फलामका औजार ठेलामा डुलाएर बेच्छिन् जनप्रतिनिधि


‘तीन वर्षदेखि तुलसीपुरका बजारमा ठेला गुडाउँदै फलामबाट निर्मित हतियार बेच्न सहर बजार डुल्छु। सुरू- सुरूमा आफैंले बोकर ल्याएर फलामका औजार एउटा बोरा विच्छाएर बेच्थे, तर विगत ढेड दुई वर्ष यता भने ठेलामा गुडाएर बेच्छु,’  यो दैनिकी जनप्रतिनिधि ३० बर्षीया टीका विकको हो।

कक्षा १२ उत्तिर्ण गरे पनि विवाह पछि उनको अगाडिको पढाई रोकियो। ठेलामा पति, दिदी र ससुराले निर्माण गरेका विभिन्न फलामे औजार डुलाएर बेच्दा बेच्दै गत असारमा भएको दोस्रो चरणको निर्वाचनमा विक तुलसीपुर उपमहानगरपालिका वडा नं. १२ बाट वडा सदस्यमा निर्वाचित भइन्।

जितपछि अविरजात्रा गरेर बजार परिक्रमा गरेको र साराले अबिरमाला लगाइदिएको त्यो पल उनको जीवनको सबैभन्दा खुसीको क्षण भएको उनले सेतोपाटीसँग भनिन्। ‘यो ठूलो खुर्पाको साढे १२ सय, सानोको साढे ६ सय,’ त्यही बीचमा उनी ग्राहकसँग व्यस्त बन्थिन्।

एक महिलाले मार हान्ने खुकुरी खोज्दै आइन्। तर, उनले खोजेको जस्तो खुकुरी त्यहाँ थिएन। खकुरी किनेर काठमाडौं लैजान चाहाने ती महिलालाई विकले आगामी बुधबार सम्मको भाका दिइन्।

‘पसलमा सस्तै खुकुरी छन्, तर ससुरा (६१ वर्षीय मणिराम) ले बनाएका सकिएका छन्। उहाँले निर्माण गरेकै लैजानु होला किनकि ससुराले बनाएका खुकुरीको फिनिसिङ राम्रो हुन्छ र पाईन पनि राम्रो हुन्छ,’ बिकले खुकुरी किन्न आएकी महिलाको चित्त बुझाएर पठाइन्।

‘तलव भत्ता पाउनुपर्छ भन्ने केही छैन, जित्दा जनताको टिका लगाउन पाइयो खुसी त्यही छ,’ विकले भनिन्, ‘सरकारले दलित भनेर नछुट्याएको भए पनि समाजले छुट्याउँदा नमज्जा लाग्छ,’ ग्राहक नभएको मौकामा जनप्रतिनिधि विकले भनिन्।

आइतबार तुलसीपुरस्थित कृषि विकास बैंक अगाडि ठेलामा विभिन्न फलामे औजार बेच्न व्यस्त वडा नं. १२ की वडा सदस्य विकले आफ्ना प्रतिपर्धी भन्दा झन्डै  ५० मतान्तरले जितेको बताइन्। ‘साढे ११ सय जति मत पाएर मैले जितेकी हुँ,’ विकले भनिन्, ‘दलितले निर्माण गरेका भाँडा वर्तनले सबैको घरको दैनिक काम चल्ने तर अझैं दलितले छोएको भान्सा नचल्नू मानवताकै उपहास हो।’

उनले आफू जनप्रतिनिधि भए पनि छुवाछुत अझै रहेकोमा दुखेसो पोखिन्। ‘म जनप्रतिनिधि भए पनि मेरै वडामा सार्वजनिक कुँवा उद्घाटनमा मलाई निम्ता गरिएन,’ उनले भनिन्, ‘गाउँ घरमा अझैं पनि दलितको (द) पनि सुन्न चाहानन्।’

