वाम गठबन्धनका एमाले र माओवादी केन्द्रले प्रतिनिधि सभाको चुनाव तत्काल सार्वजनिक गर्न निर्वाचन आयोगसँग माग गरेका छन्।
सोमबार दिउँसो आयोग केन्द्रीय कार्यालय बहादुर भवन पुगेका दुई दलका नेताहरुले प्रमुख आयुक्तसहितको छलफलमा छिटो चुनावी परिणाम सार्वजनिक गर्न आग्रह गरेका हुन्।
वाम गठबन्धनबाट एमाले नेताहरु भीम रावल र सुवास नेम्वाङ, माओवादीबाट कृष्णबहादुर महरा र वर्षमान पुन आयोग पदाधिकारीलाई भेट्न गएका थिए।
‘हामीले मत परिणाम सार्वजनिक गर्न आग्रह गर्यौं, परिणाम थुपारेर असीमित समय खर्च गर्दा भविष्यमा कुनै पनि निकायलाई राम्रो हुँदैन भन्यौं,’ छलफलपछि पत्रकारहरूसँग कुरा गर्दै एमाले नेता रावलले भने, ‘सरकार प्रक्रियामा अवरोध हुने कुरा संविधानले पनि परिकल्पना नगरेको पनि उहाँहरुलाई भन्यौं।’
वाम गठबन्धनका नेताहरूले राष्ट्रिय सभा चुनावका लागि पनि अनावश्यक लामो समय राखेर सत्ता हस्तान्तरण फागुनपछि मात्र गर्ने खेल भइरहेको भन्दै आयोगको ध्यानाकर्षण पनि गराएका थिए।
गठबन्धनका नेताहरूको कुरा सुनेपछि आयोग पदाधिकारीले आफूले प्रक्रिया पुर्याएर छिटै मतपरिणाम सार्वजनिक गर्ने र राष्ट्रिय सभाको चुनाव पनि जति सक्दो छिटो गर्ने पक्षमा रहेको बताएको रावलले जानकारी दिए।
गठबन्धनका नेता र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवसहितका पदाधिकारीबीच झन्डै डेढ घन्टा छलफल भएको थियो।
यसअघि आजै दुबै दलका भातृ संगठनले प्रमुख निर्वाचन आयुक्त यादवलाई भेटी मतपरिणाम सार्वजनिक गर्न ज्ञापन पत्र बुझाएका थिए।
आयोगले मंसिर १० र २१ गते भएको प्रतिनिधि सभा चुनावको अन्तिम परिणाम सार्वजनिक गर्न राष्ट्रिय सभा गठन हुनु पर्ने भन्दै अहिलेसम्म परिणाम सार्वजनिक गरेको छैन।
संघीय संसद (प्रतिनिधि र राष्ट्रिय सभा) मा हरेक दलले ३३ प्रतिशत महिला पठाउनु पर्ने संवैधानिक व्यवस्थाका कारण प्रतिनिधि सभाको समानुपातिकतर्फको सिट निर्धारण गर्न राष्ट्रिय सभाको परिणाम चाहिने आयोगको तर्क छ।
वाम गठबन्धनका नेताहरुले सरकार गठनमा राष्ट्रिय सभाको कुनै भूमिका नहुने भएकाले प्रतिनिधिको अन्तिम परिणाम सार्वजनिक गरी नयाँ सरकार गठनको बाटो चाँडो खोल्नु पर्ने बताउँदै आएका छन्।