बन्दसूचीको क्रमसंख्या मिच्न नपाइने नियम सर्वोच्चद्वारा सदर


प्रदेश सभा समानुपातिक तर्फ पार्टीहरुले बुझाएको बन्दसूचीबाट सांसद चयन गर्दा क्रमसंख्या मिच्न नपाइने भन्दै निर्वाचन आयोगले बनाएको नियमावलीलाई सर्वोच्च अदालतले सदर गरेको छ।

अब पार्टीहरुले समानुपातिक उम्मेदवार पठाउँदा बन्दसूचीबाट समावेशी क्रमसंख्याको पहिलोलाई प्राथमिकता दिनुपर्छ। निवेदकले भने अनुसार नियमावली खारेज भएको भए पार्टीहरुले बन्दसूचीको क्रमलाई मिच्न पनि पाउने थिए।

गोविन्दहरि पुडासैनीले उक्त नियमावली प्रदेशसभा सदस्य ऐन विपरित भएकोले त्यसलाई खारेज गर्न अन्तरिम आदेशको  माग गर्दै सर्वोच्चमा रिट दिएका थिए।  उनी नेपाली कांग्रेस काठमाडौँका जिल्ला कोषाध्यक्ष हुन्।

मंगलबार न्यायाधीश दीपकराज जोशी र हरिकृष्ण कार्कीको इजलासले यो रिटमा अन्तरिम आदेश जारी नहुने भनेको हो। तत्कालै अन्तरिम आदेश नदिए निवेदकलाई कुनै अपुरणीय क्षति पुग्ने नदेखिएको इजलासको निर्णयमा छ।

‘यस ऐन संग नियमावली बाझिएको छ वा छेन भन्ने विषय अन्तिम सुनुवाई हुँदा विचार हुने नै भएको र हाल निवेदन संलग्न रहेको पार्टीले समानुपातिक निर्वाचन प्रणाली बमोजिम पेश भएका उमेदवारहरुको सूचीमा नपरेका यी निवेदकलाई कुनै अपुरणीय क्षति पुग्ने नदेखिँदा अन्तरिम आदेश जारी गरी रहनु परेन,’ इजलासले भनेको छ।

प्रदेश सभा सदस्य ऐन दफा ६को उपदफा ६मा समानुपातिक उम्मेदवारको बन्दसूचीबाट नाम चयन गर्दा समावेशी समूह अनुसार यथासंभव क्रमसंख्या मिलाउनुपर्ने व्यवस्था छ।  यो उपदफामा प्रयोग गरिएको यथासंभव भन्ने शब्दावलीले दलहरुलाई समावेशीको क्रमसंख्या अनुसार नगर्न पनि छुट दिएको थियो।

प्रदेशसभा सदस्य नियमावली–२०७४ ले भने समावेशीको क्रमसंख्या मिच्न नपाइने उल्लेख गरेको छ।

उक्त नियमावलीको नियम ४१ मा बन्दसूचीबाट समानुपातिक समावेशी समुहको माथिल्लो क्रमसंख्यामा भएका नाम पहिले चयन गर्नुपर्ने व्यवस्था छ। समावेशीको क्रमसंख्या मिचेर तल्लो नम्बर बाट सांसद छान्न नपाइने नियमावलीको व्यवस्था अनुसार आयोगले सबै दललाई प्रदेश सभा को समानुपातिक तर्फका उम्मेदवार चयन गरेर पठाउन भनेको थियो।

अहिले सबै दलले आफ्ना उमेद्वारको सूची आयोगमा पठाइसकेका छन्।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.