दाहाल आज चितवन जाँदै, शनिबार काठमाडौं फर्किने

फाइल तस्बिर


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल बिहीबार दिउँसो चितवन जाने भएका छन्।

उनको निजी सचिवालयका अनुसार शुक्रबार हुने भरतपुर महानगरपालिकाको नगरपरिषदमा सहभागी हुन दाहाल दिउँसो साढे २ बजे चितवन जान लागेका हुन्।

दाहालको गृहनगर समेत रहेको भरतपुरमा उनकी छोरी रेणु दाहाल मेयर छन्।

दाहाल भोलि पनि चितवनमै बस्ने र शनिबार बिहानमात्र काठमाडौं फर्कने कार्यक्रम छ।

दाहाल चितवन जाने भएसँगै पार्टी एकता विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग हुने भनिएको भेट अनिश्चित भएको छ।

दाहालका प्रेस संयोजक मनहरि तिमिल्सिनाका अनुसार अहिले दाहाल प्रधानमन्त्री शेरबहादुर देउवाले बोलाएको सर्वदलीय बैठकमा सहभागी हुन बालुवाटार पुगेका छन्।

‘उताबाट अहिलेसम्म केही खबर आएको छैन, उहाँहरुले बोलाए आज भेट हुन पनि सक्छ, नबोलाए नहुन पनि सक्छ,’ तिमिल्सिनाले भने।

यसअघि मंगलबार बसेको माओवादी केन्द्रीय कार्यालयको बैठकमा दाहालले पार्टी एकता हुँदा एक दलले प्रधानमन्त्री र अर्कोले पार्टी अध्यक्ष पाउनु पर्ने बताएका थिए।

सो विषयमा आफूले एमाले अध्यक्ष ओलीसँग बुधबार नै भेटेर ठोस कुरा गर्ने पनि उनले बैठकमा बताएका थिए।

बुधबार दुई नेताबीच भेट भने हुन सकेन।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.