिय शक्ति बन्ने दिशामा छन् भने प्रेरित गर्नुपर्छ। बरु कांग्रेसलाई भन्नुपर्छ, तिमी पनि बलियो शक्ति बनाउ। बाटो त त्यो हो नि।

एमाले र माओवादी मिल्नेभए अब यिनीहरुलाई भाँडौं भन्ने सोचबाट चल्न थाल्यो भने राष्ट्र बन्छ कहिले?

कांग्रेस अहिले बरालिएको छ त्यसलाई पनि बलियो हुनका लागि सहयोग गरौँ भन्नुपर्‍यो नि।

एमाले र माओवादी एक हुन कति  समय लाग्छ?

देउवाजीले सरकार लम्ब्याएपछि हामीले अब पार्टी बनाउने काम त गर्नै पर्‍यो नि।

एमाले-माओवादीबीच चुनावबाटै ६०-४० को भागबन्डा सुरु भयो। भविष्यमा पनि मिल्दा त यसरी नै मिल्ने होला नि त?

सुरुको अवस्थालाई एकता प्रक्रियामा भागबन्डा  वा हाम्रोजस्तो एकताको मोडालिटी  जे भने पनि हुन्छ। हामी मोडल बनाउँछौँ र कसरी समायोजन गर्ने भन्ने खालको योजना तयार गर्छौँ।

एमालेले महाधिवेशनबाट नेतृत्व छानेको छ। मेयरको उम्मेद्वार छान्न पनि चुनाव गर्नुभएको छ। तर माओवादी जसले चुनाव कहिल्यै गरेकै छैन। पार्टी एउटै कसरी बनाउनुहुन्छ? तत्कालै महाधिवेशन हुन्छ? संगठन कसरी मिल्छ?

एउटा पक्ष के छ भने माओवादी पुरानै ढाँचामा युद्धकालिन अवस्थामा रहेको भए तपाईंले गरेको प्रश्न मिल्थ्यो। उहाँहरु त्यो कोर्स पूरा गरेर नयाँ कोर्समा प्रवेश गरिसक्नुभएको छ। आजको माओवादी भनेको एक्काइसौँ शताब्दीको जनवादलाई आधार बनाएर लोकतान्त्रिक अभ्यासमा प्रवेश गरेको माओवादी हो। हिजोको सशस्त्र युद्धमा रहेको माओवादी होइन। लोकतान्त्रिक प्रक्रियामा प्रवेश गरेको माओवादी र एमालेबीचमा रहेको एकतामा लोकतान्त्रिक मुल्य पद्दितले नै आफूलाई स्थापित गर्ने मौका पाउँछ।

माओवादीले महाधिवेशन गरेर अगाडि जान चाहाला?

समय त लाग्छ। तत्काल भन्नुको अर्थ प्रक्रिया टुङ्गो नलागी महाधिवेशन भन्ने त हुदैँन। किनकी हामी प्रक्रियामा पहिले नेतृत्व समायोजनमा जान्छौँ। अनि कमिटी समायोजन हुन्छ। कमिटी समायोजन भयो भने पार्टी सदस्यतालाई एकरुपतामा ढाल्नुपर्छ। पार्टी सदस्य एक ठाउँमा आइसकेपछि बल्ल पार्टी सदस्यहरुको भूमिकाद्वारा महाधिवेशन हुन्छ। हाम्रो महाधिवेशन किमिटीको होइन। सदस्यको महाधिवेशन हो। त्यसअर्थमा दुई पार्टीका सदस्य एक ठाउँमा रहने अवस्था सकिएपछि हामी महाधिवेशनका लागि योग्य हुन्छौं।

महाधिवेशन गर्दा कार्यकर्ताबाट होइन पार्टी प्रतिनिधिद्वारा प्रतिनिधि चयन हुन्छ। बल्ल अधिवेशन हुन्छ। त्यसका लागि समय लाग्छ।

कति समय?

त्यसका लागि मेरो हिसाबले डेढ दुई बर्ष भन्दा पहिले सम्भव हुदैँन।

सरकार बन्नुअघि दुवै पार्टीका केन्द्रीय समिति भंग भएर एउटै कमिटी बन्ने सम्भावना छ?

सम्भावना त किन नहुनु। तर सरकार बन्न कति समय लाग्छ?