आफ्नै पार्टीका साथीलेसमेत भाषणमा समानताको कुरा गरे पनि घरमा पुग्दा फरक व्यवहार गर्ने गरेको उनले अनुभव साटिन्। समाजमा व्याप्त छुवाछुतले मनमा पिडाको पहाड बन्छ तर, आफूले कतै कसैको चित्त नदुखाएको र बलजफती गर्ने चाहाना भने नरहेको उनले बताइन्।

उनले समाजबाट मात्रै हैन जननिर्वाचित भइसकेपछि कार्य विभाजन तथा काम गर्ने सवालमा पनि त्यस्तै विभेद रहेको अनुभव साटिन्। ‘महिला भएका कारण हेप्छन् कि दलित भएर हेप्ने गरेका हुन्, त्यो भने चाल पाउन सकेकी छैन, तर, निर्णय कार्यान्वय गराउँदा मुसो बन्ने अनि काम गर्दा भने मैले गर्दा भएको भन्दै हात्ती बन्ने चाप्लुसी पनि हुँदा रैछन्,’ उनले अनुभव सुनाइन्।

वडामा बाटोको स्तरउन्नती गर्दा आफूले दुई सातासम्म निरन्तर डिउटी दिएर काम गराएको भए पनि त्यो काम मैले गर्दा यति राम्रो भन्ने आफ्नै साथीले भाषणमा झुटा बोलेको देख्दा आश्चर्य लागेको उनले बताइन्।

ह्यूम पाईप ल्याउँदा होस वा विजुली बत्तिका खम्वा ल्याउँदा, हामीले पैंशा तिरेर ल्याइम् भन्दै धाक दिनेहरु देखेर दिगदार लाग्ने गरेको उनले बताइन्। ‘राजनीतिमा त अचम्म हुँदो रै’छ, काम गर्ने कालु अनि मकै खाने भालु जस्तै हुँदो रैछ,’–विकले अगाडि भनिन्, ‘छिड्की हान्ने र जालझेल गर्दै अगाडि बढ्नेहरुले पहुँचकै आधारमा राजनीतिमा मौका पाएमा देश बर्बाद हुनेछ।’

उनले निर्णय पारित गराउँदा जसरी पनि आउनु भनि बोलाउने आफ्नै साथीहरुले काम हुँदै गर्दा र त्यसको अघिपछि कुनै सोधी खोजी तथा मतलव नगरको गुनासो पोखिन्।

फेरि ग्राहक आएपछि उनले आफ्नो ठेलामा राखेका औजारको मूल्य भन्न केही बेर व्यस्त भइन्। ‘यो चुलेसीको ९ सय ५० र यो ठूलोको १२ सय, यो बञ्चरोको साढे ५ सय र ठूलो चाइनेको साढे ७ सय अनि यो हँसिया साढे ३ सय र ठूलोको साढे ५ सय।’

उनको ठेलाबाट एक महिलाले साढे ६ सयको खुर्पा किनिन्। तर, उनले त्यो खुर्पा भुलेर हिडेपछि केही पर पुगेकी ती महिलालाई उनले दौडेर बोलाउँदै खुर्पा थमाएरै आइन्।

तुलसीपुर ६ मा उनको राप्ती खुकुरी उद्योग रहेछ। जहाँ उनका पति र ससुराले फलामलाई औजारको आकार दिँदा रहेछन्। उनका पतिले पनि कक्षा १२ उत्तिर्ण गरेका छन् । तर फलामकै पेशा अंगालेका छन्।

उनका पति उमलाल विक ३८ वर्षीय र उनकी दिदी (सौता) शारदा विक पनि सँगै मिलेर काम गर्दा रहेछन्। दिदीबाट चार छोरी र एक छोरा छ र आफू बाट एउटा छोरा र एउटी छोरी रहेको उनले बताइन्। दश जनाको उनको परिवारमा कहिले काँही सामान्य विवाद भए पनि खासै विवाद नहुने उनले बताइन्।

