मुख्यन्यायाधीश सिफारिसमा वरिष्ठतम् न्यायाधीशको ‘नोट अफ डिसेन्ट’


न्यायपरिषद्ले ४ मुख्य न्यायाधीश सिफारिस गर्दा परिषदका सदस्य एवम् बरिष्ठतम् न्यायाधीश दीपक राज जोशीले ‘नोटअफ डिसेन्ट’ लेखेका छन्।

बिहीबार बसेको परिषद्को बैठकले तुलसीपुर उच्च अदालतमा नहकुल सुवेदी, जनकपुरमा उदय चापागार्इँ , दीपायलमा यज्ञ बस्याल  र सुर्खेतमा हरि कुमार पोखरेललाई मुख्य न्यायाधीशमा सिफारिस गरेको छ।

४ मध्ये सुवेदी रोलक्रममा पहिलो हुने गरी सिफारिस गरिएकोमा बरिष्ठतम न्यायाधीश जोशीले नोटअफ डिसेन्ट राखेका हुन्।

उनले रोल क्रम मिचेर सिफारिस भएकोमा आफ्नो आपत्ति रहेको बताएका छन्।

‘मैले सुवेदीजीलाई एक नम्बरमा नराखौँ भनेको हुँ, रोल क्रम मिचेकोमा मेरो नोटअफ डिसेन्ट छ,’ उनले सेतोपाटीसँग भने, ‘चार जना न्यायाधीश नियुक्ति गर्दा रोलक्रममै भएकी महिला न्यायाधीश छुटाउनु हुँदैन भन्नेमा पनि मेरो जोड थियो तर मेरो कुरा सुनिएन।’

सुवेदी सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार हुन्। चापागाईँ, बस्याल र पोखरेल उच्च अदालतका लागि क्रमशः पहिलो दोस्रो र तेस्रो रोलक्रमका न्यायाधीश थिए। चौथो क्रममा न्यायाधीश सुष्मालता माथेमा थिइन्।

परिषद स्रोतका अनुसार, माथेमालाई छूटाएर भएपनि सुवेदीलाई पहिलो नम्बरको मुख्य न्यायाधीश बनाउन प्रधानन्यायाधीश गोपाल पराजुलीको जोड थियो।

सुवेदी प्रधानन्यायाधीशका नातेदार र विश्वास पात्र मानिन्छन्। आफू प्रधानन्यायाधीश भएर आएपछि पराजुलीले सुवेदीलाई न्यायपरिषद्को सचिवबाट सर्वोच्च अदालतको मुख्य रजिष्ट्रारमा नियुक्त गरेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.