राष्ट्रिय सभा चुनावको समयबारे ध्यानाकर्षण गराउन आयोग जाँदै एमाले-माओवादी नेता


नेकपा एमाले र माओवादी केन्द्रका नेताहरूले निर्वाचन आयोगलाई राष्ट्रिय सभा निर्वाचनको समय तालिकाका विषयमा ध्यानाकर्षण गराउने भएका छन्।

एमाले नेता सुवास नेम्वाङको नेतृत्वमा दुवै दल सोमबार दिउँसो आयोगमा ध्यानाकर्षण गराउन जाने भएका हुन्।

नेम्वाङले राष्ट्रिय सभा निर्वाचन, प्रतिनिधि सभा निर्वाचन परिणाममा भएको ढिलाइका विषयमा छलफल गर्न लागिएको सेतोपाटीलाई बताए। वाम गठबन्धनका नेताहरू दिउँसो तीन बजे आयोग जाने कार्यक्रम छ।

निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि तीस दिनको आन्तरिक कार्यतालिका निर्माण गरेको छ। आयोगको कार्यतालिकाले सरकार गठनमा समेत ढिलाइ हुने भएपछि एमाले नेताहरूले सार्वजनिक रूपमै आयोगप्रति आक्रोशित पोखेका छन्।

माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुषालले भने आयोगमा ध्यानाकर्षणका विषयमा आफूलाई कुनै जानकारी नभएको बताइन्।

राष्ट्रिय सभा गठन नभए पनि प्रतिनिधि सभाको मतपरिणाम घोषणा गर्नुपर्ने एमाले नेताहरुको माग छ।

आयोगले भने राष्ट्रिय सभाको मतपरिणाम बिना प्रतिनिधिसभाको समानुपातिकमा महिला सहभागिता टुङ्गो लगाउन नसक्ने बताउँदै आएको छ।
नेम्वाङले राष्ट्रिय सभाले नयाँ सरकार गठनमा कुनै असर नगर्ने बताए।

अर्का एमाले नेता प्रदीप ज्ञवालीले आइतबार व्यंग्यात्मक शैलीमा आयोगलाई दलको कार्यालय नबन्न सुझाएका थिए।

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.