‘संगै सुतेपछि कहिले काँही त लात्ति लाग्छ नि, तर त्यसलाई रिसिवी साध्नु भएन,’ उनले भनिन्, ‘अरूको परिवार जसरी सामान्य रुपमा बसेका छन् हामी पनि सामान्य रुपमै बसेका छौं, हामीबीच चर्को विवाद भएको छैन।’

उनले सबै बच्चा बच्चीले बोर्डिङमा पढ्ने गरेको र दिदीकी जेठी छोरीले क्याम्पस पढ्ने गरेको बताइन्।

‘मलाई निर्वाचित गराउँदा म भन्दा धेरै दुःख दिदी र पतिले गरेका हुन्। म भन्दा धेरै भोट माग्न उहाँहरु बस्ती बस्ती जानु भएको हो,’ उनले भनिन्।

टीका र उनका श्रीमानको भेट तुलसीपुरको एक संस्थामा भएको रहेछ। माया प्रेम बसेपछि आफूले विहे गरेको बताएकी उनलाई देखिदेखि किन सौतामा गएको? भन्ने प्रश्न गर्दा उनले भनेकी थिइन्। ‘पहिला थाहाँ भएन, जालमा परि सकेपछि थाहाँ भयो र पछि उम्केर अन्त जान नारी स्वाभिमानले दिएन।’

उनले आफ्नो विवाहपछि पनि ससुरा मणिराम बिकले व्याचलरमा नाम लेखाइदिए पनि आफ्नो कर्म यस्तै रहेछ भन्ने ठानी पढन् छोडेको बताइन्।

‘कर्मको खेल भनेर पढ्दिन बुवा अब घर गृहस्थी गरेर खान्छु भने, तर आज बुद्धि आयो पढेकी भए यो १२ नं. वडामा दलितवाट व्याचरल उत्तिर्ण गर्ने म थोरै मध्यकी एक महिला हुनेरहेछु।’

त्यसैले सबै छोरा छोरीलाई आफूले दुःख गरेरै भए पनि महेनतका साथ राम्रो विद्यालयमा पढाइरहेको उनले बताइन्। ‘फेरि अरू पेशा सुरु गर्दा शून्यबाट सुरु गर्नुपर्छ, त्यसरी त बर्बाद भइन्छ,’ उनले भनिन्।

उनले दैनिक दुई हजार जत्ति फाईदा हुने जानकारी दिइन्। जनप्रतिनिधि तपाँई कार्यालय जानुपर्दैन भन्ने प्रश्नमा उनले भनिन् ‘त्यहाँ के काम छ र? निर्णय पारित गर्दा गए पुग्छ। तलव भत्ता पनि छैन र काम पनि छैन।’

तर, उनले तलव भत्ता भने दिनुपर्छ भन्ने पक्षमा आफू नरहेको दोहर्र्‍याइन्।

आफूले रातको १०/११ बजेसम्म पनि भान्साको काम सकेर भाँडा धोएर सुत्ने गरेको भए पनि जीवनप्रति कुनै गुनासो नरहेको उनले बताइन्। तर उनले पुरुष भन्दा महिलालाई घर परिवारमा निकै सास्ती रहेको भने दाबी गरिन्।

‘यदी म पुरुष हुन्थे भने मेरो श्रीमानले जस्तै गरि मेरो श्रीमतीले पनि भात भान्सा गरेर खान दिन्थिनँ होला र श्रीमान जस्तै स्वतन्त्र हुन्थे होला अनि राजनीतिमा थप प्रगति हुन्थ्यो होला भन्ने कुरा मनमा खेलिरहन्छ,’–टीका विकले हाँस्दै भनिन् ‘तर, काम र अनुभव जीवनका सबैभन्दा ठूला पाठशाला रहेछन्।’

Share:

© 2017 Setopati Sanchar Pvt. Ltd.