देउवाले दिए वाम गठबन्धनका नेतालाई बधाई


प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन जितेको वाम गठबन्धनलाई बधाई दिएका छन्। बिहीबार बालुवाटारमा बसेको पाँच दलको बैठक प्रधानमन्त्री देउवाले वाम गठबन्धनका नेतालाई बधाई दिएका हुन्।

‘प्रधानमन्त्रीले पहिलोपटक हामीलाई निर्वाचन जितेकोमा औपचारिक बधाई दिनुभयो,’ एमाले नेता सुवास नेम्वाङले भने,‘हामीले ढिलै भएपनि बधाई दिएकोमा प्रधानमन्त्रीलाई धन्यवाद भन्यौं।’

बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले जनताले वाम गठबन्धनलाई सत्ता हस्तान्तरण गरिसकेको बताएका थिए।

प्रधानमन्त्री निवास बालुवाटारमा भएको प्रमुख पाँच दलको बैठकमा प्रचण्डले देउवालाई जनताको मतलाई कार्यान्वयन गर्न आग्रह गरेका थिए ।

आफूले शान्तिपूर्ण रूपमा नै सत्ता हस्तान्तरण गर्ने भनेर प्रधानमन्त्री देउवाले भनेपछि प्रचण्डले यस्तो जवाफ दिएको एमाले नेता सुवास नेम्वाङले बताए ।

‘बैठकमा प्रधानमन्त्रीले म शान्तिपूर्ण तरिकाले सत्ता हस्तान्तरण गर्छु भन्नुभएको थियो, ’प्रचण्डलाई  उदृत गर्दै नेम्वाङले भने,‘सत्ता हस्तान्तरण त जनताले गरिसके तपाईंले अब यसलाई कार्यान्वयन मात्रै गर्नुस्।’

अहिलेसम्म राष्ट्रिय सभाको निर्वाचनको मिति किन घोषणा नगर्नुभएको भनेर समेत वाम गठबन्धनका नेताहरुले भनेको नेम्वाङले बताए ।

‘प्रधानमन्त्रीले प्रदेशको अस्थायी राजधानी र प्रदेश प्रमुखको नियुक्तिबारे समेत छलफल गर्ने भन्नुभएको थियो,’ नेम्वाङले भने,‘जवाफमा हामीले सरकारले नियुक्ति गर्ने र निर्णय गर्ने कुरा गरे हुन्छ भनेर भन्यौं।’

वाम गठबन्धनका नेताहरुले सरकारले सत्ता हस्तान्तरणका लगि ढिलाइ गरेको र मनलाग्दी ढंगले नियुक्ति गरेको बारे प्रधानमन्त्रीको ध्यानाकर्षण गराएको उनले बताए।

 

आजको बैठकमा कांग्रेस,एमाले,माओवादी केन्द्र र राजपाका नेताहरु सहभागी थिए ।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.