खै मैले त देउवाजीले सरकार छाड्ने सुरसार गरेको सुनेको छैन। राष्ट्रिय सभा  चुनावको मिति अहिलेसम्म घोषणा गर्नु भएको छैन। लोकतान्त्रिक प्रक्रिया ‘डिरेल’ गर्ने कुरा इतिहासमा क्षम्य हैन। यसबाट सबैभन्दा घाटा कसैलाई हुन्छ भने कांग्रेसलाई हुन्छ। मुलुकलाई त घाटा भएकै छ। किनभने संविधान बनेपछि पनि देशलाई डेडलकमा लैजाने पात्र देउवाजी बन्नुभयो। हामी त्यसको राजनीतिक प्रतिवाद गर्दैछौँ। हामी उहाँले कहिले छाड्नुहुन्छ भनेर हिसाब गरेर बसेका छैनौं।

तपाईंहरुको शंका देउवाले सत्ता छोड्नुअघि नै  माओवादीले साथ छाड्छ कि भन्ने त होइन, किनकी उहाँले त कांग्रेससँग पनि कुरा गरिरहनुभएको छ?

माओवादीले साथ छोड्छ भनेर आशंकै नगर्नुस् न।

उहाँले दुई तिर कुरा गरिरहनुभएको हैन, समयमा निकास दिनुपर्छ भनिरहनुभएको छ हरदम। बरु निर्वाचन आयोगले परिणाम दिनुपर्छ, अझ ढिला भयो कि भन्ने अर्थमा अध्यादेशको गाँठो फुकाउन प्रचण्डले अग्रसरता लिएको साँचो हो।

त्यसो भए दुई पार्टीको एकता गर्न कति समय लाग्छ?

अब प्रक्रियाले कति समय माग्छ। यो मेसिनमा मेटेरियल हालेर कति मिनेटमा प्रोडक्ट बन्छ भने जस्तो होइन। पार्टी एकता भनेको मन मिलाउने कुरा हो। विधि मिलाउने कुरा हो। सबै चिज जोडेर गर्दा यान्त्रिक हिसाबले यति समयमा गर्छौँ भनेर हुने चिज होइन। सोचे भन्दा दुई दिन पहिला हुनसक्छ वा दुई दिन ढिला हुन पनि सक्छ।

पार्टी एकता भनेको मनोविज्ञानबाट सुरु हुन्छ र प्रणालीमा पुगेर टुङ्गिन्छ। धेरै औपचारिक र अनौपचारिक कुराकानी हुन्छ। मन मिलाउने कुरा हो। एउटा कोर्स पुरा गरेपछि हुन्छ। दुवै पार्टीका प्रमुख नेताहरु यो प्रक्रियालाई सफलतापूर्व टुङ्ग्याउने कुरामा प्रतिवद्ध हुनुहुन्छ।

तर अध्यक्षहरुले एकअर्काका लागि त्याग गरे पो त्यो प्रतिवद्धता देखिएला नि? त्याग गर्न कत्तिको तयार हो?

यो एकताको मिसनको नेता उहाँहरु दुवै हो। उहाँहरु मिलेर चलाउनुहुन्छ। मिलेर चलाउनेमा शंका गर्नु भएन।

प्रचण्ड र केपी ओली दुवैले पार्टी अध्यक्ष नै चाहियो भनेको अवस्थामा नि?

पोजिसन राखेर एकता हुदैँन। दुवै जना अध्यक्ष हुन खोज्ने हो भने त कसरी एकता हुन्छ? दुइ पार्टी अलग बस्न खोजे कसरी एकता हुन्छ?

नेतृत्व कसले गर्छ भन्ने त होला नि?

त्यो त उहाँहरुले बसेर छलफल गर्नुहोला। एउटा सन्दर्भमा के हुन्छ भने एक अर्कालाई विश्वास नगरी यो प्रक्रिया अगाडि बढ्दै बढ्दैन। कसले यो बेला नेतृत्व गर्दा पार्टी बलियो भएर जान्छ जनता राष्ट्रको अपेक्षा के छ भन्ने महसुस गर्दा प्रक्रिया अगाडि बढ्ने त हो नि। त्यो चिज बाँकी छ।

तस्बिरहरू: नारायण महर्जन/सेतोपाटी

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.