राष्ट्रिय सभाको निर्वाचन नतन्काउन वाम गठबन्धनको आयोगलाई आग्रह


एमाले र माओवादी नेताहरुले राष्ट्रिय सभाको निर्वाचन कार्यतालिका नतन्काउन आग्रह गरेका छन्। निर्वाचन आयोग पुगेर एमाले र माओवादी केन्द्रका नेताहरुले राष्ट्रिय सभाको निर्वाचन छोटो समयमा सिध्याउन आग्रह गरेका हुन्।

आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि छोटोमा तीस दिन समय लाग्ने बताउँदै आएको छ। राष्ट्रिय सभा निर्वाचनका लागि आयोगले एक महिना समय लाग्ने बताएपछि सरकार निर्माण समेत पर धकेलिने भएको छ।

आयोगका पदाधिकारीहरुसँग एमाले नेता भीम रावलले राष्ट्रिय सभा निर्वाचन लम्बयाउँदै फागुन र चैत पुर्‍याउन लागेको हो भन्दै प्रश्न गरेका थिए।

‘बिलम्ब गर्ने हो भने हाम्रो आपत्ति छ भनेर भन्यौं’, रावलले भने, ‘होइन होला भन्ने आशयको कुरा प्रमुख निर्वाचन आयुक्तले गर्नुभयो।’

एमाले नेताहरुले सरकार निर्माणमा ढिलाइ हुने भएपछि आयोगले सरकारी ईशारामा काम गरिरहेको आरोप लगाउँदै आएका छन्। बैठकमा सहभागी माओवादी केन्द्रका नेता रामनारायण बिडारीका अनुसार दलहरूले लामो समयसम्म निर्वाचन नसार्न आग्रह गरेका थिए।

‘राष्ट्रिय सभा निर्वाचनमा ढिलाइ गर्न हुदैँन, सरकारले पनि तन्काउन खोज्यो, आयोगले पनि तन्काउने भनेर हामीले भन्यौं’, बिडारीले भने, ‘त्यस्तो तन्काउदैनौं। रबर पनि तन्कने हदसम्म पो तन्कन्छ नभए चुँडिहाल्छ नि। तन्काउदैनौँ। प्रमुख आयुक्तले त्यस्तो हुदैँन भन्नुभयो।’

एमाले र माओवादी केन्द्रका नेताहरुले प्रतिनिधि सभाको रिजल्ट सार्वजनिक नभएको विषयमा समेत आयोगसमक्ष जिज्ञासा राखेका थिए।

आयोगका पदाधिकारीले भने संविधान नै देखाउँदै बाध्यता भएको बताएका थिए। तर एमाले नेताहरुले आफूहरुले नै संविधान बनाएको दावी गर्दै आयोगका पदाधिकारीलाई अर्थ सम्झाउन खोजेका थिए।

‘हामी नै होउँ संविधान बनाउने। यसको सार राष्ट्रिय सभा र प्रतिनिधि सभामा ३३ प्रतिशत महिला पुर्‍याउने भन्ने हो। अहिले छ्यामिस गरेर अन्यौलग्रस्त बनाउनुको अर्थ छैन भन्यौ’, रावलले भने, ‘उहाँहरूले सामुहिक परिणाम निकाल्छौँ। अनन्तकालमा लैजान्नौं भन्नुभएको छ।’

बैठकमा माओवादी नेताहरुले भने सरकार गठनलाई सहजता प्रदान गर्नुपर्ने बताएका थिए। साथै दलहरूबीच सहमति गरेर संवैधानिक जटिलता फुकाउनुपर्ने बताएका थिए।

माओवादीका तर्फबाट कृष्णबहादुर महरा, वर्षमान पुन र बिडारी बैठकमा सहभागि थिए। एमालेबाट रावलसँगै सुवास नेम्वाङ, अग्नि खरेल र कृष्णगोपल श्रेष्ठ आयोग पुगेका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.